तिनाउ नदीले विभाजन गरेको रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने गरी आठ वर्षअघि पक्की पुल निर्माण सुरु गरियो।
उक्त पुल दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिसँग २०६७ असार २५ गते ठेक्का सम्झौता भएको थियो। यो पुल निर्माण आज पनि सकिएको छैन।
दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण रोकिएको डिभिजन सडक कार्यालय बुटवलको दाबी छ।
यो पुलको निर्माण लागत १० करोड ३८ लाख रुपैयाँ थियो। यसमध्ये कम्पनीले ५ करोड २८ लाख ७७ हजार भुक्तानी लगिसकेको छ।
सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर रामपुकार जयसवाल ४२ प्रतिशत निर्माण पूरा भएपछि पिलरको जगमै समस्या देखिएर काम रोकिएको बताउँछन् ।
निर्माण कम्पनीलाई तेस्रोपटक थपिएको म्याद २०७२ असार २४ गते सकिएको थियो। अहिले पुलका लागि बनाइएका तीनवटा पिलर तिनाउ बगरमा ठिङ्ग उभिएका छन्।
पुल निर्माणको काम बीचमै अलपत्र परेको यो उदाहरण यो मात्र होइन।
२०३८ सालमा तिनाउ नदीमा आएको बाढीले बुटवलको नयाँबजार र पुरानो बजार जोड्ने पुल्चोकको पक्की पुल बगायो। पुल बगेपछि विच्छेद भएको वारिपारिलाई झोलुङ्गे पुल निर्माण गरी जोडिए पनि सवारी आवतजावत हुन सकेन।
यहाँको निर्माणाधीन पुल पनि आधीमै रोकिएको छ। पुरानो बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको यो पुल डिजाइनमै समस्या देखिएको भन्दै रोकिएको हो।
चार वर्षअघि निर्माण सकिनुपर्ने उक्त पुलको ६८ प्रतिशत काम पूरा भएपछि बल्ल डिभिजन सडक कार्यालयले डिजाइनमा कमजोरी देखाएको हो।
कार्यालयका इञ्जिनियर मेघबहादुर केसीले पुलको पश्चिमतर्फको पिलरको जग झोलुंगे पुलको जग र पर्खालसँग जोडिएकाले डिजाइन परिवर्तन गरिएको जानकारी दिए।
‘दुवै पुलको जग जोडिएकाले झोलुंगे पुलको पश्चिमतर्फको पर्खाल भत्किने अवस्थामा पुगेपछि हामीले डिजाइन परिवर्तन गरेर सडक विभाग पठाएका छौं,’ उनले भने, ‘फेरिएको डिजाइन स्वीकृत भएपछि ६ महिनाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिन्छौं।’
बज्रगुरु रायमाझी जेभीले ६ करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो। उक्त पुलको तेस्रोपटक थपिएको म्याद गत असार २५ गते सकिएको छ।
रुपन्देहीका तिनाउ, दानव, कञ्चन, रोहिणी, कजरार, सियारी, भलुही, घाघरा, घोडाहालगायत खोलामा ३१ वटा पुल निर्माणाधीन छन्। अधिकांश पुल ठेकेदार कम्पनीको ढिलासुस्ती, डिजाइनमा कमजोरी र बजेट अभावले वर्षौंदेखि अलपत्र छन्।
पर्याप्त बजेट नहुँदा निर्माणमा प्रगति हुन नसकेको डिभिजन सडक कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी जयसवालले ढिलो गरी बजेट विनियोजन हुने र पर्याप्त बजेट नआउँदा निर्माण कम्पनीले पनि ढिलाइ गरेको बताए।
उनले गत आर्थिक वर्ष २०७४/७५ मा निर्माण भएका कामको १५ करोड भुक्तानी दिन बाँकी रहेको जानकारी दिए। पटक–पटक म्याद थपेर भए पनि गत आर्थिक वर्ष ११ वटा पुल निर्माण पूरा हुनुपर्नेमा एउटा पनि भएको छैन ।
रुद्रपुर बनकसियाघाट जोड्ने कञ्चनीय पुलको तेस्रोपटक थपिएको म्याद २०७३ कात्तिकमा पूरा भएको छ। २०७१ असारमै पूरा गर्ने गरी बोखिम शान्ति जेभीले २०६९ मा उक्त पुलको निर्माण ठेक्का लिएको थियो।
कम्पनीले ३ करोड ७५ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो। त्यसमध्ये २ करोड १३ लाख रुपैया भुक्तानी लगिसकेको छ। पुलको निर्माण भने ५६ प्रतिशत मात्र पूरा भएको छ।
सम्झौता उल्लंघन गर्ने कम्पनीलाई दुई सय दिनको समयावधिमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जाना तिराउने नियम छ। निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै उल्टै क्षतिपूर्तिसमेत लिने गरेका छन्।
एउटै कम्पनीलाई आधा दर्जन पुलको जिम्मा
अधिकांश कम्पनीले दुईदेखि पाँचवटा पुल निर्माणको जिम्मा पाएका छन्। एउटै कम्पनीलाई एकभन्दा धेरै पुलको जिम्मा दिँदा पनि निर्माण प्रभावित बनेको छ। सीमित जनशक्ति र उपकरणले एकै सिजनमा धेरै ठाउँमा काम गर्दा सबै पुलको निर्माणमा ढिलाइ भएको हो।
रुपन्देहीमा निर्माणाधीन पुलमध्ये दुईवटा निर्माण कम्पनीले १० वटाको ठेक्का पाएका छन्। मृत सञ्जिवनी निर्माण सेवा हेटौंडा र अर्घाखाँची बाबुल निर्माण सेवा सिद्धार्थनगरले ५/५ वटा पुलको ठेक्का पाएका छन्।
बाबुलले पाँचवटा पुलमा अर्घाखाँचीसँग मिलेर ठेक्का लिए पनि दुईवटा पुलमा एक्लैले ठेक्का लिएको छ। मृत सञ्जिवनीले दुईवटा पुलमा देव एन्ड सायरसँग मिलेर ठेक्का लिएको छ।
एसियाटिक, लुम्बिनी र स्वच्छन्दले अरू कम्पनीसँग मिलेर दुईभन्दा बढी पुलको ठेक्का लिएका छन्।