यस वर्षको दसैं-तिहारलाई लक्षित गर्दै सुर्खेत प्रहरीले जिल्लाबाट छुट्ने सार्वजनिक सवारी साधनहरुमा प्रहरी परिचालन गर्ने भएको छ। चाडपर्वका यात्राका क्रममा हुनसक्ने दुर्व्यवहार, चोरी–डकैतीजस्ता कार्य नियन्त्रणका लागि साधा पोशाकका प्रहरी आवश्यकता अनुसार गाडीहरुमा परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
चाडपर्वका बेला लामो दुरीको यात्राका क्रममा हुने अनैतिक गतिविधिहरुलाई नियन्त्रण गर्न आवश्यकता अनुसार सार्वजनिक यातायातका साधनहरुमा साधा पोशाकमा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए। ‘चाडवाडलाई लक्षित गर्दै हामी थप मोटरसाइकल परिचालन गर्ने योजनामा छौं,’ प्रहरी उपरीक्षक रजौरेले भने, ‘चाडबाडका बेला यात्रुलाई सहज यात्रा गराउन साधा पोशाकमा प्रहरी पनि अवश्यकता अनुसार गाडीहरुमा राख्ने योजना बनाएका छौं।’
चाडबाडलाई मर्यादित बनाउन थप गस्ती टोली परिचालन गर्ने, आवश्यकता अनुसार आकस्मिक सवारी जाँच गर्ने, अवैध मदिरा नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने, वीरेन्द्रनगर, छिन्चुलगायतका बजार क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, प्रहरीले गरेका कामको प्रभावकारिता तथा प्रहरी अनुशासनबारे नागरिकसँग विभिन्न माध्यमद्वारा प्रतिक्रिया समेत लिइने एसपी रजौरेले बताए।
उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको भदौ महिनामा लागु औषध नियन्त्रणका क्रममा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ। बुधबार कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्रलाल श्रेष्ठलाई भदौ महिनामा लागुऔषध नियन्त्रणका क्रममा उल्लेखनीय कार्य गरेकोमा सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको हो।
श्रेष्ठलाई १ हजार ५०० पुरस्कार राशीसहित प्रमाणपत्र प्रदान गरिएको हो। उक्त पुरस्कार ‘उत्कृष्ट कर्मचारी पुरस्कार निर्देशिका’ अनुसार विभागीय रुपमा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।
निर्देशिकामा आफ्नो कार्य सम्पादन अनुसार प्रहरी कर्मचारीले विभागी पुरस्कारका लागि दावी गर्नुपर्ने व्यवस्था छ। कर्मचारीले गरेको दावी अनुसार सम्बन्धित समितिले मुल्याङ्कन गरी पुरस्कृत गरिने उनले बताए ।
यस्तै, अर्को महिनाबाट उत्कृष्ट कार्य गर्ने प्रहरी युनिटलाई समेत पुरस्कृत गर्ने व्यवस्था गरिएको चौधरीले जानकारी दिए।