‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी मध्यपुर थिमीस्थित बोडेमा मनाइने बिस्केट जात्रा सम्झन्छौं। मंगलबार मध्यपुर थिमीकै दिगु टोलमा जिब्रो छेडेर जात्रा मनाइयो। यो बिस्केट जात्रा भने थिएन। स्थानीयले ‘म्ये प्वाः खना’ भन्ने यो येँया अर्थात् इन्द्रजात्रा नै हो।
‘पिटिरर....’
आवाज आइरहेको थियो। बीचमा तीन चिरा बनाइएको निगालो बजाएको धून। स्थानीय युवा हुल पन्छाउँदै आवाज निकाल्दै निगालो बजाएर हिँडिरहेका थिए। यो निगालो नै जात्राको मुख्य संगीतिक बाध्यबाधन हो।
बेलुकी ८ बजेतिर जिब्रो छेड्ने काम सुरु भयो। जिब्रो छेड्ने मान्छे विभिन्न मन्दिर परिक्रमा गर्दै बत्ती बालिरहेका थिए।
उनी बालकराम श्रेष्ठ हुन्। पोहोर वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेका थिए। उनीअघि ११ वर्षसम्म यो परम्परा कसैले धानेन। यसपटक बालकरामले वीरेन्द्रभक्तको प्रयासलाई निरन्तरता दिँदै जिब्रो छेडेका हुन्।
जिब्रो छेड्ने जात्रामा थुप्रै व्यक्तिलाई भोज खुवाउने तथा जात्रा प्रबन्ध पनि आफैं मिलाउन पर्ने हुन्थ्यो। यसमा थुप्रै खर्च हुन्छ।
आफ्नो जिब्रो छेड्नु, अनि जात्रा खर्च पनि आफैं मिलाउनु!
यही कारण २०६३ सालदेखि सञ्चालन हुन नसकेको जात्रा २०७४ सालबाट युवा तथा सँस्कृति प्रेमी स्थानीयबाट समिति बनाई जात्रा व्यवस्थापन भइरहेको छ।
भनिन्छ– थिमीमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो। त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरे। आफ्नो शाहस देखाउन जिब्रो छेडे। भूतप्रेतलाई नै तर्साए। अनि उनीहरु भागे।
यही मान्यतामा यहाँ जिब्रो छेडिन्छ। शाहस देखाएर भूतप्रेत भगाउन खोजिन्छ।
जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरको नै हुनुपर्छ। सुरुमा त जिब्रो छेड्न व्यक्ति तयार हुनुपर्छ। कसैले ‘म जिब्रो छेड्छु’ भनेर निधो गरेपछि समितिमा सल्लाह हुन्छ। एक महिनाअघि राम्रो दिन छानेर कौनायः अर्थात नकर्मीलाई नातु (सुइरो) बनाउन खबर गरिन्छ। खबर गर्न जाँदा जिब्रो छेड्ने व्यक्तिले पूजा लिएर जान्छ।
नकर्मीले नातु बनाइसकेपछि नखिइयोस् भनेर ३ हप्ताजति शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ। यस जात्रामा तीन तीर भएको नातु बनाइन्छ।
पूर्णिमाका दिन जिब्रो छेडिन्छ। त्योभन्दा ८ दिनअघि बालकुमारी मन्दिरमा पूजा हुन्छ। यसलाई ‘द्यः दुसालेगु’ भनिन्छ। यो भनेको देवतालाई साधना गरेर जिब्रो छेड्ने ठाउँसम्म ल्याइन्छ।
जात्राको चार दिनअघि थिमीको लाय्कूका पःमा (तत्कालीन राज्य सञ्चालक) ले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर डबलीमा राख्छन्।
जात्राको एक दिनअघि ‘छोइलभु’ हुन्छ। रातो भालेको बलीसहित पूजागरी भोज खुवाइन्छ। येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ। जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन्। कसैसँग बोल्न पनि हुँदैन।
बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ। बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ। बत्ती दिइन्छ।
त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरू (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरव पूजा हुन्छ। पूजापछि जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वास छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुईजनाले समाएर भैरवसामु मुख फर्काइ उल्टो हिँडाएर डबलीमा पुर्याइन्छ। यो बेला जामनःगुरु, नायः पमा, नकर्मी लगायतको डबलीमा उपस्थिति हुन्छ।
सुइरो हाल्ने व्यक्तिलाई 'कमिनायो' भनिन्छ। कमिनायोले पनि भैरव पूजा गर्छन्। त्यसरी नै उल्टो फर्किएर डबलीसम्म आउँछन्। नकर्मीले बनाएको १० इन्च लामो सुइरोले जिब्रो छेडिदिन्छन्। त्यसपछि जिब्रो छेड्ने व्यक्तिलाई भ्ये (महादिप) बोक्न लगाइन्छ। उसको इच्छाअनुसार नगरपरिक्रमा गराइन्छ। थिमी, नगदेश, बोडे लगायत विभिन्न ठाउँ घुम्दै बालकुमारी मन्दिर आउँछन्।
‘जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि गएको पाइन्छ,’ येँया पुन्हीया म्ये प्वाः खनेगु जात्रा व्यवस्थापन समितिका सचिव हरिसुन्दर ‘साय’ श्रेष्ठले भने।
जिब्रो छेड्ने व्यक्तिको साथमा दुइटा याँमता पनि हुन्छ। त्रिशूल आकारको यो बत्तीलाई मानन्धर समुदायले बाल्दै हिँड्छन्।
‘त्यसले घरधुरीमा लुकेर बसेका भूतप्रेत भगाउने जनविश्वास छ,’ श्रेष्ठले भने।
जिब्रो छेड्ने व्यक्ति परिक्रमा सकेर बालकुमारी आउँछन्। त्यहाँ कमिनायोले नै जिब्रोबाट सुइरो निकालिदिन्छन्। त्यसपछि जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छन्। यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ।
माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ। बेलुकी सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ। भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ। यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ। बोडे बिस्केट जात्रामा पनि महालक्ष्मी मन्दिरमा त्यसरी नै नातु ठोकिन्छ।
योन परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन। मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ।
‘यो जात्रामा इच्छा भए एक जनाभन्दा बढीले जिब्रो छेड्न सक्छन्,’ हरिसुन्दर ‘साय’ श्रेष्ठले भने, ‘एकपटक जिब्रो छेडेको सुइरो अन्यभन्दा बेग्लै ठाउँमा राखिन्छ। मन्दिरमा ठोकिएको सुइरोको प्रकृति हेर्दा एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको पनि देखिन्छ।’
यो जात्रा येँया पुन्हीमै किन सुरु भयो भन्ने पनि आधिकारिक तथ्य छैन।
‘इन्द्रजात्रामा भैरवलाई महत्वका साथ पूजा गरिन्छ। यो जात्रामा पनि जिब्रो छेड्नेले भैरवको साधना गरेर शक्ति लिन्छ,’ श्रेष्ठले भने, ‘यसले पनि येँया र जात्राको केही सम्बन्ध देखाएको हुन सक्छ।’
हेर्नुहोस् जात्राका केही तस्बिरः
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी