१० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दै पोखरावासी सडकमा उत्रिएका छन्।
महिलाको बाहुल्यता रहेको समूह छोरेपाटनबाट नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो।
आन्दोलित समूहले हत्यारालाई फाँसीको माग गर्दै प्रहरी प्रशासनको समेत चर्को विरोध गरेको थिए। हत्याको आरोपमा प्रहरीले उनकै छिमेकी कुशुम पौडेललाई मंगलबार राति पक्राउ गरिसकेको छ। फकाउन खोज्दा नमानेपछि रक्सी र गाँजाको तालमा बलात्कार गरी हत्या गरेको प्रहरीसामू उनले बयान दिइसकेका छन् ।
सोमबार साँझ ५:३० बजे घरबाट बिस्कुट किन्न भनेर निस्केकी श्रेयालाई पौडेलले बाटैमा नियन्त्रणमा लिइ बलात्कार गरी हत्या गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर हत्यारा सार्वजनिक गरेको थियो।
हत्यारालाई कानूनी दायरामा ल्याइसकेको कास्की जिल्ला प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताएका छन् ।
‘कानूनी अनुसार कारबाहीको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने।
आन्दोलित समूहलाई शान्त पार्न प्रहरीलाई हम्मे/हम्मे परेको थियो ।