उनी इन्द्रकी आमा बसुन्धरा हुन्। येँया अर्थात् इन्द्रजात्रामा ‘दागिं’ भनेर चिनिन्छन्।
बसुन्धरालाई एकपटक ब्रत बस्नु थियो। त्यसका लागि पाल्जा स्वाः (पारिजातको फूल) चाहिने भयो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो।
उनले छोरा इन्द्रलाई पाताल पठाइन्। फूल खोज्दै इन्द्र काठमाडौं मरुस्थित भै–केवः मा पुग्छन्। एउटा किसानको बगैंचामा फूल देखेपछि टिप्छन्।
किसानले इन्द्रलाई चोर ठानेर समात्छन्। डोरीले पाता कसेर बीच सडकमै जात्रा गर्छन्।
आमा बसुन्धरा अबेरसम्म छोरा नफर्किएपछि आत्तिन्छिन्। अनि इन्द्रको बहान ऐरावत हात्तीलाई पाताललोक पठाउँछिन्।
इन्द्र खोज्न गएको हात्तीलाई पनि किलागलका स्थानीयले समातेर राख्छन्। त्यसपछि इन्द्रकी आमालाई आफैं पाताल झर्नुपर्ने हुन्छ।
उनै आमा ‘दागिं’ बनेर येँया पुन्हीमा देखिन्छिन्। रातभरि इन्द्र खोज्दै भौंतारिन्छिन्।
पातालकी यी दागिं हुन्, काठमाडौं खुसिबुँ निवासी मंगलमान डंगोल। यो वर्ष उनी २३ औं पटक दागिं बन्दैछन्।
२०५२ सालमा पहिलो पटक बनेका थिए। तर त्यो वर्ष दागिं बन्नू उनका लागि सहज थिएन।
बुवा दानरत्नको निधन भएको वर्ष थियो त्यो। बुवा गुमाउनुको पीडा एकातिर। परम्परा धान्नु पर्ने बाध्यता अर्कोतिर। विकल्प थिएन।
‘पहिलो पटक दागिं बन्दाको अनुभव कस्तो थियो भन्नु’, उनी बोल्नै सकेनन्। आँखा रसाए।
‘बुवा बितेको भखरै ६ महिनाजति भएको थियो। वर्खी बारेको सेतो लुगामा थिएँ,’ आखाँभरि टिलपिलाएका आँशु पुछ्दै मंगलमानले भने, ‘जात्रामा दागिं त बन्नु पर्ने नै थियो। तर लुगा, मुकुट लगाउँदा बुवा नै सम्झिइरहेँ।’
उनी अघिका दागिं उनका बुबा नै थिए। इन्द्रजात्रामा यो भूमिका गर्ने डंगोल परिवार नै हो। वर्षौंदेखि परम्परा हस्तान्तरण हुँदै आएको छ। बुवा दानरत्नको निधनपछि मंगलमान बने। उनीपछि छोरा दीपेन्द्रको पालो आउँछ। दीपेन्द्र पनि यो परम्परालाई निरन्तरता दिन तयार छन्।
कुमारी रथ तान्ने दिन दागिं निस्कन्छ। यो दिन काठमाडौंको तल्लो टोल (कोहने) मा रथयात्रा हुन्छ।। रथले यात्रा गरेका टोलमै दागिं हिँड्छ।
दागिंसँगै वरिपरि वर्षभरिमा निधन भएकाहरूको परिवार हिँडछन्। दागिंले मृत्यु भएका व्यक्तिहरूलाई स्वर्गलोक पुर्याउँछन् भन्ने विश्वास छ।
किम्बदन्तीअनुसार इन्द्रकी आमा (दागिं) ले छोरा खोज्दै जाँदा काठमाडौंमा भेट्छिन्। इन्द्रलाई बाँधेर राखेको देख्छिन्। इन्द्र छुटाउन उनलाई सहज थिएन। स्थानीयले दिएका दुई सर्त मान्नुपर्थ्यो।
पहिलो– मरेपछि स्वर्ग जान पाउनु।
दोस्रो– धान पकाउनका लागि ‘कुहिरो’ ल्याउनु। कुहिरोका कारण शीतको थोपा बन्छ। पानी नपर्ने मौसममा किसानलाई त्यो महत्व हुन्छ।
इन्द्रकी आमा सर्त मान्न तयार हुन्छिन्। स्वर्गलोक पुग्न दहचोकस्थित इन्द्रदहमा नुहाउनुपर्ने सुझाउँछिन्।
यसैले इन्द्रजात्रापछि ‘कुहिरो’ लाग्ने र चिसो मौसम सुरु हुने स्थानीयको मान्यता छ।
यही मान्यताका साथ वर्षभरि मरेकाको परिवार दागिं पछ्याउँदै हिडँछन्। बाटोमा सदबिऊ छर्छन्। बत्ती बाल्छन्। कोही इन्द्रदहसम्मै पुगेर नुहाउँछन्।
इन्द्रजात्राको त्यो दिन मंगलमानको पुरानो घर नरदेवीमा भीड लाग्छ। दागिंसँगै त्यो दिन हिँड्न नसक्ने परिवार त्यहाँ पूजा गर्न आउँछन्।
त्यो दिन मंगलमानले बिहानै नुहाइधुवाइ गरेर निराहार बस्नुपर्छ।
काठमाडौं मरुगणेशथानस्थित लुकुफल्चाबाट उनी दागिं बनेर निस्कन्छन्। गणेशथान घुम्छन्। फ्याफल, याट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका, जैसिदेवल, लगन, ह्युमटा, भिमसेनथान हुँदै मरुमै गएर टुंगिन्छ।
‘यी सबै टोलमा खाली खुट्टा हिडँनुपर्छ। त्यसै त रातको समय हुन्छ। तर अहिलेसम्म चोट लागेको कुनै दिन छैन,’ मंगलमानले भने, ‘भगवानको शक्तिले सायद।’
दागिंसँगै हिँड्ने मान्छेले बाटोभरि सदबिऊ छर्छन्। छरेर बाँकी रहेको गणेशथानमा खन्याउँछन्। यति बेलासम्म बिहानको करिब तीन बजेको हुन्छ। मंगलमानका अनुसार दागिं बन्दा उनलाई वरपर के भइरहेको छ केही थाहै हुँदैन।
उनका दाजुभाइले उनलाई समातेर हिँडाउँछन्। दाजुभाइ लगायत उनीसँग हिँड्नेलाई दागिंको परिवारले समयबजी खुवाउनुपर्छ। त्यसपछि, दागिंसँग हिँडेका अन्य व्यक्तिमध्येमा इन्द्रदह जान चाहनेहरू त्यहीँबाट छुट्टिन्छन्।
‘पहिले हिँडेरै पुग्थे। अहिले गाडीमा जान्छन्,’ उनले भने, ‘त्यहाँ ती मान्छेहरू नुहाइरहेको बेला दह बीचमा ‘छप्ल्याङ्ग’ आवाज आउँछ भनिन्छ। त्यो भनेको बाँधेर राखिएका इन्द्र त्यहीँबाट इन्द्रलोक जानु हो।’
दागिं एक दिन बन्ने हो। तर विभिन्न नियम भने वर्षभरि नै पालना गर्नुपर्ने हुन्छ। प्रत्येक दिन नुहाउनुपर्छ। जाँड–रक्सी, कुखुराको मासु लगायत खानु हुँदैन। चोखो गरेर पकाएको खानुपर्छ। महिनावारी भएको र जुठो परेका मान्छेलाई छुन नहुने मान्यता छ।
दागिं बन्ने दिनको चार दिनअघिदेखि नै मंगलमानले यी नियम अझै ध्यानपूर्वक पालना गर्नुपर्छ। नियममा नबसे बिरामी हुने, जिउ भारी जस्तो हुने उनी बताउँछन्।
‘साथीभाइ चाडपर्वमा रमाइलो गरेको देख्दा भने किन दागिं बनेछु जस्तो लाग्छ,’ उनले भने, ‘के गर्नु नियम मान्नै पर्यो।’
एकपटक मंगलमानको बुवा दानरत्न दागिं बन्नुपर्ने समयमा बिरामी परेछन्। त्यसपछि, माइलो भाइ पूर्णनारायणलाई दागिं बनाइयो। दागिं बनेको महिनादिन नपुग्दै पूर्णनारायण बिरामी परे। उनको निधन भयो।
यसैले मंगलमान भन्छन्, ‘अन्य मान्छे दागिं बस्न नहुने रहेछ। दाजुभाइ पनि नहुने। कुनैदिन फेरि त्यस्तै अप्ठ्यारो परे पूजारीलाई चिना देखाएर निर्णय गर्नुपर्ला।’
नियममा बस्नुबाहेक मगंलमानको दिनचर्या सामान्य छ। आफ्नै घरमा फर्निचर कारखाना खोलेका छन्। मान्छेले भनेअनुसारका सामग्री तयार गर्छन्। छोरा दीपेन्द्र उनलाई सघाउँछन्।
कहिलेकाहीँ साथीभाइकहाँ जादाँ भने मंगलमानलाई जिस्काउँछन्, ‘देव मनु वल्ल।’
‘देवता मान्छे आयो।’
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः