एउटा पालिकाबाट अर्को पालिकासँग सिधै यातायातको पहुँच पुर्याउने उद्देश्यले रुपन्देहीका स्थानीय तहहरूले अन्तरपालिका यातायात सेवा सञ्चालनको अवधारण अगाडि बढाएका छन्।
यातायातको सहज सेवा नभएका स्थानीय तहका सेवाग्राही, विद्यार्थी, शिक्षक, कर्मचारी तथा पर्यटकलाई समेत लक्षित गरी सुविधासम्पन्न सवारी साधन सञ्चालन गर्ने लक्ष्यसहित अन्तरपालिका सार्वजनिक यातायातको अवधारणा अघि सारिएको हो।
बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक र सैनामैना नगरपालिका तथा मायादेवी, गैडहवा, कञ्चन र सियारी गाउँपालिकासहित नौ वटा स्थानीय तह अन्तरपालिका यातायात सेवामा जोडिने छन्।
सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिने यातायात सेवा सञ्चालनको लागि सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरी विभिन्न निजी क्षेत्रसँग छलफल सुरू गरिएको छ।
‘जिल्लाका सहरी क्षेत्रमा र सुगम पालिकाहरूमा आएका पर्यटकलाई ग्रामीण क्षेत्रका पालिकाहरूमा सहज रूपमा पुर्याउन सकियोस् भनेर यस्तो अवधारणा अगाडि बढाएका हौं,’ संयोजक कार्कीले भने।
आफ्नो अवधारणामा निजी क्षेत्रले पनि तदारूपता देखाएको उनले बताए।
‘हामीले ल्याएको अवधारणामा निजी क्षेत्र सहयोग गर्न सकारात्मक छ असोज महिना भित्र एक/दुई चरणको छलफलपछि कसरी जाने भन्ने विषय टुंग्याउँछौं,’ उनले सेतोपाटीलाई बताए।
स्थानीय तहहरूमा अहिले रहेका मुख्य सडकहरूबाट एकअर्को पालिकामा जोड्ने गरी सञ्चालन गरिने अन्तरपालिका सडकको लम्बाइ ८० किलोमिटरको हुनेछ। तर, लुम्बिनीको महत्वसँग जोडिएको गौतमबुद्धको मावली क्षेत्र र दर्जनौं पुरातात्विक तथा पर्यटकीय क्षेत्रहरू रहेको देवदहलाई कसरी समेट्ने भन्ने विषयमा पनि छलफल भइरहेको संयोजक कार्कीले बताए।
‘देवदहलाई जोडेर लैजाँदा तिलोत्तमा नगरपालिका बीचमा परेकोले छुट्न सक्छ त्यसैले अझै पनि कसरी धेरैभन्दा धेरै स्थानीय तहलाई जोडेर अगाडि बढाउन सकिन्छ भनेर छलफल भइरहेको छ, हामी निजी क्षेत्र र विभिन्न विज्ञहरूसँगै पालिकाहरूसँग छलफल मै छौं,’ कार्कीले भने।
सबै क्षेत्रसँग छलफल गरी आएको सुझावको आधारमा यो वर्षभित्र सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए।
पश्चिममा सैनामैनाबाट सुरू भएको सडक कञ्चन, गैंडहवा, सियारी हुँदै लुम्बिनी पुग्नेछ। लुम्बिनीबाट फेरि मायादेवी, सिद्धार्थनगर, तिलोत्तमा, बुटवल हुँदै सैनामैना जोडिने छ ।
गोलाकार सडक भएकाले यसलाई अन्तरपालिका रिङरोड नामाकरण गरिने संयोजक कार्कीले बताए। अन्तरपालिका यातायात सञ्चालनको लागि आवश्यक झण्डै ९५ प्रतिशत सडक यसअघि नै बनिसकेकोले सडक निर्माणमा खासै समस्या नहुने समितिले जनाएको छ।
रिङरोडलाई जोड्ने बाँकी रहेको ५ प्रतिशत सडक आफ्नो क्षेत्रमा पर्ने स्थानीय तह आफैंले निर्माण गर्ने सहमति भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
यो सडक आन्तरिक पर्यटकलाई लुम्बिनी पुर्याउन र लुम्बिनी आएका पर्यटकलाई यहाँका पर्यटकीय क्षेत्रमा ल्याउन पनि धेरै उपयोगी हुने घिमिरेले दाबी गरे।
‘स्थानीय उपभोक्ता तथा सेवाग्राहीलाई त सहज हुने नै छ, त्योसँगै आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पनि अन्तरपालिका यातायात सेवाले फाइदा पुग्ने विश्वास लिएका छौं,’ उनले भने।
पहिलो चरणमा करिब ५० करोडको लागतमा धेरै सिट क्षमताका सुविधासम्पन्न ४८ वटा वातावरणनुकूलित बस सञ्चालन गर्ने योजना समितिको छ। अन्तरपालिका यातायात सञ्चालनलाई पर्यटन प्रवर्द्धन र कृषि उपजको बजारीकरणसँग समेत जोडिने बताइएको छ ।
ग्रामीण क्षेत्रका सडकमा स्तरीय र आधुनिक बस सञ्चालन गर्न सके ग्रामीण क्षेत्रबाट बुटवलमा व्यवसाय, रोजगारी तथा अध्ययनको लागि आउनेहरूलाई आवतजावतमा सघाउ पुग्ने समितिले विश्वास लिएको छ ।