दसैँ, तिहारलाई लक्षित गर्दै सुर्खेत प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बिहिबार वीरेन्द्रनगरस्थित बसपार्क र छिन्चु बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।
दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ डिएसपी क्षेत्रीले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ।’
यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए।
उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन्।