पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या आरोपमा उनकै छिमेकी पक्राउ परेका छन्। कास्की प्रहरीले उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
कुसुमसहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन्। कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्वीकार गरिसकेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले उनीसँगै अन्यलाई अनुसन्धान गरिए पनि अन्य दोषी नदेखिएको बताए।
रानाले प्रहरीले बेलैमा अपराधीलाई खोजी गरी पक्राउ गरेको बताए । बिहानदेखि नै रक्सी खाएर मातेका पौडेलले बलात्कार गर्न खोजेपछि प्रतिकार गर्दा घटना भएको एसपी रानाले बताए।
सोमबार साँझबाट हराएकी श्रेयाको मंगलबार बिहान शव भेटिएको थियो। प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो। त्यसैले प्रहरी छिमेकी नै संलग्न भएको निचोडमा पुगिसकेको थियो । घटनास्थलबाट श्रेयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दूरीमा पर्दछ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी र कास्की प्रहरीका प्रमुख ओम रानाको टोलीले अनुसन्धान गरेको थियो। पोखरा घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै पोखरामा विरोध जुलुस र प्रहरी कार्यालय अगाडि स्थानीयले धर्ना दिएका छन्।
यस्तो छ घटनाको विवरण
श्रेया मामाघर नै बस्थिन्। स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन्। सोमबार पनि उनी स्कुल गइन्। स्कुलबाट घर फर्किदा हजुरआमा नातिनीसँगै घर फर्के।
कपडा फुकालेपछि ‘भोक लाग्यो’ भनिन्।
‘माइजुले खाजा बनाएको होला खाऊ’ भनेर हजुरआमाले भनिन्।
‘पाँच रुपैयाँ लेऊ’ भन्दै ढिपी कसिन्। हजुरआमाले पाँच रुपैयाँ दिइन्।
‘टिभी हेरेर बस’ भनेर मामा र हजुरआमा घाँस काट्न गए।
घाँस लिएर आउँदा श्रीया भेटिनन्। खाजा पसल त्यो गाउँकै जक्शन हो। जहाँ बेलुकी समय भीडभाड हुने गर्दछ। केटाहरू भेला हुन्छन्।
स्थानीय २७ वर्षीय कुशुम पौडेलले पसलमा रक्सी खाए। उसको ग्याङमा ५ जना थिए। कुशुमले ब्याग पनि बोकेका थिए। प्रत्यक्षदर्शीका अनुसार ऊ असिन पसिन देखिन्थ्यो ।
बेलुकी ५ बजेपछि पाँच जना आआफ्ना घरतिर लागे। पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे।
श्रेया हातमा पाँच रुपैयाँ नोट बोकेर आइरहेको देखे। कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो।
उसले आफूतिर बोलाए।
‘५ रुपैयाँ लिएर पसल हिँडेको? आउ म दिन्छु पैसा’ भने, हजुरआमासँग ५ रुपैयाँ पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन।
त्यसपछि कुशुमले श्रेयालाई समाते। श्रेया रुन कराउन थालिन्। कुशुमले बालिकाको घाँटीमा समाते। झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए। त्यसपछि, आफैं बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले। बालिका रक्ताम्ये भइन्। इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे। जमिन खोस्रेर टाउको माटोमा गाडिदिए। त्यसपछि कुशुम घर फर्के।
घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ। कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए।
श्रीयालाई राति अबेरसम्म खोजी गरियो भेटिएन। बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे। बाटोमा डिल भत्केको देखियो। झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामामाथि कपडा सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे। हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए।
मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो। वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीसहितको टोली मुभ भयो।
लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थल सोझिए। तालिम प्राप्त कुकुर साथमा थियो। कुकुर १०० मिटर वरपर अलमलियो।
केहिबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश र स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याइयो। चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्य रूपमा भनेको बालिकाकी ठूलोबुबा मिनबहादुर विकले बताए ।
कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्कीसहितको जिल्ला टिमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो। सुरूमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो।