समयमै सडक नबनेको भन्दै कलंकी-नागढुंगाका स्थानीय आन्दोलनमा उत्रिएका छन्।
शुक्रबार बिहान साढे ८ बजेदेखि उनीहरूले २ घन्टा यो सडक खण्ड बन्द गरे। वर्षौंदेखि लथालिंग रहेको कलंकी-नागढुंगा सडकको धुलोलेस्वच्छ हावामा सास फेर्न पाउनु पर्ने नागरिकको अधिकार हनन भएकाले आफूहरू आन्दोलनमा आउनु परेको उनीहरूले बताएका छन्।
‘यो सडकमा अदालतको फैसला लगायत धेरै समस्या छन्। तर कम्तिमा दिनदिनै पानी हालेर धुलो त कम गर्न सकिन्छ नि,’ आन्दोलनमा सहभागी चन्द्रागिरि नगरपालिका १५ का वडाअध्यक्ष उत्तमबहादुर राउतले भने।
प्रदर्शनमा वडा नम्बर १५ का स्थानीय सहभागी भएको उनले बताए।
एक वर्षअघि धुलो कम गर्न पानी हाल्ने सहमति भएपनि कार्यान्वयन नभएको उनले बताए।
‘यही धुलोका कारण जेष्ठ नागरिक र बालबालिकामा फोक्सो, किड्नी रोग लागेका छन्। यहाँका औषधि पसलमा पहिलाभन्दा १० प्रतिशत बढी बिरामी आउँछन्,’ एक स्थानीयले भने,‘तीन वर्षमा दुर्घटना हुँदा ३१ जना मरिसके। यो बाटो बनाउने ठेक्का प्रचण्डज्यूको घरबेटीले पाउनु भएको रैछ। उहाँले बनाइदिनुभएन। हामी सडकमा आयौं।’
२ घन्टा सडक अवरोध भएपछि अहिले प्रमुख जिल्ला अधिकारी, ठेक्का पाएको कम्पनी शैलुङ कन्स्ट्रक्सन, प्रहरी र स्थानीयबीच वार्ता भइरहेको छ।
‘वार्ता मिलेन भने फेरि आन्दोलन गर्छौं,’ वडाध्यक्ष राउतले भने।
काठमाडौं उपत्यका सडक सुधार योजना कार्यालयका त्रिपुरेश्वर-कलंकी-नागढुंगा ९.१ किलोमिटर सडकको ठेक्का नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले पाएको छ। यो सडक एक अर्ब १३ करोड, ८४ लाख ३२ हजार ७३० रूपैयाँमा ठेक्का लागेको हो।
एक वर्षे सम्झौता अनुसार २०७२ असार मसान्तमा अधिकारीले ठेक्का लिएका थिए। कार्यालयका अनुसार बढीमा पुस मसान्तसम्म सक्नु पर्नेमा उनले पूरा गरेका छैनन्। अहिले ५० प्रतिशत काममात्र पूरा भएको छ।
यो सडक निर्माण गर्न शैलुङले तीन भाग लगाएको छ। यसको पृष्ठभूमिमा मुख्य ठेकेदार शैलुङ छ, ज्वाइन्ट भेन्चर ठेक्कामा अरू कम्पनी छन्। शैलुङको प्राविधिक पक्ष कमजोर छ, त्यसैले ज्वाइन्ट ठेक्का लिन्छन्।
कलंकी नागढुंगाको तीन किलोमिटर खण्ड एमएस शर्मा, शैलुङ र कान्छाराम जेभी, ३-६ खण्ड एमएस लुम्बिनी-शैलुङ र साप जेभी र ६-९.१ खण्ड एमएस शर्मा-शैलुङ र कान्छाराम जेभीलाई निर्माण जिम्मा दिइएको छ।