येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा ‘जीवित देवी’ कुमारी रथयात्राबाट फर्किंदा कुमारीघर अगाडि ‘दसअवतार’ प्रदर्शन भइरहेको हुन्छ।
यः सिं (लिंगो) ठड्याएदेखि नै कुमारी घर सामुन्ने त्रिलोकेश्वर डबलीमा राति दसअवतार प्रदर्शन गर्ने चलन छ। ‘दसअवतार’ मा नारायणका दस अवतारको दृश्य प्रस्तुत गरिन्छ।
यसमा कलाकारहरू मूर्तिप्रायः बनेर अचल भाउभंगीमा बस्छन्। उनीहरूले मत्स्य, कच्छप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की प्रदर्शन गर्छन्।
सत्य युगअघिको कथा भन्ने यो प्रदर्शन यसपालि अघिल्ला दुई दिनको रथयात्रा क्रममा कुमारी देवीले देख्न पाएकी थिइनन्।
कलाकारहरूलाई पैसा नपुगेको भन्दै विवाद भएपछि यस वर्ष यो परम्परागत प्रदर्शनीले सधैंझैं निरन्तरता पाउन नसकेको हो।
दसअवतार मात्र होइन, काठमाडौंकै सबभन्दा ठूलो र सबभन्दा भव्य यो पर्वमा देखाइने अन्य परम्परागत नाच पनि आर्थिक समस्याले प्रभावित हुँदै आएका छन्।
यो यसपालिको समस्या मात्र होइन। परम्परागत संस्कृति प्रवर्द्धनमा राज्यले खासै ध्यान नदिँदा यस्ता जात्रा र चाडपर्व क्रमशः लोप हुँदै जाने समस्या छ।
हामीकहाँ सर्वसाधारणदेखि नीति–निर्मातामा संस्कृति र सभ्यताको चेत कम छ। सधैं आफ्नै आँखाअगाडि भइरहने जात्रा, पर्वलाई राज्यले सहयोग नगर्ने हो भने आधुनिकताको आवरणमा परम्परागत स्वाद लुप्त हुँदै जान्छ भन्ने थुप्रै उदाहरण छन्। काठमाडौंको यो उत्सव यही चुनौती झेल्दैछ।
येँयामा विभिन्न नाच प्रदर्शन हुन्छन्। त्यसका लागि सरकार र नगरपालिकाले बजेट निकासा गर्छ। त्यो बजेट पर्याप्त नहुने जात्रा आयोजनामा संलग्न गुठीका सदस्यहरू बताउँछन्।
दसअवतारकै उदाहरण लिउँ।
द्वादशीको दिन यः सिं ठड्याएर येँया सुरु भएलगतै दसअवतार देखाइन्छ। यो वर्ष प्रदर्शन नहुने हल्ला भए पनि द्वादशीको दिन प्रदर्शन गरियो। भोलिपल्ट पनि देखाइयो। त्यसपछि तीन दिन बन्द भयो, जबकि त्यही बेला कुमारी रथयात्रा पर्थ्यो। रथयात्रा सकेर घर फर्कने बेला कुमारीले दसअवतार हेर्नुपर्थ्यो।
राज्यबाट आउने पैसा सिधै कलाकारले पाउँदैनन्। पहिला ठेकेदारको हात पर्छ। ठेकेदारले नै कलाकार र व्यवस्थापनकलाई बाँड्ने गर्छ।
‘कलाकारलाई खाजा खुवाउने पैसाधरि हुन्न। कसरी देखाउनु दसअवतार,’ व्यवस्थापक राजन शाहीले मलिन हुँदै भने, ‘परम्परा जोगाउने भनेर केही दिन त देखाएकै हौं। आफ्नै टुंगो नभएपछि परम्परा भनेर नहुने रहेछ।’
तीन दिन रोकिएपछि भने ठेकेदारले कुरा मिलाए। दसअवतार फेरि प्रदर्शनमा आयो। येँयाको अन्तिम दिन शुक्रबार कुमारीले तल्लो टोल (नानिचाया) मा रथयात्रा गरेपछि दसअवतार हेर्न पाइन्।
‘योपालि त जेनतेन चलायौं, यस्तै ताल हो भने अर्को वर्ष दसअवतार देखाउन सकिन्न,’ राजनले भने, ‘यो प्रदर्शनको सीप र ज्ञान हामीलाई मात्र छ। हामीले नदेखाउने र राज्यको यही रबैया हुने हो भने लोप भएर जानेछ।’
दसअवतारजस्तै अन्य नाचलाई पनि यस्तै समस्याले गिँजोल्दैछ।
देवी नाच (दी प्याखं) त्यसैमध्ये एक हो। यो नाच प्रदर्शन गर्ने समितिका प्रतिनिधिले आइतबार ‘विचार गोष्ठी’ नै गरेर आफ्ना विभिन्न समस्या सुनाए। कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीदेखि काठमाडौंका मेयर, उपमेयर लगायत उपस्थित थिए।
यो नाच डबलीमा मात्रै देखाइन्छ। काठमाडौंका सात डबली यही नाचका लागि बनाइएका छन्। तीमध्ये धेरै त अतिक्रमणमा परिसके। यसैले सडकमै देखाउनुपर्ने बाध्यता छ।
यसबाहेक अन्य समस्या पनि छन्, जुन समितिका प्रतिनिधिले कार्यक्रममा सुनाए।
‘हामीले वर्षभरिमा चारपटक देवी प्याखःका लागि नासः द्यको पूजा गर्नुपर्छ। त्यसका लागि पैसाको आवश्यकता हुन्छ। कलाकारका लागि त परै जाओस्, पूजाकै लागि पनि पैसा जुटाउन मुश्किल छ,’ समितिका सदस्य नरेन्द्र महर्जनले भने, ‘नगरपालिकाबाट पुग्दो पैसा पठाएको भनिन्छ, तर त्यो हाम्रो हातमा पर्दैन। हाम्रो हातमै नआउने पैसा बरु नपठाए हुन्छ।’
येयाँमै मात्र देखाइने देवी नाच किलागलबाट प्रदर्शनमा आउँछ। सात डबलीमा प्रदर्शन हुने यो नाचमा सातको संयोग हुन्छ। सात देवदेवी, सात नाइके, सात गीत, सात बाजा र सात ताल। नाचको समय पनि सातै घन्टा हुन्छ।
देवी नाच प्रदर्शन गर्ने यो समिति एउटै मात्र हो। यसको न आगम छेँ (घर) छ, न त गुठी। प्रत्येक नाचका आफ्नै गुठी एवं आगम छेँ हुन्छन्। यो नाचको छैन। यस्ता आगम छेँ र गुठी नाच जोगाउन सुरक्षित स्थल बन्छन्। आगम छेँ नै नभएपछि नाच भविष्यका पुस्तासम्म पुर्याउनै मुश्किल भएको महर्जनले बताए।
संस्कृतिविद् सत्यमोहन जोशीले यसैलाई जोड दिँदै भने, ‘गुठी र आगम छेँले संस्कृति जोगाउन ठूलो भुमिका निर्वाह गरेको छ। यिनीहरू नै नभएका भए हामीले देख्दै आएका धेरै नाच र परम्परा लोप भइसकेका हुन्थे।’
देवी नाच प्रदर्शन हुने किलागलबाटै इन्द्रको सेतो हात्तीको प्रतिरूप पुलुकिसी निस्कन्छ। पुलुकिसीको लुगा नै सात हजार पर्छ। कहिले त्यो जल्छ। कहिले फोहोर हुन्छ। साताव्यापी पर्वमा लुगाकै लागि आर्थिक अभाव हुन्छ। दिनभरि पुलुकिसी बनेर नाचमा सहभागी हुने व्यक्तिलाई पारिश्रमिक त कता हो कता!
‘विभिन्न टोलले हाम्रोमा पनि पुलुकिसी ल्याउन पर्यो भनेर निमन्त्रणा दिन्छन्। त्यसैबाट जेनतेन परम्परा धानिएको छ,’ नाच सञ्चालक समितिका चन्द्रमान महर्जनले भने।
येँयामा हामीले देख्दै आएका नाचमध्ये कति समयक्रममा थपिएका छन्।
महाकाली नाच भक्तपुरदेखि राणाकालीन समयमा ल्याइयो। सभा भकुः हलचोकदेखि आउँछन्। यी नाचले मनोरञ्जन मात्रै होइन, दुई भिन्न सहरलाई जोडेका पनि छन्।
भक्तपुरदेखि आउने महाकाली नाचको समूह पहिले ६ वटा थिए। हाल चारमा सीमित छन्।
पुरातत्व विभागमा दर्ता भएको यो नाचलाई सरकारले ३८ हजार दिन्छ। साताव्यापी जात्रामा खाँदा–बस्दा नै एक लाख खर्च हुने मुस्याखः समूहका रामगोपाल सुलुजु बताउँछन्।
‘हामी टोलटोलमा नाच देखाएर इन्द्रजात्राको बाँकी खर्च जुटाउँछौ। त्योबाहेक वर्षभरि विभिन्न देशमा नाच देखाएर आम्दानी हुन्छ,’ उनले भने, ‘यो सबैमा सम्भव हुँदैन। सरकारी निकायबाटै जात्रा प्रबर्द्धनमा जोड नदिने हो भने महाकालीका दुई समूहझैं अन्य नाचका समूह पनि हराएर जान्छन्।’
काठमाडौं उपत्यकाको सहरी संरचना निर्माण गर्दा हाम्रा पुर्खाले विचार पुर्याएका छन्। यहाँका हरेक डबली र चोकको अर्थ छ। हामीले हेर्ने नाच यही चोक र डबलीमा देखाइनुपर्छ। सरकारले नै त्यसका लागि उचित आयस्रोत सिर्जना गर्नुपर्छ। नभए कति दिनसम्म टोलटोलमा नाचेर बाँकी खर्च जुटाउनु?
झन् देवी नाच त डबलीमा मात्रै देखाइन्छ। यसैले आर्थिक स्रोत सरकारी निकाय नै हो। यसको डबलीसमेत अतिक्रमणमा परेर बाटैमा देखाउने अवस्था छ। न पैसा, न डबली, न आगम घर!
गुठी प्रणालीको सरकारीकरण र गुठी संस्कृतिमा राज्य र गैरगुठी संस्कृतिका व्यक्तिको नेतृत्व हुनुले पनि हाम्रो पर्व मासिँदै गएको संस्कृतिविद् पदमसुन्दर जोशी बताउँछन्।
‘मान्छेले सास्ती गरेरे रथ तान्नुको साटो क्रेनले तान्नु, जात्रा व्यवस्थापनमा हुने खर्च फजुल हो भन्नु संस्कृतिप्रति सरकारी निकाय संवेदनहीन हुनु हो,’ उनले भने।
सरकारी निकायको यही संवेदनहीनताको उत्कर्ष यो वर्ष भक्तपुरको नालादेखि यःसिं ल्याउँदा पनि देखियो। भोटाहिटीबाट अष्टमीको साइत पारेर यःसिं हनुमानढोकासम्म ल्याइछ। यही बेला नगरपालिकाले धमाधम बाटो बनाइरहेको थियो। त्यो दिन यःसिंलाई नगर प्रवेश गराउन निकै सास्ती भएको सहभागीहरू बताउँछन्।
द्वादशीको दिन यःसिं ठड्याएर ध्वजोत्थान गरेपछि आधिकारिक रूपमा येँया सुरु हुन्छ। त्यसको एकदिनअघि एकादशीमा ‘च्वास्वंद्व’ मानन्धरहरूले डोरी बान्छन्। यसलाई तलैदेखि फुकाल्न मिल्ने विधि अपनाइएको हुन्छ।
त्यो विधि हेर्ने उत्सुकताले म हनुमानढोका पुगेको थिएँ। ३ बजे भनेको काम दुई घन्टा घर्कियो। यःसिंलाई केही उचाइमा उठाएर डोरी बाँधिन्छ। गुठीबाट त्यसलाई उठाउन काठ आउँछ। हामी त्यसैको प्रतीक्षामा थियौं।
‘यस्तै पारा हो भने हामी उनीहरूसँग मिलेर काम गर्न सक्दैनौं,’ केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्रमान मानन्धर घरिघरि झोँकिन्थे। फोन गरेर बोलाउँथे।
यी सबै अपठ्याराबीच काठमाडौंका तीन दर्जनभन्दा बढी गुठीले जेनतेन येँया, अर्थात् इन्द्रजात्रा धान्दै आएका छन्। उनीहरूलाई राज्यको खासै सहायता छैन। यसलाई व्यवस्थित नगर्ने हो भने आउँदो पिँढीले जात्राका धेरै रमाइला पाटाबाट वञ्चित हुनुपर्नेछ।
‘संस्कृति र जात्रापर्व भनेको करोडौं खर्च गरेर पनि फेरि आउँदैन। यसलाई जोगाउन र व्यवस्थित गर्न करोडौं खर्च गर्न पनि सरकार तयार हुनुपर्छ,’ संस्कृति तथा सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने।
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः