झापामा ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सोमबारदेखि सुरू भएको छ। झापा प्रहरीले मातहतका ६९ प्रहरी युनिटबाट एकै साथ सुरू गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले यो कार्यक्रमका लागि ६९ युनिटबाट प्रहरी खटिने जानकारी दिए।
‘पीडितमैत्री कार्यक्रममार्फत प्रहरी–नागरिक सम्बन्ध जोड्न खोजिएको हो,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘अब पीडित दिनहुँ प्रहरीको कार्यालयमा गएर आफ्नो काम के भइरहेको छ भनेर बुझ्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।’
पीडितले आफूलाई परेको समस्याका बारेमा निवेदन वा जाहेरी दिएपछि उक्त निवेदनउपर के प्रगति भयो, प्रहरीले नागरिकले चाहेको जस्तो काम गर्यो कि गरेन? पीडकलाई कारबाही भयो भएन भन्ने जिज्ञासाको समाधान ‘पीडितको साथी प्रहरीले’ले गर्नेछ। ‘प्रहरीसँग सबै सर्वसाधरण खुलेर बोल्न चाहँदैनन् र उनीहरूको समस्या के हो भन्नेबारेमा सबै कुरा प्रहरीलाई आउँदैन,’ ढकालले भने, ‘अब पीडित प्रहरी कार्यलयमा आइपुग्नेवित्तिकैदेखि मुद्दा किनारा नलागुन्जेल उनको साथी प्रहरीले सबै काम गर्ने छ।’
प्रहरीले दुःख दिएको वा गुनासो सुनवाई नगरेको भन्ने बारम्बारको जनगुनासो अब झापामा नभेटिने उनले बताए। प्रहरीको जनविश्वास घट्दै गइरहेका बेला पीडितकै लागि भने ल्याइएको यो कार्यक्रम झापामा फलदायी हुने विश्वास गरिएको छ।
प्रहरी उपरीक्षक ढकालले झापा प्रहरीलाई नमूना प्रहरी बनाउने अभियान अन्तर्गत ‘पीडितमैत्री’ कार्यक्रम सुरू भएको बताए। पीडितले अब घरैमा बसीबसी आफ्नो निवेदनउपर भएका कारबाहीबारे फोनमार्फत थाहा पाउने छन्। प्रहरीमा निवेदन परेपछि अनुसन्धान सुरु भएको, पीडक पक्राउ परेको, पीडितको पक्षमा प्रमाण जुटाएको, देख्ने जान्ने साक्षी जुटाएको, पीडकको बयान लिएको, पीडकलाई अदालत पुर्याएको, तारेखमा छाडेको वा अथ अनुसन्धानका लागि थुनामा राख्नुपरेको लगायतका विषय ‘पीडितको साथी’ले पीडितलाई दिने छ। हाल झापामा २८१ वटा विभिन्न प्रकृतिका अपराधको जाहेरी दरखास्त परेको छ। १८६५ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा छन्।