येँया पुन्ही श्रृंखला
येँया पुन्ही, अर्थात् इन्द्रजात्राको छैठौं दिन बुधबार श्वेत भैरवको मुखबाट महिलाहरूले मात्र प्रसाद ग्रहण गरे।
हनुमानढोका दरबार अगाडि यः सिं (लिंगो) ठड्याएको दिनबाट इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनबाट जात्रा नसकिँदासम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। र, बेलुकी श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाइन्छ।
‘हाथा हायकेगु’ भनिने यो परम्परामा भैरवको मुखबाट दिनको करिब ८० लिटर जाँड-रक्सी खुवाउने गरिन्छ। खानेको उधूम भीड हुन्छ।
पहिले जाँड-रक्सी खानेमा पुरुष मात्र हुन्थे। अचेल एक दिन महिलाका लागि छुट्याइएको छ। काठमाडौंको माथिल्लो टोल (थ:ने) मा रथ तानेको भोलिपल्ट महिलाले जाँड खान्छन्।
महिलालाई मात्र जाँड खुवाउने दिन तय गरिएको पाँच वर्ष भयो। पाँच वर्षअघि ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति’ ले यो परम्परा सुरु गरेको हो। समितिकी सचिव ज्योत्सना सिन्दुराकारले महिला र पुरुषलाई समावेशी ढगंले लग्न यस्तो परम्परा सुरु गरेको बताइन्।
पुरूषको एकाधिकार रहेको 'हाथा हायकेगु' मा महिलालाई पनि समाहित गर्नु सहज थिएन।
‘महिला भएर सार्वजनिक स्थलमा जाँड खान जानु चानचुने कुरा थिएन,' उनले भने, 'घरपरिवार एकातिर, समाजको डर अर्कातिर। एक प्रकारको क्रान्ति नै थियो।’
इन्द्रजात्रामा महिला क्रान्तिको सुरुआत त्योभन्दा दुई वर्षअिघ नै भएको थियो- कुमारीको रथ तानेर।
रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नागको प्रतीकका रूपमा लिइन्छ। पुरातन सोच बोकेका बूढापाकामा डोरी महिलाले छुनै नहुने र नाघ्नै नहुने भन्ने मान्यता थियो। त्यो सोच कसरी तोड्ने भन्ने अन्योलजस्तो थियो।
त्यही अन्योलबीच समाजसेवी मोहनकृष्ण डंगोलले ‘कुमारीको रथ नानिचाको दिन नानीहरूले नै तान्छ’ भनेर सञ्चारमाध्यममा बताइदिए।
‘त्यसपछि ‘कसरी तान्छन् महिलाहरूले?’ भनेर चुनौती भयो। तान्नैपर्ने बाध्यता पनि,’ ज्योत्सनाले भनिन्, ‘नेवारी समुदायमा ज्यापूहरूलाई बलियो मानिन्छ। ज्यापूझैं ज्यापूनी पनि बलियो हुन्छन् भन्ने सोच्यौं। अनि ज्यापू महिला गुठीको सहयोगमा रथ तानियो।’
महिलाहरूले रथ तान्न थालेको सात वर्ष भयो। कुमारी रथ तान्न कम्तीमा सय जना चाहिन्छ। त्यो बेला जेनतेन पुर्याइएको थियो। अहिले त रथ तान्नैका लागि २६० समूह दर्ता भएको ज्योत्सनाले बताइन्।
उनका अनुसार रथ तानेको दुई वर्षपछि महिलाको छुट्टै ‘हाथा हायकेगु’ सुरु भएको हो। ‘महिला पुरुष बराबर जानुछ भने सबै कुरामा किन नजाने?’ उनले भनिन्।
श्वेत भैरवको मुखबाट सात दिन जाँड खुवाइन्छ। एकदिन रक्सी। रथयात्राको पहिलो दिन (पूर्णिमा) मा कुमारी, भैरव र गणेशलाई प्रसादस्वरुप रक्सी खुवाइन्छ। बाँकी दिन जाँड हुन्छ।
श्वेत भैरवको मुखबाट खुवाइने जाँड कसरी तयार हुन्छ?
जाँड बनाउनुअघि ‘यचिंकायगु’ गर्ने चलन छ। यो भनेको सुचि–निधि अर्थात शुद्धि गर्ने दिन हो।
येँया पुन्ही सुरु हुनु चार दिनअघि जाँड बनाउन थालिएको हुन्छ। जाँड बनाउने तरिकालाई ‘प्वः हायगु’ भनिन्छ। यसमा मना (जाँड बनाउने सामान) र अनिवार्य रूपमा ताइचिनको चामल हाल्नुपर्छ। यो प्रक्रियाबाट तयार भएकोलाई ‘पोकः’ भनिन्छ।
भैरवको मुखबाट पठाउने दिन पानी हालेर जाँड बनाइन्छ। यसलाई ‘कवँचाः’ भन्ने माटोको भाँडामा पकाउन भण्डारण गरिएको हुन्छ। ‘हाथा हायकेगु’ गर्ने दिनमा ४ भाँडा जाँड खपत हुन्छ। प्रत्येकबाट २० लिटरजस्तो जाँड बन्छ।
भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पो हुन्छ। त्यसमा जाँड राखेर भैरवको मुखमा पाइप फिट गरिन्छ।
श्वेत भैरवका गुठीयार सुनिल ताम्राकारका अनुसार भैरव महादेवका रूप हुन्। महादेवले भाङ, धतुरो, गाँजा खान्छन्। यसैले जाँड प्रसादकै रूपमा खुवाइन्छ।
यो नेवारी संस्कृतिसँग पनि जोडिएको छ।
‘हाम्रो नेवारी संस्कृतिमा जाँड–रक्सी सगुनका रूपमा खाने चलिआएको परम्परा हो,’ ताम्राकारले भने, ‘भैरवको मुखबाट आएको जाँड खान सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने मान्यता छ।’
श्वेत भैरवलाई स्थानीय आजु पनि भनेर पुकार्छन्। इन्द्रजात्राको इतिहास पुरानो भए पनि श्वेत भैरव इन्द्रजात्रासँग जोडिएको धेरै भएको छैन।
सामान्य अर्थमा श्वेत भैरव भनेको सेतो भैरव हो। तर, यो सेतो छैन। सन् १८५२ मा रणबहादुर शाहले यसलाई सुनौलो स्वरुपमा निर्माण गरेका थिए। त्यो बेला चार हजार रुपैयाँमा निर्माण गरिएको अभिलेख छ।
परम्परादेखि चलिआएको इन्द्रजात्रामा रौनक थप्न श्वेत भैरव प्रदर्शन गर्न थालिएको गुठीयार सुनिल बताउँछन्।
‘त्यो बेला काठमाडौंमा भूत, पिचासको डर थियो रे,’ गुठीयार सुनिलले भने, ‘भैरवको स्थापना गरिएपछि उनीहरू डराएर भागेको भन्ने मान्यता छ। सधैं प्रदर्शन गर्दा यसको महत्व नहुने र हेर्दै डरलाग्दो भएकाले इन्द्रजात्रामा मात्रै प्रदर्शन गरिएको हो।'
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी