तीन वर्षअघि यतिबेला राजधानीका पेट्रोल पम्पमा लामा लामा लाइन हुन्थे। सडकमा गाडी भेटिदैनथे। भर्खरै जारी संविधानमा असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी लगाएपछि देशभरि जनजीवन अस्तव्यस्त बनेको थियो।
त्यहीबेलाको झल्को दिने गरी हिजोआज राजधानीका पेट्रोल पम्पमा लामा लामा लाइन लागेका छन्। गाडी नपाएर यात्रुहरूलाई हैरानी छ। नाकाबन्दीको झल्को आउने गरी चालकहरूले आन्दोलन गरिरहेका छन्।
चालक आन्दोलनले तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकिएको छ। देशैभर यात्रुबाहक र मालबाहक सवारी साधन चलेका छैनन्। सरकारले भदौ १ देखि लागू गरेको मुलुकी अपराध संहिता २०७४ मा सवारी ज्यान मुद्दासम्बन्धी व्यवस्थाको परिमार्जन र संशोधन गर्न माग गर्दै चालक असोज २ गतेदेखि आन्दोलनमा छन्। बाराको सिमराका चालकले नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिमार्फत् आह्वान गरेको आन्दोलनले सवारी साधन नचलेका हुन्।
आन्दोलनको असर काठमाडौंलगायत देशभर नै पेट्रोलियम पदार्थको अभाव छ भने पम्प वरपर सवारीको लामो लाइन लागेको छ। लाइनले ट्राफिक जाम भएको छ। ‘जानाजान चालकले मान्छे मार्दैन। अन्जानवश भएको दुर्घटनामा पनि कैद सजाय गरिएको छ यो संशोधन गर्नुपर्छ’, १४ वर्षदेखि ट्रक चलाइरहेका चालक खड्ग श्रेष्ठले सेतोपाटीसँग भने, ‘सरकारले समिति पनि खारेज गरिदियो। दुर्घटना भइहाले समितिले धरौटी तिरिदिन्थ्यो। अबदेखि चालक आफैंले कहाँबाट ल्याएर धरौटी तिर्ने?’ सवारीको ठक्करबाट मानिसको मृत्यु भएमा पनि जन्मकैद हुने भएपछि चालक डराएका हुन्। लापर्बाही गरेर सवारी चलाएर दुर्घटना भएको पुष्टि भएमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुने अपराध संहितामा उल्लेख।
अर्का चालक रवीन्द्र शर्माले चालक असुरक्षित रहेको बताए।
‘जीन्दगीलाई जोखिममा राखेर घामपानी नभनी हामी सवारी चलाउँछौं’, बारामा रहेका शर्माले सेतोपाटीसँग भने, ‘सरकारी ऐन र नियमले पलपल तर्सित भएर कसरी सवारी चलाउने? नियम सम्झिने हो भने स्टेरिङ समात्दा हात काँप्छ।’
उनले चालकको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न संयोजक बसन्त शर्मा लगायतको समूह शुक्रबार बालुवाटार गएको बताए।
‘सहिंताको व्यवस्था संशोधन गर्न र जेल सजाय घटाउनु पर्छ’, उनले भने, ‘वार्ता सफल भएन भने थप आन्दोलन गर्छौं।’
अबको आन्दोलन निजी सवारी साधन ठप्प पार्ने उनले बताए।
अहिले निजी सवारी साधन निर्वाध चलेका छन्। चालकले गरेको आन्दोलनलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले विज्ञप्ति निकालेर ‘चालकलाई दोषी देखाउने र कारबाही गर्ने काम बन्द गर्न’ भनेका छन्।
मजदुरहरु जेल जाने भए भन्दै हल्लाका पछि लागेर यातायात बन्द गर्ने कार्यप्रति संगठनले फरक मत राखेको घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख छ। सवारी चालकहरुले जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई सवारी चालक अनुमति पत्र बुझाएर सवारी चलाएका छैनन्। यात्रुहरु हिँडेरै गन्तव्यमा जान बाध्य छन्।
ट्यांकर चालकहरू पनि आन्दोलनमा मिसिएपछि तीन दिनदेखि पेट्रोलियम पदार्थ भित्रिएको छैन। ‘हामी मातहत १८ सय ट्यांकर छ। चालकलाई तेल ढुवानी गर्न भनिरहेका छौं। संहिता परिमार्जन नगरेसम्म मान्दैनौं भन्छन्’, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले सेतोपाटीसँग भने, ‘ट्यांकर चलाउन हाम्रो तर्फबाट कोशिश भइराखेको छ। सायद आजदेखि चलाउन सकिन्छ कि!’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले आफूहरू पनि आन्दोलनको पक्षमा नभएको बताए।
‘हामी चालकहरुको आन्दोलनको पक्षमा छैनौं’, उनले सेतोपाटीसँग भने, ‘सवारी साधन चलाउनुपर्छ भनेर चालकलाई आग्रह गरिराखेका छौं, उहाँहरूले मान्नुभएको छैन।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले चालकहरूको आन्दोलनमा महासंघको सहभागिता नरहेको बताए। ‘चालकले के माग राखेका हुन् सरकारले त्यो माग पूरा गरिदिनुपर्यो, वार्ता गर्नुपर्यो’, उनले भने, ‘चालकले सवारी नचलाउँदा यात्रुहरुले दु:ख पाएका छन्, व्यवासायीलाई घाटा लागेको छ। किस्ता तिर्न सकस छ।’
महासंघ अन्तर्गत यात्रुबाहक र मालबाहक गरी करिब ४ लाख सवारी छन्। सार्वजानिक सवारी सञ्चालन चालकले असोज २ देखि काम छोडेका हुन्।
चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानीमा समस्या परेको नेपाल आयल नियमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।
‘तीन दिन भयो पेट्रोलियम पदार्थ ढुवानी भएको छैन,’ उनले भने, ‘ढुवानी समस्या समाधान गर्न पहल गरिराखेका छौं। चालक आन्दोलनले ढुवानी गर्न नसकेका हौं, यसमा निगमको दोष छैन।’
अझै दुई/चार दिन आन्दोलन लम्बिए पेट्रोलियम पदार्थको अभाव हुने उनले बताए। देशभर गरी अहिले ४५ हजार किलोलिटर पेट्रोलियम पदार्थ सञ्चिती रहेको उनले बताए। बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव केही दिनमा हट्ने उनले दाबी गरे।
सबै तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी