होस् खुल्दा एेया-आत्था बर्बराइरहेकी हुन्छिन्।
दुख्यो-दुख्यो। कहाँ दुख्यो खुट्याउन नसकिएको वसन्ती परियारको आवाज।
जता जे दुखे पनि के गर्नु! हल्का चोट लागेको भए पो! श्रीमान यमनारायण हात-खुट्टा सुमसुम्याइदिन्छन्। एक छिनपछि गुनगुन आवाज मलिन हुँदै जान्छ।
एउटा आँखा हल्का खोल्छिन्। एसिडले पिल्सिएको अर्को आँखा खुल्दैन।
गोरो, चम्किलो र चिल्ला गाला एसिडले डढेर काला भएका छन्। यमनारायण परियार वसन्तीको पहिलेको अनुहार सम्झिएर आँशु खसालिरहेका हुन्छन्।
आठ दिनअघि घरबाट सग्लो निस्किएकी पहिलेकी ती वसन्तीको अनुहार आँखामा झल्झल्ती आउँछ। उज्यालो अनुहारमा कालो दाग देखेर यमनारायण बिरक्त हुन्छन्।
घरिघरि बेडमा पुग्छन्। यमनारायणको निद्रा-भोक हराएको छ। आफ्नी जीवनसंगिनीको स्वास्थ्य अवस्था बुझ्दै राति अस्पतालकै एक कुनामा पल्टिन्छन्। कतिपटक त एकान्तमा निस्किएर एकोहोरो बन्छन्।
वसन्तीको बोलीले झसंग पार्छ, ‘बाबा एकछिनमा आइहाल्छु है।’
असोज ८ गतेको त्यो साँझ। घाम डुबिसकेपछि जब वसन्ती तरकारी किन्न आफ्नी बहिनी सञ्जुलाई साथ लिएर डन्डाबजार निस्किएकी थिइन्।
घरबाट मीठो बोलेर निस्किएकी वसन्तीलाई एक घन्टापछि यमनारायणले अस्पतालमा देखेका थिए। मध्यबिन्दु अस्पतालको आकस्मिक कक्षमा वसन्ती आँखा चिम्लिएर ढलेकी थिइन्। छुरा घोपिएको कोखा र पेटबाट निस्किएको रगतले कपडा लतपतिएका थिए। एसिड पोखिएको वसन्तीको अनुहार विस्तारै बदलिँदै गएको थियो।
घरबाट तरकारी किन्न निस्किएकी वसन्तीलाई त्यस्तो अवस्थामा देख्दा यमनारायणले केही समय त सोच्ने शक्ति नै गुमाएका थिए।
नवलपरासी कावोसोती नगरपालिका-१६ का यमनारायण वसन्तीको यो हालत गराउने व्यक्ति सम्झेर क्रुद्ध बने।
‘त्यस्तो मान्छेलाई त फाँसीको सजाय दिनुपर्ने हो,’ टिचिङ अस्पताल परिसरमा मंगलबार यमनारायण गर्जिए, ‘तर, हाम्रो देशको नियम-कानुन कमजोर, के गर्ने?’
एकातिर वसन्तीको यो हालत। अर्कातिर हुर्किँदै गरेका कोपिला। आफैं सम्हालिन नसकिरहेको बेला आमा र दाजू-भाउजूको साथमा छोडेका कलिला दुई छोराछोरीको याद आउँछ। यमनारायण आफूलाई कतैबाट चित्त बुझाउन सक्दैनन्।
‘वसन्तीको के दोष थियो र यस्तो हालत बनाएको?,’ हिरासतमा लिइसकिएका पीडक वसन्त श्रीपालीप्रतिमाथि आक्रोस पोख्दै यमनारायण भन्छन्, ‘माया गर्नेले यस्तो गर्न सक्छन्?’
चौध वर्षअघि बिहे गर्दा वसन्ती १४ वर्षकी थिइन्। यमनारायण २० वर्षका थिए। गाउँठाउँमै चिनापरिचित दुबैले कलिलो उमेरमै प्रेमको फूल रोपेका थिए।
बिहे गरेको एक वर्षमै वसन्तीले छोरी जन्माइन्।
दुःखजिलो जीवन जिइरहेको दलित परिवार खुसीसाथ बाँचिरहेको थियो।
स्वदेशमा कमाइको आधार थिएन। कलिली छोरीलाई वसन्तीको जिम्मा लगाएर यमनारायण एघार वर्षअघि पहिलोपल्ट साउदी हिँडे।
तीन वर्ष साउदी बसेर फर्के।
छोरी चार वर्ष पुग्दै थिइन्। अलिकति कमाइ, दाजु-भाइ, श्रीमती र लालाबाला एकै घरमा बस्न अप्ठ्यारो पर्दै गएपछि यमनारायण परिवारबाट छुट्टिएका थिए।
छुट्टिएर फेरि साउदी उडे। यसबीचमा वसन्तीले छोरा जन्माइन्। फेरि तीन वर्ष साउदी बसेर फर्किंदा छोरा टुकुटुकु हिँड्ने मात्र हैन, तोते बोली बोले बाबु खोज्न थालिसकेका थिए।
दुई सन्तानका बाबु बनेपछि यमनारायणलाई जिम्मेवारी थपियो। नेपाल बसौं हातमा सिप छैन, कमाइ–रोजगारी गतिलो छैन। उनी देश परिवर्तन गरेर दुबई छिरे। ९ महिना बसे। देश फेरे पनि कमाइ गतिलो थिएन। छोराछोरीको पालन–पोषण, शिक्षा र घर खर्च मात्रै बचाउँथे।
९ महिनापछि फर्केर मलेसिया जाँदा एक कठ्ठा जग्गामा घरबाहेक यमनारायणको केही थिएन। मलेसियामा १७ महिना बिताएर घर फर्किएको एक महिना मात्रै हुँदै थियो।
झन्डै ९ वर्षको वैदेशिक रोजगार क्रममा यमनारायण बिरामी परेका रहेछन्। सुगर देखियो। पायल्स देखियो। शारीरिक परीक्षण हुँदा कम्पनीले फिर्ता गराइदेला भन्ने पीर लागेर दुई महिनाअघि आफ्नो व्यथा वसन्तीलाई सुनाएका थिए।
वसन्तीले भनेकी थिइन्, ‘फर्किनु, जसोतसो गरेर दुई छाक खाऔंला नि!’
जीवन संगिनीको प्रेम मिसिएको त्यो अनुमतिबाट प्रभावित हुँदै यमनारायण स्वदेश फर्किए। ‘खाएर ३० हजारजति बच्थ्यो, त्यही पठाउँथेँ,’ यमनारायणले भने, ‘आफ्नै शरीर ठीक नभएपछि सल्लाहमै फर्किएको थिएँ।’
वसन्तीसँग दिनहुँ कुराकानी हुन्थ्यो- फोन, मेसेन्जरमा। त्यसबाहेक दायाँ-बायाँ केही नसोच्ने यी जोडीको उज्यालो जीवनमा असोज ८ गते अचानक बादल मडारियो।
यमनारायणका अनुसार पीडक वसन्त सोही ठाउँका व्यक्ति थिए। यमनारायण आफैंसँग पनि चिनजान थियो। भेट्दा हेल्लो–हाई हुन्थ्यो। ‘असोज ८ गते तरकारी किनेर फर्किँदा चुल्ठो समातेर एसिड खन्याएर चक्कु हानेछन्,’ यमनारायणले भने, ‘यस्तो घटना हुनेसम्मको दुश्मनी मैले केही देखेको थिइनँ, न बुझेकै।’
यमनारायण मलेसियाबाट फर्किएको एक महिनासम्म वसन्तीले केही भनेकी पनि थिइनन्। भन्नेगरीको सम्बन्ध पनि आफूले चाल नपाएको उनी बताउँछन्।
‘घटना भइसकेपछि मात्र वसन्तले बिहेको प्रस्ताव राख्ने गरेको सुनेँ, वसन्तीले हुँदैन भन्दै टारिदिने गरेकी रहिछन्,’ उनले भने, ‘एकपटक होस् खुल्दा वसन्तीले ‘मेरो केही गल्ती छैन’ भनेकी छिन्।’
वसन्तीप्रति यति विश्वास गर्ने आधार उनीहरूबीचको दाम्पत्य जीवन नै हो। छोराछोरी हुर्किइसक्दा वसन्ती आफैं जिम्मेवार बनिसकेकी थिइन्।
‘त्यस्तो केही हुँदो हो त वसन्तीले मलाई पहिल्यै छोडिसक्थिन् नि,’ यमनारायणले श्रीमतीमाथिको विश्वास व्यक्त गरे।
वैंशालु उमेर देखेर वसन्तीमाथि वसन्तले ‘आँखा गाडेका’ रहेछन्। ‘कलिलो उमेरदेखि दुई छोराछोरी भएर हुर्किँदासम्म वसन्तीले दायाँ–बायाँ गरेको चुइँक्क थाहा थिएन,’ यमनारायण भन्छन्, ‘आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका वसन्तले बदनियत राखेका रहेछन्।’
घटना घटिसकेपछि यमनारायणले केही कुरा थाहा पाएका छन्। वसन्तले ‘बिहे गरौं, नत्र तिम्रो परिवारै सिध्याइदिन्छु’ भन्थे रे। यो धम्कीलाई वसन्तीले ‘साधारण’ सम्झिइछन्। वसन्तीले आफूमाथि यत्रो जोखिमको पर्वाह गरेकी रहिनछिन्।
चितवनस्थित सरकारी अस्पतालमा उपचाररत् वसन्तीलाई सोमबार आफन्तकै आग्रहमा काठमाडौं ल्याइएको छ। महाराजगञ्ज, टिचिङको वर्न वार्डमा उपचाररत् वसन्ती जोखिममुक्त छिन्।
चितवनमै रहँदा उनको पेट, कोखाको अप्रेसन भइसकेको छ। उनको अनुहार, छाती तथा अन्य ठाउँमा एसिडले नराम्ररी आक्रमण गरेको छ। ‘बिरामीको अवस्था खतरामुक्त छ,’ वसन्तीको उपचारमा संलग्न एक चिकित्सकले भने, ‘एसिडबाट भएको घाउहरूमा प्लाष्टिक सर्जरी गर्ने तयारी हुँदैछ।’ अस्पतालका अनुसार उनको अनुहारको अप्रेसन बिहीबार–शुक्रबारसम्ममा हुन्छ।
चिकित्सकका अनुसार एसिडले खाएको वसन्तीको रुप बदल्न सम्भव छैन। ‘सकेसम्म हामी निको पार्न सक्छौं, तर एसिडले खाइसकेको शरीरलाई पुरानो अवस्थामा फर्काउन सम्भव छैन,’ ती डाक्टरले भने।
यमनारायणलाई यो थाहा छ। वसन्तीको पुरानो रुप फर्किंदैन। ‘वसन्ती बाँचेर पुनः आफ्नो जीवनमा फर्किऊन्, म उनको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको छु,’ यमनारायणले भने।
उनका अनुसार अहिले पहिलो प्राथमिकता वसन्तीको जीवन रक्षा हो। बाँकी जति पनि उपचार खर्च छ, त्यो जसोतसो व्यवस्थापन भइरहेको छ। आफन्त र साथीभाइबाट जुटाएर अहिलेसम्म वसन्तीको उपचारमा दुई लाख रुपैयाँजति खर्च गरिसकेको यमनारायणले बताए।
उनका अनुसार बाँकी उपचार खर्च जुटाउन निकै मुश्किल छ। त्यसैले, उपचारमा सरकारले सहयोग गरोस् भन्ने अपेक्षा गरेका छन्। ‘वसन्तीको जीवन बचोस्, उनी निको भए मलाई पुग्छ,’ यमनारायणले भने।
यसबाहेक यमनारायणको प्रमुख माग छ- दोषीउपर कडा कारबाही होस्। दोस्रो, मान्छेको रुप र ज्यानलाई जोखिममा पार्ने एसिडको बिक्री वितरणमा रोकै लगाइयोस्।
‘वसन्तीमाथि एसिड आक्रमण भएपछि त्यस्तै घटनाबाट पीडित बहिनीहरू आएर दुःख सुनाएका छन्,’ उनले भने, ‘एसिडबाट धेरै घटना भएका रहेछन्, यत्रा घटना हुँदा सरकारले किन बिक्री वितरणमा रोक लगाउन नसकेको?’
उनको भनाइ छ, ‘वसन्तीहरूलाई बिरुप बनाउनेहरू सग्ला नरहून्।’
उनले टिचिङ परिसरमा यसो भनिरहँदा एसिड आक्रमणमा परेर बाँचेका संगीता पुलामी मगर र सीमा बस्नेत छेउमै थिए। आफ्नो पीडा भुलेर उनीहरू वसन्तीको स्वास्थ्यलाभको कामना गरिरहेका थिए।
‘हाम्रोजस्तो अनुहार लिएर कोही दिदी-बहिनी हिँड्नु नपरोस्,’ दुबैले भने।
चितवनको सरकारी अस्पतालमा उपचार राम्रै भइरहेको थियो। त्यहाँ वसन्तीको जीवन बचाउन अस्पतालको तर्फबाट जति प्रयत्न भए, यमनारायणले धन्यवाद दिएका छन्।