उनी शुक्रबार साँझको प्रार्थना निम्ति तयार हुँदै थिइन्। त्यही बेला चाल्नीमा राखेको बालुवाझैं धर्ती हल्लिन थाल्यो।
उनको आँखै अगाडि छिमेकीको घर जमिनमा धस्सियो। यस्तो लाग्थ्यो, मानौं जमिनले घर निल्दैछ।
उनको आफ्नै घर बीचमा सर्लक्क चिरा परेर एउटा भाग तीन सय मिटर पर उछिट्टियो।
यो इन्डोनेसियाको सुलावेसी क्षेत्रमा गत शुक्रबार गएको भुइँचालोको दृश्य हो।
उत्तरपश्चिमी तटीय सहर पालुलाई केन्द्र बनाएर गएको ७.४ म्याग्निच्युडको उक्त भुइँचालोमा १ हजार ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। सहरका अधिकांश अग्ला घर लडेका छन्। जमिन चिरा परेको छ। कयौं गाडी र घर त्यही चिरामा धस्सिएका छन्।
‘पूरै सहरको संरचना ध्वस्त छ,’ पालुका स्थानीय फादिलालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्, ‘म भाग्यमानी रहेछु, यस्तो विध्वंसमा पनि बाचेँ।’
बाँच्ने आश त उनले मारिसकेकी थिइन्। गर्ल्यामगुर्लुम ढलेका घर बीचबाट भाग्दा उनका पाइलासँगै जमिन चिरा परेको थियो। माटो पानीझैं बगेको उनी सम्झन्छिन्।
‘कस्सो म पनि जमिनको चिराभित्र खसिनँ !’ फादिलाले लामो सास फेरिन्।
उनको एक जना सातवर्षे नाति त चिरामा खसेकै थिए। धन्न सबै मिलेर बचाए।
इन्डोनेसियाको भुइँचालोपछि यस्ता थुप्रै दृश्य हामी टेलिभिजनमा देखिरहेका छौं। तीन वर्षअघि मात्र ७.८ म्याग्निच्युडको कम्पन झेलेको हाम्रो निम्ति भुइँचालोको त्रासदी अझै कम भएको छैन।
त्यतिबेला घरबारविहीन सयौं परिवारले अहिले पनि सुरक्षित छत पाएका छैनन्। काठमाडौंमै निजी निवासदेखि मठ–मन्दिर र ऐतिहासिक दरबारहरू जिर्णोद्धार हुने क्रम जारी छ। भित्री बजारका कतिपय पुराना घरबाट टेको हटिसकेको छैन।
त्यति शक्तिशाली भुइँचालो भोगेर आएका हाम्रा लागि पनि इन्डोनेसियामा जे भयो, त्यो नौलो हो।
यहाँ हामीले थुप्रै घर ढलेका देख्यौं, तर जमिन चिरा परेर त्यसैमा ठूल्ठूला संरचना धस्सिएको अनुभव गरेनौं। पानीजस्तै माटो बगेर भौतिक संरचनाहरू तहसनहस भएको देखेनौं। जे–जति क्षति भए, त्यसमा घरको संरचनात्मक कमजोरीकै ठूलो हात थियो।
इन्डोनेसिया भुइँचालोमा त्यस्तो के भयो, जसले त्यहाँका मजबुत संरचना पनि टिकेनन्?
भूगर्भ वैज्ञानिकहरू यसलाई ‘माटो तरलीकरण’ को परिणाम भन्छन्।
यो भनेको माटोले केही समयका लागि आफ्नो वास्तविक स्वरूप गुमाएर लगभग पानीको रूप लिने हो। कमसल माटो भएका ठाउँमा शक्तिशाली भुइँचालो जाँदा यस्तो अवस्था आउँछ।
२०७२ को भुइँचालोपछि यससँग जोडिएको भूगर्भ विज्ञानबारे रिपोर्टिङ गर्दा हामीले भूगर्भविद् प्राध्यापक लालु पौडेलसँग यसबारे कुरा गरेका थियौं।
उनका अनुसार पांगो माटो भएको ठाउँमा तरलीकरणको सम्भावना बढी हुन्छ। पांगो माटोका कणहरू बीचमा स–साना छिद्र वा खाली भाग हुन्छन्। ती खाली भागमा पानी जमेर बसेको हुन्छ।
भुइँचालोको कम्पनले त्यस्तो माटो हल्लाउँदा पानीको दबाब बढ्छ। ती कण एकअर्कासँग अलग्गिन्छन्। माटोका कणको आपसी बन्धन टुट्छ। छिद्रहरू फराकिलो हुँदै जान्छन्। माटोभित्रको पानी बग्न थाल्छ। यसले माटोको शक्ति कमजोर हुन्छ। आफूमाथिको भार थेग्न सक्दैन। र, जमिन भास्सिन्छ।
शक्तिशाली भुइँचालोले पांगो माटोमा ल्याउने यही परिवर्तन वर्णन गर्दै भूगर्भविद् पौडेलले भनेका थिए, ‘निश्चित समयका लागि माटोले तरल पदार्थको जस्तो व्यवहार देखाउँछ। माटो नै तैरिएजस्तो हुन्छ। सतहमा भएका सबै वस्तु पानीमा तैरिएजस्ता हुन्छन्।’
‘भुइँचालोपछिको सबभन्दा खतरनाक अवस्था यही हो,’ उनले भनेका थिए, ‘माटो तरलीकरण भयो भने जतिसुकै बलियो संरचना पनि टिक्न सक्दैन।’
भुइँचालोले सबै ठाउँमा यस्तो अवस्था आउँदैन। खासगरी समुद्र पुरेर बनाइएका ठाउँ, समुद्री तट वा नदी किनारका भू–भागमा तरलीकरणको समस्या बढी देखिन्छ। इन्डोनेसियाको तटीय सहर पालु तरलीकरणको उच्च जोखिमयुक्त ठाउँ नै हो।
२०७२ को भुइँचालोमा काठमाडौंको गोंगबु लगायत केही ठाउँमा पनि माटो तरलीकरण भएको अनुमान गरिएको थियो। त्यहाँ धेरै नयाँ घर यसैगरी भुइँसम्मै ढलेका थिए।
तरलीकरणको अवस्था सन् २०११ को जापान भुइँचालोमा भयावह थियो। त्यतिबेला उरायूसु सहरको ८६ प्रतिशत भू–भाग तरलीकरण भएको रेकर्ड छ। उक्त भुइँचालोमा करिब १६ हजारको ज्यान गएको थियो।
सन् २०१० र २०११ मा न्यूजिल्यान्डको क्रिस्टचर्चमा गएको भुइँचालोमा पनि माटो तरलीकरणले ठूलो क्षति पुगेको थियो। त्यसअघि सन् १९६४ को अलास्का भुइँचालो र १९८९ को क्यालिफोर्निया, लोमा प्रिटा भुइँचालोमा पनि तरलीकरण भएको थियो।
तरलीकरणको जोखिम भएका ठाउँमा माटोको मात्रा बढाएर जमिन मजबुत बनाउन सकिने इम्पेरियल कलेज लन्डनका भूगर्भविद् स्टेभरोला कन्टोले बताएका छन्।
‘निकासको व्यवस्थाले पनि शक्तिशाली भुइँचालो जाँदा पानीको दबाब बढ्न कम हुन्छ,’ बेलायती अखबार द गार्डियनले कन्टोलाई उद्धृत गर्दै लेखेको छ, ‘यस्ता उपायले तरलीकरणको खतरा पूरै नहटाए पनि जोखिम घट्छ।’
युनिभर्सिटी कलेज लन्डनका भूगर्भविद् कारामिन गालासो पनि तरलीकरण कम गर्ने उपाय भएको स्वीकार गर्छन्। सरकारले भवन र पूर्वाधार निर्माणको मापदण्ड तयार गर्दा नै माटो तरलीकरण हुने जोखिमलाई विचार पुर्याउनसके जोखिम कम हुने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालय, भूगर्भ विभागका प्राध्यापक पौडेलसँग पनि हामीले यसबारे कुरा गरेका थियौं।
उनले कुन–कुन ठाउँमा माटो तरलीकरण हुन्छ भनी पहिल्यै अनुसन्धान गर्नुपर्ने र त्यसैअनुसार भवन र पूर्वाधार मापदण्ड बनाउनुपर्ने सुझाएका थिए।
काठमाडौंको सन्दर्भमा कुरा गर्दै उनले भनेका थिए, ‘काठमाडौंमा यस्तो तरलीकरण हुने अवस्था कहाँ-कहाँ छ पत्ता लगाउनुपर्छ। जोखिमयुक्त ठाउँ छ भने कुनै पनि भवन वा पूर्वाधार बनाउँदा तरलीकरण हुनसक्ने तहभन्दा मुनिसम्म गएर फाउन्डेसन (जग) बनाउनुपर्ने नियम लागू गर्न सकिन्छ। यसले जोखिम कम हुन्छ।’