चुडामणि ढकाल २०५९ सालमा विदेश जान तम्सिएका थिए।
भिसा लाग्यो। घरपरिवारसँग विदावरी भएर काठमाडौं गए। केही दिन काठमाडौं बस्दा विदेशबाट फर्केका थुप्रै मानिसका कथाव्यथा सुन्ने मौका पाए। विदेशको काम, कमाइ, बसाइ र त्यहाँको वातावरण बुझे। सबै कुरा सुनेपछि उनको मन मर्यो।
त्यति बेला २९ वर्षका चुडामणि विदेश नजाने निर्णयमा पुगे।
आज १६ वर्षपछि फर्केर हेर्दा त्यही निर्णय सफलताको पहिलो खुड्किलो बनेको उनी देख्छन्।
सुर्खेत, लेकवेशी नगरपालिका–१०, जलुकेनीका चुडामणि अहिले आफ्नै गाउँमा व्यावसायिक भैंसीपालन गरिरहेका छन्। उनी दिनको ८० लिटर दूध उत्पादन गरेर वीरेन्द्रनगर बजार पुर्याउँछन्।
विदेश जाने योजना त्यागेर गाउँमै दुईवटा भैंसी पालेका ढकालसँग अहिले २० वटा भैंसी छन्। दैनिक कम्तीमा ८५ लिटर दूध उत्पादन हुन्छ। उनको वार्षिक आम्दानी १५/१६ लाख रुपैयाँ छ।
व्यवसाय फस्टाएपछि उनले दूध ओसार्न आफ्नै गाडी किनेका छन्। ढकालले भैंसीपालन सुरु गर्दा गाउँमा मोटरबाटो थिएन। आफ्नै अगुवाइमा विभिन्न निकायसँग योजना मागेर मोटरबाटो पुर्याएको उनी बताउँछन्।
‘सुरुमा ढाई घन्टाको बाटो हिँडेरै वीरेन्द्रनगर बजार पुग्थेँ,’ उनले भने, ‘बिहान ३ बजे हिँडिन्थ्यो। आफ्ना मान्छे देख्यो भने लाजले नदेखेझैं गर्थें। बजारछेउ धुलियाबिट पुगेपछि जीपमा दूध राखेर बजार पुर्याउँथेँ।’
उनका दुई छोराछोरी काठमाडौंमा चाटर्ड एकाउन्टेन्ट (सिए) पढ्दै छन्। जेठा छोरा सुरज २३ वर्षका भए भने छोरी जमुना २१ वर्षकी भइन्। दुवै एकै कलेजमा एकै तहमा पढ्छन्। कान्छी छोरी गंगा पनि काठमाडौंमै विज्ञान संकायमा प्लस टु पढ्दै छिन्।
काठमाडौंमा बसेर अध्ययन गरिरहेका छोराछोरीको खर्च मात्र मासिक ८० हजारभन्दा माथि आउने उनी बताउँछन्।
ढकालको व्यवसाय ‘नमूना भैंसी फर्म’ द्वारा सञ्चालित छ। उनको भैंसीपालनमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
आफूले पशुपालन गर्नु र अरूलाई रोजगारी दिनुलाई उनी पूर्वप्रधानमन्त्री मरिचमान सिंहसँग तुलना गर्छन्।
‘प्रधानमन्त्री बनेका मरिचमान सिंहले पनि दूध उत्पादनका लागि गाई पालेका थिए रे,’ उनले भने, ‘त्यसरी काम गर्न गाह्रो मान्नु हुन्न भन्ने मलाई लाग्छ।’
वैदेशिक रोजगारको मोह त्यागेर भैंसीपालन गर्ने चुडामणिको प्रेरणाबाट गाउँभरि दूध उत्पादन फस्टाएको छ। उनी गाउँभरिको दूध जम्मा गरेर दैनिक १ हजारदेखि १ हजार २ सय लिटरसम्म वीरेन्द्रनगरका डेरीमा पुर्याउँछन्।
गाउँमा आजभोलि प्रत्येक घरमा गाई वा भैँसी अनिवार्य पालिएको हुन्छ। उनीहरूले उत्पादन गरेको दूध ढकाल आफ्नै गाडीमा बजारसम्म ढुवानी गरिदिन्छन्।
‘मैले व्यावसायिक रूपमा यो काम नगर्दासम्म यहाँ कसैलाई दूध उत्पादनमा चासो थिएन,’ उनले भने, ‘अहिले वरिपरिका सबैले व्यावसायिक रूपमा दूध उत्पादन गर्छन्। पहिलेभन्दा गाउँ परिवर्तन भएजस्तो लाग्छ।’
लेकवेशी–१०, जलुकेनीकै यामप्रसाद आचार्य पनि पहिले व्यावसायिक दूध उत्पादन गर्दैनथे। उनको घरमा गाई थियो, तर परिवारलाई दूध, दही खान मात्र। ढकालकै प्रेरणाले उनले पनि ‘दीपचन्द्र कृषि फर्म’ दर्ता गरेर दूध उत्पादनका लागि गाई र भैंसी पाल्न थालेका छन्।
‘यो सबै चुडामणिकै सफलताको नतिजा हो,’ उनले भने।
ढकालको अर्को सपना पनि छ– गाउँमा विद्यालय खोल्ने। हिँडेर टाढा पढ्नु जाने सानासाना बालबालिकाका लागि गाउँमै विद्यालय खोल्ने योजनामा उनी लागेका छन्।
‘यी केटाकेटी सेटल भए भने र मैले निरन्तर यसरी मेहनत गरिरहन सकेँ भने आफ्नै कमाईले गाउँमा विद्यालय खोल्छु,’ ढकालले भने, ‘हेरौं लगानी के हुन्छ।’
विद्यालय खोल्ने सपनाको पछाडि कारण छ। ढकाल आफूले पढ्न नपाएकोमा पछुतो मान्छन्।
नपढेका भए पनि आफ्ना र वरपरका कसैको पशुको सामान्य उपचार गर्नुपरे बजारमा रहेका चिकित्सकलाई दुःख दिँदैनन्। चिकित्सकसँग फोनमा कुराकानी गर्दै आफैं उपचार गरिदिन्छन्।
‘गाई, भैँसी व्याउन सकेनन् भने, साल फाल्न सकेनन् भने म यस्ता समस्या आफैं समाधान गर्दिन्छु,’ उनले भने, ‘हामी ठूला समस्या आए मात्र गाउँमा डाक्टर बोलाउँछौं।’
देखेको र सामान्य रूपमा सिकेको ज्ञान व्यवहारमा उतार्दा उनले यो काम गर्न सकेका हुन्। थोरै पढेका भए आफूलाई कुनै पनि काम गर्न सजिलो हुँदो रहेछ भन्ने उनलाई थकथकी लाग्छ।
‘जिन्दगीमा मैले जागिर खाएको भए थोरै कमाइमा सुखी त हुन्थेँ, तर अहिले जति कमाइ छ, छोराछोरीको पढाइका लागि जति लगानी गर्न सकेको छु त्यति भने सायद गर्न सक्थिनँ,’ ढकालले भने, ‘पढेर जागिर नखाएकोमा पछुतो पटक्कै छैन, तर नपढेकोमा भने निकै पछुतो छ।’