पानीका फोहोरा छुटे। सेतो पर्दा टाँगिएझैं भयो।
रंगीचंगी प्रकाश परावर्तन भएर पानी इन्द्रेणी बन्यो।
आकाश गर्जेझैं संगीत बज्न थाल्यो। संगीतको तालमा पानीका कणहरूमाथि एउटा बच्चा दुगुर्दै अघि बढ्यो। अर्को कुनाबाट सानी बच्ची उसैगरी दुगुर्दै आइन्।
दुवै बच्चा पानीका फोकाझैं बिलाए।
संगीत थामियो। अन्धकार छायो।
एकैछिनमा बीचको पानीपर्दा चम्कियो। संगीतको छाल उर्लियो।
दुवै केटाकेटी हात समात्दै आए। उनीहरू खित्खिताउँदै हाँसिरहेका थिए। मृगका बच्चाझैं बुर्लुकबुर्लुक उफ्रिँदै थिए। उनीहरूको हाँसोले दायाँबायाँ पानीपर्दामा रंगीविरंगी फूल फक्रे। चराहरू उडे। आकाशमा खुसीको सप्तरंगी बादल छायो।
एक वर्षअघि सिंगापुरको ‘मरिना बे स्यान्ड’ मा हेरेको ‘लाइट एन्ड साउन्ड शो’ को यो दृश्य मैले यही असोज २० गते बुधबार वसन्तपुरमा सम्झेँ।
येँया पुन्ही, अर्थात् इन्द्रजात्राले वसन्तपुर रंगिएका बेला हनुमानढोका दरबारको गद्दी बैठकमा रातो प्रकाश पोखिएको थियो।
भुइँचालोमा भत्किएर भर्खरै पुनर्निर्माण भएको यो दरबारलाई हामी दिनकै सेतो रंगमा देख्छौं। त्यस दिन जग्गेमा बसेकी दुलहीझैं रातो रंगमा सिंगारिँदा फोटो खिच्नेहरूको लर्को लाग्यो। रातो पृष्ठभूमिमा थुप्रैले आफ्नै ‘सेल्फी’ पनि खिचे।
विश्व स्वास्थ्य संगठनले ‘क्षयरोग अन्त्यमा ऐक्यबद्धता’ नारा प्रचार गर्न वसन्तपुर दरबार रंगाएको थियो।
त्यसै दिन पाटन दरबारमा पनि यसैगरी रातो प्रकाश पोखिएको रहेछ।
वर्षको एकदिन मात्र किन?
वसन्तपुर र पाटन दरबारजस्ता ऐतिहासिक सम्पदास्थललाई हरेक साँझ यसैगरी किन नरंगाउने?
पाटन दरबार परिसर त सवारीमुक्त छँदैछ। वसन्तपुरलाई पनि न्यूरोडको जुद्ध शालिक, झोछेँ, तलेजु मन्दिर र मरु गणेशस्थानभित्रको क्षेत्र सवारीमुक्त गरेर हरेक साँझ आधा–एक घन्टा प्रकाश र ध्वनिको कला किन नदेखाउने?
जसरी सिंगापुरको ‘मरिना बे स्यान्ड’ मा प्रकाश र ध्वनिको संयोजनबाट सुन्दर कथा प्रस्तुत गरिन्छ, यहाँ पनि हामी त्यस्तै गर्न सक्दैनौं र?
हामीसँग कथाको कमी छैन। काठमाडौं त्यसै पनि मौलिक लोककथाहरूमा धनी। जात्रा र पर्व हाम्रो दैनिकी। हरेक जात्रा, पर्व र सम्पदाका आ–आफ्नै कथा छन्। ती कथालाई ‘एनिमेसन’ गरेर छायाचित्र देखाउने हो भने वसन्तपुर दरबारको सेतो पर्खाल स्थायी रूपमा सेतो पर्दा बन्न सक्छ।
लोककथा नै देखाउनुपर्छ भन्ने छैन। सेतो पर्दामा मञ्चन गर्न लिच्छविदेखिका रंगीन इतिहास हामीसँग छन्। इतिहासका रोचक पात्र र चाखलाग्दा घटनाक्रम छायाचित्र बन्न सक्छन्। यसले मनोरञ्जनसँगै नयाँ पुस्ता र विदेशी पर्यटकलाई नेपाली इतिहासको झलक दिन्छ।
के यसो गर्न सम्भव छ?
विदेशी संघ–संस्थाको सहयोग लिनुपर्छ कि हाम्रो आफ्नै क्षमताले धान्छ?
यही जिज्ञासा मैले सम्पदा संरक्षण अभियानमा सक्रिय आलोकसिद्धि तुलाधरसँग राखेँ।
‘किन सम्भव छैन?’ काठमाडौं संस्कृति र सम्पदामा वृत्तचित्र बनाउँदै आएका आलोकले मलाई यसको प्राविधिक पक्ष बुझाउँदै भने, ‘आधा–एक घन्टाको एनिमेसन फिल्म बनाएर सेतो भित्तामा प्रोजेक्सन गर्नु त्यति ठूलो प्रविधि होइन।’
कुराकानीकै क्रममा उनले भारतको नयाँदिल्लीस्थित लालकिल्लामा देखाइने छायाचित्र सम्झे।
त्यो छायाचित्रमा भारतको इतिहास छ। मुगलहरूले नयाँदिल्ली हमला गर्दाको इतिहास। त्यसमा प्रकाश र ध्वनिसँगै कथाशिल्पको सुन्दर प्रयोग छ। मुगलहरूले दिल्लीमाथि चढाइँ गर्दाको परिवेश अनुभूत गराउँदै लालकिल्लाका विभिन्न खण्डमा चम्किलो प्रकाश पोखिन्छ। वातावरण भयंकर ध्वनिले भरिन्छ। आँखासामु यस्ता दृश्य घुमिरहँदा पृष्ठभूमिमा भरिलो आवाज गुञ्जन्छ, इतिहासको कथा विस्तार लाउँदै।
‘हामीसँग पनि विभिन्न कालखण्डका अनेक कथा छन्। कसरी लिच्छविहरूले काठमाडौंमा सम्पन्न सहर बसाले? त्यो सम्पन्नतालाई मल्लहरूले कसरी उचाइमा पुर्याए? मल्लहरूमाथि पृथ्वीनारायण शाहले कसरी विजय पाए? यी सबै कथा हामी छायाचित्रमा देखाउन सक्छौं,’ तुलाधरले भने।
त्यो हदसम्म नगए पनि, हाम्रै संस्कृति र जात्रापर्वका झाँकी सेतो भित्ताको सेतो पर्दामा देखाउन सकिन्छ।
कल्पना गर्नुस् त, तपाईं वसन्तपुर डबलीमा उभिनुभएको छ। वा, मरु गणेशस्थानतिर हुनुहुन्छ। वा, तलेजु भवानीको मन्दिरबाट कालभैरव नाघेर भर्खरै वसन्तपुर परिसर छिर्नुभयो।
अगाडि गद्दी बैठकको सेतो भित्तामा लाखे नाच्दैछ।
कहिले देवी नाच चल्छ। कहिले महाकाली।
घरि पुलुकिसी गुटुटुटु कुद्दै आउँछ। घरि ‘होए होए’ गर्दै रथ तानिन्छ।
उतिन्खेरै ‘जीवित देवी’ सँगैको कुमारी घरबाट निस्केर दर्शन दिन आउँछिन्।
इन्द्रजात्रा वा अन्य पर्वमा देखिने सम्पूर्ण झाँकी भित्तामा साक्षात् हुन्छन्।
अनि पृष्ठभूमिमा गुञ्जिन्छ, धिमे बाजाका धमधम र छ्याइँछ्याइँ।
‘हामीले एकैचोटि इतिहासको कथा भन्ने गरी ठूलो स्तरको एनिमेसनमा जानै पर्दैन,’ उनले भने, ‘हाम्रै जात्रापर्वका छोटाछोटा भिडियो र तस्बिर एनिमेसन गरेर प्रोजेक्सन गर्न सकिन्छ।’
प्रकाश र ध्वनि संयोजनको यस्तो कला संसारका प्रमुख पर्यटन स्थलहरूमा देखाउन थालेको करिब ६५ वर्ष भयो। सन् १९५२ मा पहिलोपटक फ्रान्समा प्रदर्शन भएको मानिन्छ। त्यसपछि १९६० दशकको सुरुबाट इजिप्टको गिजा पिरामिडमा पनि प्रदर्शन हुन थालेको इतिहास छ।
रात्रिकालीन मनोरञ्जनका रूपमा लिइने यस्तो प्रदर्शनीका लागि ऐतिहासिक महत्वका संरचना प्रयोग गरिन्छन्। सग्लो वा भग्नावशेष संरचनाको भित्तामा प्रकाश परावर्तन गराइन्छ। पृष्ठभूमिमा ध्वनि र कथाको संयोजन हुन्छ। प्रकाश छर्न ‘लिक्विड वा लेजर लाइटिङ’ प्रयोग हुन्छ। दृश्य परावर्तन गरेर छायाचित्र देखाउन ‘प्रोजेक्सन म्यापिङ’ गरिन्छ।
कति ठाउँमा ‘थ्री–डी’ प्रोजेक्सनबाट दृष्टिभ्रम गराउने छायाचित्र पनि देखाइन्छ। यसमा घरका झ्यालढोका भत्कन्छन्। भित्ताहरू चर्किन्छन्। इँटाहरू हावाको झोँकासँगै उडेर जान्छन्। दरबार भुइँसम्मै गर्ल्यामगुर्लुम ढल्छ। साँच्चैजस्तो लाग्ने दृष्टिभ्रमले आङै सिरिंग हुन्छ।
पर्यटकलाई मनोरञ्जन र सम्पदाको इतिहास बुझाउन यस्तो कला संसारभरि लोकप्रिय छ। फ्रान्समा सयभन्दा बढी ठाउँमा प्रदर्शन हुन्छन्। भारतमा लालकिल्लाबाहेक अमेर, अजमेर, जन्तरमन्तर, जयपुरका दरबार लगायत संरचना पनि हरेक साँझ प्रकाश र ध्वनिले जगमगाउँछन्।
विश्वभरि यति अगाडि बढेको यो प्रविधिमा हामी पछाडि छौं, तर हाम्रा लागि पनि नौलो होइन।
दुई वर्षअघि वैशाख १२ गते वसन्तपुर क्षेत्रमा विभिन्न कार्यक्रम गरेर भुइँचालो सम्झना गरिएको थियो।
डबलीमा बत्ती बालेर धरहराको आकृति बनाइयो। भग्नावशेष मन्दिरका जीर्ण डिललाई दियोले झलमल्ल पारियो। त्यतिबेला वसन्तपुर दरबारको जिर्णोद्धार पूरा भइसकेको थिएन। माथिल्ला गराहरू चर्किएकै थिए।
साँझ परेपछि वसन्तपुर दरबारलाई त्यही स्वरुपमा प्रकाशले नुहाएर रंगीन पारियो। केही बेरमा सेतो भित्ताको सेतो पर्दामा बथानका बथान परेवा उड्न थाले। पृष्ठभूमिमा आनी छोइङ डोल्माको सुमधुर बुद्धमन्त्र गुञ्जियो।
परेवा शान्तिको प्रतीक। बुद्धमन्त्र शान्तिकै गीत। जापानी दूतावासको सहयोगमा भएको उक्त प्रदर्शनीले शान्ति र संयमको सन्देशसहित वर्षदिनपछि भुइँचालो सम्झेको थियो। यसको निम्ति जापानबाटै प्राविधिक झिकाइएका थिए।
भुइँचालोअघि पनि केही अवसरमा हनुमानढोका दरबार, धरहरा, घन्टाघरजस्ता सम्पदास्थलमा प्रकाश र ध्वनिको खेल देखाइएको थियो।
आक्कलझुक्कल हुँदै आएको प्रदर्शनीलाई के हामी विदेशमा जस्तै नियमित बनाउन सक्दैनौं?
डिजिटल प्रोजेक्सनकै काम गर्दै आएका कलाकार अशीम शाक्य सम्भव मात्र देख्दैनन्, आफू पनि यस्तै प्रदर्शनीको तयारीमा लागेको बताउँछन्।
उनले हनुमानढोका दरबारमा प्रदर्शन गर्न चार वर्षअघि नै ‘थ्री–डी’ छायाचित्र बनाएर राखेका छन्।
‘दरबारको झ्यालढोका, दलिन र पर्खालसँग दुरुस्तै हुने गरी एनिमेसनको मोडल बनाएका छौं,’ उनले भने, ‘यो ‘थ्री–डी’ चित्र हनुमानढोका दरबारको भित्तामा प्रदर्शन गर्दा त्यहाँका झ्यालढोका उडेर गएको, दलिन र पर्खाल भत्किएको र इँटाहरू खसेजस्तो दृश्य देखिन्छ।’
‘यस्तो काम एक्लैले भन्दा डिजिटिल प्रोजेक्सनको ज्ञान भएका अरू व्यक्तिसँग मिलेर गर्न सजिलो हुन्छ। दुई–चार जनासँग सम्पर्क भएको छ। टुंगो लाग्नेबित्तिकै पहिलो चरणको प्रदर्शन गर्न सरकारसँग अनुमति माग्नेछौं,’ शाक्यले भने।
‘थ्री–डीबाहेक काठमाडौंको ऐतिहासिक र सांस्कृतिक विषयवस्तु ‘एनिमेसन’ गरेर देखाउन सकिन्छ कि सकिँदैन?’ मैले सोधेँ।
‘सकिन्छ, तर यसको निम्ति कागजमा चित्रको खेस्रा कोर्नेदेखि नयाँ शिराबाट काम थाल्नुपर्छ,’ उनले भने।
उनका अनुसार कथावस्तु तयार पारेर चित्र बनाउन र एनिमेसन गर्न महिनादिनभन्दा बढी लाग्छ।
‘फिल्मजस्तै कथानक एनिमेसन देखाउने हो भने हरेक दिन भिन्दाभिन्दै प्रदर्शन सम्भव हुन्न। आधा–आधा घन्टाको पाँच–छ वटा फिल्म तयार पारेर निश्चित समयसम्म पालैपालो देखाउन सकिन्छ,’ उनले भने।
अशीमले ‘स्वयम्भु पुराण’ मा आधारित करिब पाँच मिनेट लामो कथानक एनिमेसनको खेस्रा तयार पारेको पनि सुनाए। ‘यसमा काठमाडौंको उत्पत्ति कथा छ,’ उनले भने, ‘अन्तिम रूप दिइसकेको छैन।’
मैले उनलाई सिंगापुरदेखि भारतको लालकिल्लामा देखेका छायाचित्रको उदाहरण दिँदै सोधेँ, ‘वसन्तपुर, पाटन दरबार र अरू ऐतिहासिक स्मारकमा त्यस्तै खालको प्रदर्शनी गर्न हामी सक्छौं कि सक्दैनौं।’
‘प्राविधिक रूपमा सक्छौं, तर नियमित सञ्चालन गर्न आर्थिक सहयोग चाहिन्छ,’ उनले भने।
‘आर्थिक ढाँचा के हुनसक्छ?’
उनले तीनवटा विकल्प सुझाए।
पहिलो, विभिन्न स्वदेशी कम्पनीबाट प्रायोजन गराउने। यो सजिलो उपाय हो, तर राम्रो होइन। ऐतिहासिक सम्पदास्थलमा नाफामूलक व्यापारिक कम्पनीको ब्रान्ड वा लोगो प्रदर्शन गर्न उपयुक्त नहुने उनी आफैं बताउँछन्।
‘कार्यक्रम उद्घोषण वा प्रचार सामग्रीमा मात्र नाम राख्ने गरी कोही प्रायोजन गर्न तयार हुन्छ भने ठिक छ,’ उनले भने।
दोस्रो विकल्प, सर्वसाधारणसँग पैसा उठाउने।
सरकारले खुला प्रस्ताव आह्वान गरेर योग्य कम्पनीलाई शुल्क उठाउने गरी जिम्मा दिन सक्छ। विदेशतिर पनि टिकट काटेपछि मात्र यस्ता कार्यक्रममा प्रवेश पाउने चलन छ।
वसन्तपुर, पाटन वा भक्तपुर दरबार स्क्वायरमा भने सम्भव देखिन्न। यी तीनैवटा ठाउँ काठमाडौं उपत्यकाका खुला सार्वजनिक स्थल हुन्। यहाँ सर्वसाधारण ओहोरदोहोर गरिरहेका हुन्छन्। सार्वजनिक स्थलमा आउने मान्छेसँग पैसा लिन सम्भव हुँदैन। बरु कार्यक्रम सकेपछि स्वैच्छिक सहयोगको आग्रह गर्न सकिन्छ।
रह्यो तेस्रो विकल्प। यो भनेको सरकार वा महानगरपालिकाको सहयोग हो।
सरकार वा महानगरले ऐतिहासिक स्थलहरूमा प्रकाश र ध्वनिको कला प्रदर्शनलाई आफ्नो वार्षिक कार्यक्रमका रूपमा विकास गर्न सक्छ।
‘सरकारले बजेट नेगोसिएसन गरेर कार्यक्रम जिम्मा दिने हो भने नियमित सञ्चालन गर्न सकिन्छ। यसलाई नाफामूलक प्रयोजनभन्दा सहरको कथा भन्ने आधुनिक विधिका रूपमा लिए राम्रो हुन्छ,’ उनले भने।
यही कार्यक्रमबाट पर्यटक आकर्षित गर्न सकिने लाभ त छँदैछ।
अशीमसँगको कुराकानीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग सम्पर्क गरेँ।
असोज २० गते मैले रातो प्रकाशले रंगीन हनुमानढोका गद्दी बैठकको तस्बिर ट्विट गर्नेबित्तिकै मन्त्री अधिकारीको प्रतिक्रिया आएको थियो, ‘हामी गर्दैछौं।’
उनको यो जवाफले पर्यटन मन्त्रालय यो अभियानमा सकारात्मक छ भन्ने बुझाउँछ।
व्यक्तिगत सम्पर्कमा उनले त्यही दोहोर्याए।
‘दरबार क्षेत्रको पुनर्निर्माण आधाआधी सकिएको छ। पूरा हुनेबित्तिकै यस्ता ऐतिहासिक स्थलहरू बढीभन्दा बढी सदुपयोग गर्न हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘काठमाडौं संस्कृति झल्काउने झाँकीहरू यस्ता सार्वजनिक स्थलमा बाह्रै महिना प्रदर्शन गर्न सकिन्छ।’
प्रकाश र ध्वनि संयोजनको प्रदर्शनी पनि नियमित कार्यक्रमका रूपमा विकास गर्न तयार रहेको उनले बताए।
‘इच्छुक कम्पनीहरू छन् भने सम्पर्क गरेर छलफल गर्न सक्छौं,’ उनले भने।
यो कुनै ‘रकेट साइन्स’ होइन। पर्दामा देखाएजस्तै छायाचित्र भित्तामा देखाउने हो। सारा संसारले गर्न सकेको काम हामी सक्दैनौं भन्ने छैन। यसको निम्ति सहरका ऐतिहासिक गन्तव्यहरू सुन्दर बनाउँछु भन्ने इच्छाशक्ति मात्रै चाहिन्छ।
सरकारले त्यो इच्छाशक्ति देखाउने हो भने वसन्तपुर गद्दी बैठकको सेतो भित्तामा काठमाडौं सभ्यता र संस्कृतिको झलक देखाउन कुनै आइतबार कुर्नुपर्दैन।
प्रत्येक साँझ निश्चित समय तोकेर यस्तो कार्यक्रम गरे हाम्रा ऐतिहासिक स्थलहरू रमणीय हुनेछन्। नयाँ पुस्ताले पुराना कथा देख्न, सुन्न र महशुस गर्न सक्नेछन्।
‘सरकारले अनुमति दिए हामी तुरुन्तै प्रदर्शन गर्न तयार छौं,’ अशीमले भने।
सरकारले एकचोटि नमूनाका रूपमा उनको काम हेरे हुन्छ। अरू व्यक्तिलाई पनि डाकेर नमूना बनाउन लगाए हुन्छ। जसको चित्त बुझ्छ, उसैलाई जिम्मा दिए वा पालैपालो देखाउन लगाए भैगो।
पर्दा तयार छ। छायाचित्र कुद्ने कहिले?