सेवा सुविधा लगायतका माग राखी हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच पटक/पटक वार्ताको प्रयास गरिए पनि वार्ता सफल हुन नसक्दा बिरामी मर्कामा परेका छन्।
उपचारका लागि गाउँ/गाउँबाट अस्पताल आए पनि बिमारी उपचार नगरी घर फर्कन बाध्य भएका छन्। कर्मचारीको आन्दोलका कारण इमर्जेन्सी र आइसियु बाहेकका सबै सेवा ठप्प छन्।
गत बिहिबारदेखि काम ठप्प पारेर उनीहरू हड्तालमा उत्रिएका थिए। कहिले चलानी नम्बर नै नभएको चिठी पठाउने त, कहिले मागलाई अस्पताल प्रशासनले बेवास्ता गरेको आन्दोलन पक्षको भनाइ छ।
आफूहरूको माग यथाशिघ्र सम्बोधन नगरे अझै कडा रूपमा प्रस्तुत हुने उनीहरूले चेतावनी दिए।
अस्थायी कर्मचारी स्थायी गर्नुपर्ने र स्थायी कर्मचारीको स्तरवृद्धि गर्नुपर्ने माग उनीहरूले राख्दै आएका छन्। यसअघि ३ महिनादेखि तलब नपाएको बताइए पनि शुक्रबार नै तलब खातामा जम्मा भइसकेको छ।
आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले आज दिउँसो ११ बजे व्यवस्थापन समितिको मिटिङ बसेर भोलि वार्ताका लागि बोलाएको जानकारी दिए ।
‘अझै पनि उही अवस्थामा छौं,’ उनले भने, ‘यथाशिघ्र माग सम्बोधन नगरे अझै कडा रूपमा प्रस्तुत हुन्छौं।’
यसअघि हिजो वार्तामा बस्ने भनिए पनि वार्ता हुन सकेको थिएन।
यता प्रशासन भने आफूहरूको कार्यक्षेत्रभन्दा बाहिरको माग भएकाले सम्बोधन गर्न गाह्रो परेको बताउँदै आएको छ।