वर्षा सकिएर हिउँद लाग्दै थियो। पाल्पा दोभानका लालबहादुर गुरुङको परिवार त्यस वर्षको बाढी र पहिरोबाट पार पाएको महशुस गर्दै दसैं मनाउने योजना बनाउँदै थियो।
परिस्थिति उल्टो बनिदियो।
राति सुत्दा ५३ रोपनी खेतका मालिक रहेको गुरुङ परिवार बिहानको उज्यालोसँगै सुकुम्बासी बन्यो।
एकै रातको पानी र बाढीले गुरुङ परिवारको मात्र होइन, पाल्पाको दोभान क्षेत्रका दर्जनौ परिवारको सयौं बिगाह जग्गा, सयौं पशुचौपाया र दुई दर्जनभन्दा बढी मानिस निलिदियो।
२०३८ सालको घटना हो यो।
असोज १२ गते साँझैदेखि पानी पर्न थालेको थियो। रातभरिको मुसलधारे वर्षासँगै झुम्सा र दोभान खोलाले १३ गते बिहान नहुँदै ताण्डव देखाइसकेको थियो।
ठाडो गरी बेगले बग्ने झुम्सा खोलाले पहिरो बगाएर ल्यायो। पहिरोले थुनिएर दोभान गाउँ ताल बन्यो। सिद्धार्थ राजमार्गदेखि तल नदी किनारको खुर्साने, जमुने, दोनको खेत पानीसँगै बग्न थाल्यो। नदीदेखि केही माथिको बस्ती पनि डुबानमा पर्यो।
लालबहादुरको परिवार तल्लो दोभानको घरमा बस्थ्यो। जमुनेको खेती, बाख्रा, भैंसी र गोरुको रेखदेख कुलबहादुर खत्रीको परिवारले गर्थ्यो। कुलबहादुर परिवारका ६ जना सदस्यसँगै खेतमै रहेको घर र गोठमा बस्थे।
जमुनेको खेत डुबेको चाल पाएर होला, लालबहादुर बिहानै दौडे। उनको खेत जलमग्न थियो। बाढीले धानको बालासहित खेत बगाउँदै थियो।
लालबहादुरका साइला छोरा दलबहादुर ८ वर्षका थिए। उनको आँखैअगाडि ५३ रोपनी खेत दोभान खोलाले बगाइदियो। खेतको रेखदेख गर्ने कुलबहादुरको सात जनाको परिवार, ५२ वटा बाख्रा, दुईहल गोरु र दुईवटा भैंसी पनि खेतसँगै दोभान हुँदै तिनाउमा मिसिइसकेका थिए।
३७ वर्षअघिको त्यो कहालीलाग्दो घटना सम्झिँदा दलबहादुरलाई अझै पनि पीडा हुन्छ। उनी भावुक बन्छन्।
'एउटै घटनाले कति परिवर्तन गरिदियो, १ सय मुरी धान फल्ने खेतको मालिकबाट सुकुम्बासी बनाइदियो,' उनले सेतोपाटीसँग भने।
असोज १३ को उक्त बाढीले दलबहादुरको मात्र होइन, दोभानका दर्जनौं परिवारको सयौं रोपनी खेत बगायो। त्यस दिन बाढीको कहरले २९ जनाको ज्यान गएको दलबहादुर सम्झन्छन्।
'तिनाउले हाम्रो खेत बगायो, तर हाम्रो दु:खको आँशु बगाउन सकेन। श्रीसम्पत्ति बगायो, तर मन बगाउन सकेन। जाँगर बगाउन सकेन। सबै सम्पत्ति तिनाउमा मिसिएपछि जेठा र माहिला दाजु दिल्लीतिर हानिए। साहुकहाँ रोटी बेलिएझैं बेलिए। आमाबाले पाखुरी बजारे हाम्रो जीवन चलाउन। त्यस दिनले नयाँ मोड दियो। बाटो बदलिदियो। हिम्मत बढाउन सिकाइदियो,' दलबहादुरले भने।
पढाइमा तीक्ष्ण दलबहादुरको स्कुल जाने बाटोसमेत बन्द गरिदिएको थियो, बाढीले। लालबहादुरमा छोराछोरी पढाउनुपर्छ भन्ने चेत थियो। दुई छोरा विदेशिए पनि अरूलाई पढाए।
दलबहादुर दिनभर बाख्रा चराउँथे। केराबारीका होटलमा लगेर कुखुरा बेच्थे। राति बुटवलको ज्ञानोदय रात्रि माविमा पढ्थे। स्कुलबाट सिद्धबाबाको बाटो हुँदै पैदलै घर पुग्दा रातको १२ बज्थ्यो।
यता दोभान हुँदै तिनाउमा मिसिएको भेलको प्रभाव बुटवल बजारमा पनि परिरहेको थियो।
त्यस वर्ष तिनाउ नदीको बाढी सम्झिँदै बुटवलका पूर्व उपप्रमुख विमलबहादुर शाक्य भन्छन्, '०२७ सालपछि त्यति बेला तिनाउमा ठूलो बाढी आएको थियो। पहिरोले थुनिएको दोभान फुटेपछि पुल्चोकदेखि अमरपथको अहिलेको प्रहरी बिटसम्म बाढीले बगाएर ल्याएको बालुवाले भरिएको थियो। त्यति बेलाजस्तो ठूलो बाढी त्यसपछि तिनाउमा आएको छैन।'
बुटवलमा त्यति ठूलो मानवीय क्षति नभए पनि पछिल्लो समय तिनाउमा आएको बाढीले तिनाउ किनारका दर्जनौं घर बगेको उनी बताउँछन्।
तिनाउमा २०१८ सालदेखि हरेक ७/८ वर्षको अन्तरालमा ठूलो बाढी आउने गरेको छ। तर, ०२७ र ०३८ सालजस्तो ठूलो कहिल्यै नआएको उनी सम्झिन्छन्।
यहाँ २०१८ सालपछि ०२७, ०३६, ०३८, ०५०, ०५९, ०६४ र ०७३ सालमा ठूलो बाढी आएको पाइन्छ। विभिन्न समयमा आएको बाढीले ७० जनाभन्दा बढीको ज्यान लिएको बुटवल उपमहानगरपालिका-११ का वडाध्यक्ष रामचन्द्र क्षत्री बताउँछन्।
बुटवलमा ६ दशकभन्दा बढी समय बिताएका रवीन्द्र गोपाल लाकौलका अनुसार सुरुका बाढीले नदीक्षेत्रको जमिन कटानबाट क्षति गर्ने गरेको थियो। ०५० सालपछि आएका बाढीले भने अरू भौतिक र मानवीय क्षति पुर्यायो। ०३६ सालको बाढीले पुल्चोकनजिकै १ सय ५० घर रहेको ‘दाउरे टोल’ पूरै बगाएको थियो।
'तिनाउबाट हुने क्षति जोगाउने हो भने नदी किनारमा रहेको सुकुम्बासी बस्ती पूरै हटाउनुपर्छ,' लाकौल भन्छन्, 'प्रकृतिलाई कसैले रोक्न सक्छ? प्रकृतिलाई चलाउन र रोक्न खोजियो भने उसले ताण्डव देखाउँछ।'
बुटवलदेखि तिलोत्तमासम्मको तिनाउ नदीको बहाव क्षेत्रमा ४ हजारभन्दा बढी घरटहरा बनेका छन्। तिनाउ पुलमाथि कन्ये ढुंगादेखि पुलमुनिको काँडेघारी बस्तीसँगै बुद्धनगर, टपमजुवा, सुन्दरनगर, बिनापाते, प्रगतिनगर, हात्तीसुँड र तिलोत्तमाको सिमानगर सम्मका बस्ती तिनाउको बहाव क्षेत्र छेकेर बनेका छन्।
बुटवल उपमहानगरपालिकाले भने बस्तीलाई बाढीबाट हुन सक्ने जोखिमबाट सुरक्षित गरी अन्यत्र लैजानुको साटो त्यही बस्तीमा बाटो, खानेपानी र विद्युत विस्तार गर्दै वैधानिकता दिँदै आएको छ ।
वडा नम्बर ११ का अध्यक्ष क्षत्री तिनाउ किनारमा ठूलो बस्ती बनेकाले वैकल्पिक व्यवस्थापन नगरी हटाउने अवस्था नरहेको बताउँछन्।
बर्सेनि आउने बाढीले बनाउने नदी उकास क्षेत्रमा हरेक वर्ष टहरा थपिँदै गएका छन्। वडाध्यक्ष क्षत्रीका अनुसार तिनाउ र दानव नदी किनारमा ८ हजारभन्दा बढी घरटहरा अव्यवस्थित रूपमा रहेका छन्। तीमध्ये ५० प्रतिशत नदीको बहाव नै छेकेर बनेका छन्।
तिनाउमा आउने सबैजसो बाढीको क्षति नजिकबाट देखेका लाकौल ०३६ र ०३८ सालको जस्तो बाढी फेरि तिनाउमा आए त्यसले पार्ने क्षति कल्पना गर्न नसकिने बताउँछन्।
‘त्यति बेला बाढी ठूलो आउने गरे पनि फराकिलो भएर बग्थ्यो। नदी गहिरिएको थिएन। अहिले नदी गहिरिएसँगै पानी बग्ने क्षेत्र साँघुरिएको छ। नदि जति साँघुरो र गहिरो हुँदै जान्छ, त्यसको वेग बढ्दै जान्छ। वेगसँग बग्ने नदीले पार्ने क्षति पनि ठूलो हुन्छ,’ उनले भने।
पाल्पाका विभिन्न खोला, खोल्साखाल्सी र मूलबाट आएको पानी तिनाउमा मिसिन्छ। तिनाउमा अत्यधिक ठूलो बाढी आउँदा चार हजार क्युबिक मिटर पानी प्रतिसेकेन्ड बग्छ। यो पानी बग्न तिनाउको बहाव क्षेत्र २ सय ३७ मिटर हुनुपर्ने २०५१ सालमा जापान सहयोग नियोग जाइकाले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। अहिले तिनाउको कतिपय क्षेत्रमा ७० मिटरसम्म वहाव क्षेत्र साँघुरिएको छ।
२०५० सालपछि तिनाउको उत्खननसँगै विनाश सुरु भएको जानकार बताउँछन्। त्यही विनाश नियन्त्रण गर्न जनताको तटबन्ध कार्यक्रम सुरु गरिए पनि हरेक वर्षको बाढीले भत्काउँदै जाँदा त्यसको प्रभावकारिता देखिन सकेको छैन।
२०६७ सालदेखि सुरु जनताको तटबन्ध कार्यक्रममा हालसम्म झन्डै ७५ करोड खर्च भइसकेको छ। तिनाउ र दानव नदीको वारिपारि १ सय किलोमिटर र कञ्चन नदीको ४५ किलोमिटर क्षेत्रमा तटबन्धका लागि ३ अर्ब २ करोड बजेट लाग्ने लामो समय जनताको तटबन्ध कार्यक्रममा संलग्न इञ्जिनियर नेत्र बोहोरा बताउँछन्।
नदीको बहाव क्षेत्र छेकेर बसेको बस्ती नहटाई तटबन्ध लगाउँदा ढुंगासहितको पहिरो बगाएर ल्याउने बाढीले तटबन्धसमेत बगाउने गरेको छ।