सुरक्षा चुनौती रहेको झापामा प्रहरीले दसैं-तिहार विषेध सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यलय झापाले आइतबार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन आयोजना गरी सर्वसाधरणको जीउधनको सुरक्षाका लागि सुरक्षा योजनाबारे जानकारी दिएको हो।
खुल्ला सीमाका कारण चोरी, तस्करी, अपरहण, बलात्कार, हत्या, डकैतजस्ता घटनामा गुनासो आइरहेकाले विशेष सुरक्षा योजना ल्याइएको झापा प्रहरीले जनाएको छ।
चाडपर्व नजिकिएसँगै सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दे झापा प्रहरीले जिल्लाका मातहतका सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिएको छ। प्रहरी उपरीक्षक भीम ढकालले भने, ‘प्रदेश सरकारले उपलब्ध गराएको सुरक्षा योजनाका अनुरुपको बन्दाबस्त मिलाउन प्रहरीले आफ्नो काम सुरु गरेको छ।’
सुरक्षा योजना अनुसार प्रहरीले पैदल, साइकल, मोटरसाइकल, चारपांग्रे सवारी तथा अन्य ठूला सवारीसाधन साधनबाट चौबिसै घन्टा गस्ती गर्नेछ। उनले भने, ‘त्यसमा सादा पोसाकका पनि प्रहरीको छुट्टै गस्ती हुनेछ ।’ यो सुरक्षा योजनाका लागि झापामा ८३७ जना प्रहरी परिचालन गरिने उनले जानकारी दिए।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी गरगहनाका पसलमा विशेष निगरानी गरिने एसपी ढकालले बताए। सार्वजनिक यातायातको सहज आवगमन, पटाका तथा बिस्फोटक पदार्थको प्रयोग नियन्त्रण, जुवा–तास नियन्त्रण, चोरी तस्करीको अवैध निकासी र पैठारी नियन्त्रणमा प्रहरीले विशेष गस्ती गर्ने ढकालले बताए।
प्रहरी उपरीक्षक ढकालले रिजर्भ, स्कर्टिङ अनुगमन गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्तीलगायतमार्फत राजमार्ग तथा सहायक मार्गमा २४ सै घन्टा गस्ती गर्ने बताए।