पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टर नियुक्त हुँदा नेपालमा सर्वसाधारण निम्ति कार्यक्रम प्रस्तुत गर्ने एउटै हल थिएन।
२०१५ सालमा पहिलोपटक जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरिएको यो निकायमा नियुक्ति दिएको थियो। त्यस्तोमा पुरातत्वको काम जसोतसो अघि बढ्दै थियो। सांस्कृतिक गतिविधिका लागि कुनै ठाउँ थिएन।
उपत्यकामा ‘कला मन्दिर’, ‘जननाट्य परिषद्’ जस्ता संस्थाहरू थिए। तिनै संस्था परिचालन गरेर विभिन्न समारोह र उत्सवमा कार्यक्रम आयोजना गराउन थालेँ।
त्यस्तो कार्यक्रम गर्ने थलो भनेकै सिंहदरबारभित्रको नाचघर थियो, जहाँ सर्वसाधारण जानै पाउँदैन थिए। त्यसमाथि राणाहरूले बनाएको त्यो हल साँघुरो त छँदै थियो।
यस्तो अवस्थामा रानीपोखरीको किनारतिर जमलमा एउटा असाध्यै पायक पर्ने पाँच-छ रोपनी जग्गा लिलाम बढाबढ हुन लागेको खबर पाएँ।
यो २०१६ सालको कुरा हो।
त्यहाँ जुद्धशमशेरको पालादेखि चलिरहेको ‘नेपाल उड वर्क्स ’ कम्पनी लिक्विडेसनमा गएर जग्गा बेच्न लागिएको थिए। त्यो जमिनमा झन्डै चार सय मानिस अटाउने क्षमताको 'सेड' पनि थियो।
जुद्धशमशेरको पालामा कम्पनी कानुन बनाएर धेरै कारखाना एकसाथ खोलिएको थियो। बाहिरबाट पढेर आएका एक हुल तन्नेरीलाई उनीहरूको विज्ञताअनुसार काममा लगाउने अभियानअन्तर्गत यस्तो कदम चालिएको थियो। त्यसैअनुसार दिग्विजयराज जोशीलाई अघि लगाएर यो काठ कारखाना खोलियो।
जनतालाई सेयर दिएर खोलिएको यो कारखाना पछि बन्द भयो। सम्पत्ति लिलामीमा चढ्यो।
जुद्धशमशेरको पालामा त्यसरी खोलिएका कम्पनी प्रायः सबै लिक्विडेसनमै गएका थिए। सेरामिकमा डिप्लोमा पास गरेर आएका करुणाकर वैद्यले वीरगन्जतिर खोलेको कारखाना पनि यसैगरी लिक्विडेसनमा गएको थियो।
रसायनशास्त्रमा एमएस्सी गरेर आएका शेषराज दलीले खोलेको साबुन फ्याक्ट्री पनि लिक्विडेसनमा गयो।
वीरगन्जकै एउटा ‘जुद्ध म्याच फ्याक्ट्री’ भने चल्यो। त्यहाँ रत्नमान काजीलाई लिएर थालेको चुरोट कारखाना पनि चलेको थियो। गुञ्जमान सरदारका ज्वाइँ भक्तिदास श्रेष्ठ मसँगै पढेका साथी थिए। उनले नै गएर त्यो चुरोट कारखाना सम्हालेका थिए।
जे होस्, काठमाडौंमा चाहिँ दिग्विजयराजको काठ फ्याक्ट्री नचलेपछि २०१६ सालमा लिलाम बढाबढ हुँदै थियो। लिक्विडेसनको सूचना पत्रिकामा आयो। एक लाख ३७ हजार रुपैयाँमा त्यो सम्पत्ति खरिद गर्न सकिने भयो।
त्यो सम्पत्तिमा मेरो आँखा परेको थियो। तर, त्यो बेला पुरातत्व तथा संस्कृति विभागसँग पैसा थिएन। शिक्षामन्त्री अर्थात् मेरा विभागीय मन्त्री परशुनारायण चौधरी थिए। सचिव दीर्घराज कोइराला।
मन्त्रीजीलाई एकपटक भन्ने कुरा भयो। मन्त्रीजीले पनि के गर्ने? उनी ‘भोलानाथ’ पाराका थारु थिए। काठमाडौंमा नाचगान देखाउने ठाउँ बनाउनुपर्छ भन्ने कुरामा खास रुचि नै थिएन।
हुन त उतिबेलै पढेलेखेका थिए। तर, असाध्यै साधारण जीवनशैलीमा रमाउने मानिस। म थिएँ उनको निर्देशक। जे कुरा उठाउँदा पनि ‘जे गर्ने हो तपाईंले गर्नुस् जोशीजी’ भन्थे।
म जसरी हुन्छ त्यो जग्गा हात पारौं भन्ने हिसाबले लागेको थिएँ। नाचघर निम्ति यस्तो जग्गा चाहिन्छ भन्ने मलाई लागेको थियो।
मन्त्रीले 'हुन्छ' त भने। तर, पैसाको अभाव सुनाए।
यता मैले आफ्नो रहरकै भरमा त्यो जमलको जग्गा निम्ति टेन्डर हालिसकेको थिएँ। त्यो टेन्डर हामीलाई नै पर्यो।
यस्तो छटपटी बेला दीर्घराजजीलाई गएर भेटेँ।
‘किन आउनुभयो जोशीजी?’ उनले सोधे।
मैले सबै बेलिविस्तार लगाएँ।
‘तपाईं काम गर्ने मान्छे हो, मलाई थाहा छ,’ कोइरालाले भने, ‘ल म तपाईंलाई पैसाको बन्दोबस्त गरिदिन्छु।’
एक लाख ३७ हजार त जग्गा किन्नलाई मात्रै भयो। त्यसमा टहरा बनाउनदेखि फर्निचरसम्मका लागि सबै गरेर तीन लाख रुपैयाँ मागेँ।
कोइरालाले तत्कालै मानिस बोलाएर विकास बजेटबाट तीन लाख रुपैयाँ दिन लगाए।
यसरी त्यो ठाउँ नाचघरको सम्पत्ति बन्न पुग्यो।
अहिले त्यो जग्गा एक आनाकै तीन करोड तिरे पनि पाइँदैन होला।
यसरी हात लागेको सम्पत्तिमा मैले जुन डिजाइन गरेको थिएँ, त्यही टहरामै नाचघर निकै पछिसम्म चलेको थियो। त्यो नाचघरमै राजा आउँथे। सारा देशभरका कार्यक्रम त्यहीँ हुन्थे। अन्त त ठाउँ नै थिएन।
जग्गा हात पारेपछि त्यहाँ नाचघर बनाउँदाको पनि रोचक किस्सा छ।
कांग्रेसले सरकार चलाएकै बेला चिनियाँहरू सांस्कृतिक कार्यक्रम लिएर आएका थिए। चिनियाँहरू मकहाँ पनि कार्यक्रमको जानकारी लिएर आए।
उनीहरूलाई कहाँ कार्यक्रम देखाउन लगाउने? सिंहदरबारभित्रको नाचघरमा त प्राविधिक हिसाबले मिल्दैन थियो। टोलीले नै हुँदैन भन्यो।
त्यस्तोमा चिनियाँहरूले ‘हामी आफैं हल बनाएर देखाउँछौं’ भने।
उनीहरूले नै सिंहदरबारको पटांगिनीमा त्यहीँ अस्थायी पाराको नाचघर खडा गरे। उनीहरूले बनाएको देखेरै मलाई आइडिया मिलेको थियो, नाचघर त यसरी पो बनाउनुपर्ने रहेछ भनेर।
त्यसको निर्माणलाई मैले नजिकबाट हेरेको थिएँ। त्यही जानकारीका आधारमा मैले नाचघरको प्रारुप तयार पारेको थिएँ।
चिनियाँका धेरै ‘ट्रिक’ देखेर म आश्चर्यचकित भएको थिएँ।
परबाट एउटाले बन्दुक पड्काउँथ्यो। उति पर राखेको सानो चिज पक्लक्कै ढल्थ्यो। त्यो त आमदर्शकले ‘कस्तो असम्भव चिज गरिदियो’ भनेर चकित खाने कुरा भयो।
मैले उनीहरूको गतिविधि नजिकबाट नियालेको थिएँ। त्यो सानो चिजलाई नदेखिने धागोले तानेर फ्याट्ट झारिदिएको थाहा पाइरहेको थिएँ। यता त पड्किने काम मात्र हुँदो रहेछ। झार्ने काम त अरू नै थोकले गरिरहेको थियो।
चिनियाँको यस्तो चलाखीपूर्ण तरिका प्रदर्शनमा मात्र नभएर सबै कुरामा थियो। हल निर्माणमा पनि। मलाई चाहिएकै त्यो कला थियो। त्यसैले टेन्डरबाट जग्गा लिइसकेपछि नाचघर त्यसै अनुभवका आधारमा मैले तयार पार्न लगाएको थिएँ।
त्यहाँ काठ कारखाना चलाउँदाखेरिका थुप्रै सरसामग्री थिए। त्यो सबै मैले घरेलुलाई दिन लगाएँ। त्यसबापत घरेलुलाई नै त्यस हलका निम्ति भनेर मेचहरू बनाउन लगाएँ। त्यो सेडमै मोटामोटी डिजाइन गरेर मञ्च तयार पार्न त्यतिबेला अर्कै कामका निम्ति नेपाल आएका चार जना जर्मन नागरिकलाई जिम्मा दिएँ। यसरी जर्मनको डिजाइनमा त्यहाँका फर्निचर तयार भए।
यसरी बनेको हल म छउन्जेल चलाएँ। २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि म पनि विभागबाट निकालिएँ। त्यही हलमा २०१९ सालतिर भारतीयहरू आएर जादू देखाउन खोज्दा सर्ट भएर दिउँसै आगलागी भएको थियो।
त्यसपछि रानी रत्नले पैसा दिएर फेरि नाचघर उभ्याएकी थिइन्।
जमलको त्यो जमिनमा पहिले पोखरी थियो। त्यसैले जति गरे पनि पानी आइरहने। त्यसले धेरै मुश्किल पारेको थियो। जति गरे पनि पानी नियन्त्रण गर्नै नसकिने।
यसरी जसोतसो चल्दै आएको नाचघरमा केही वर्षअघि हरिहर शर्मा महाप्रबन्धक भएका बेला भव्य सभागृह निर्माण गरिदिएका छन्। अहिले पनि त्यहाँ पानी पस्ने समस्या यथावत छ जस्तो लाग्छ।
यसरी नाचघरमा मेरो योगदान सम्झेर अहिलेका महाप्रबन्धक राजेश थापाले त्यहाँ मेरानिम्ति केही काम गर्ने इच्छा प्रकट गरे।
राष्ट्रिय नाचघरको जुन भवन छ, त्यो भवनै मेरो नामबाट राख्ने कुरा गर्दैछन्। त्यसबाहेक एउटा मेरो नाटक देखाउने र नाचघरकै तर्फबाट जीवनी प्रकाशित गरिदिने कुरा गरेका थिए। मेरो नाटकको पुस्तक छपाउने पनि कुरा निकाले।
त्यसनिम्ति ‘सुनकेशरी मैया’ तय गरियो। त्यो त उतिबेला मैले कर्णालीमा गएर अनुसन्धान गर्दा संकलन गरेर ल्याएको लोककथामा आधारित नाटक थियो। ऐतिहासिक पृष्ठभूमिमा बनेको त्यो असाध्यै राम्रो नाटक हो। त्यसको मुलुकभित्र र बाहिर बंगलादेशमा प्रदर्शन पनि भइसकेको छ।
त्यसमा सिंजा खोलाको संस्कृति स्वाट्टै आएको छ। बाजागाजादेखि सबै। त्यो बेलाको कर्णालीको वातावरण त्यसले समेटेको छ। ती बाइसे चौबीसे राजाहरूको भोटेसँगको लडाइ, सुनकेशरीलाई अपहरण गरेर लगेको, उसका निम्ति लडाइँ भएकोदेखि सारा वर्णन थियो।
त्यो छापिएको चाहिँ थिएन। त्यही लोककथामा आधारित नाटकलाई पुस्तकका रूपमा नाचघरले छाप्ने तारतम्य मिलाएको थियो। तर, मण्डला थिएटरका राजन खतिवडाले आफूहरूले नाटक देखाएकाले आफैंले छाप्ने भनेर दिन मानेनन्।
त्यसपछि नाचघरले नाटक देखाउने कुरा अघि बढायो। त्यसनिम्ति महर्षि याज्ञवल्क्यको छनौट गरियो। हाम्रै जनकपुरमा राजा जनकको ब्रह्मसभाका महर्षिको त्यो पूरै दार्शनिक नाटक थियो। त्यसलाई देखाउन बद्री अधिकारीलाई निर्देशकका रूपमा चयन गरियो।
करिब ३५–४० जनाको ठूलो कलाकार टिमसहित नाटक तयार भयो। त्यसको प्रिमियर शो म पनि हेर्न गएँ।
भोलिपल्टदेखि टिकट शो हुँदै थियो। त्यो दिन नै राजा जनक बनेका विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै मञ्चमै निधन भयो। फुयाँलजीले अभिनय गर्दागर्दै देहत्याग गर्ने इच्छा राखेका थिए भनेर पछि सुनेको थिएँ।
उनको निधनसँगै त्यो नाटक पनि त्यही क्षणबाटै सेलाएको सेलायै भयो।
नाचघरबाट मेरो जीवनी पुस्तकको काम पनि अघि बढिरहेको छ।
नाचघरमा मेरो नाम राख्ने विषयमा अनुमति लिइसकेको छ। राष्ट्रपति ल्याएरै औपचारिक घोषणा गर्ने कुरा पनि सांस्कृतिक संस्थानले नै सुनाएको हो। सायद त्यो पनि प्रक्रियामै हुनुपर्छ।