बुटवल १० रामनगरमा निर्माणाधिन बुटवल सभाहल तथा प्रदर्शनी केन्द्रका लागि ५ सय २५ रूख काट्पर्ने भएको छ।
सभाहल तथा प्रदर्शनी केन्द्र निर्माणको लागि गरिएको बातावरण प्रभाव मूल्याङकन (ईआईए) को प्रारम्भिक प्रतिवेदनमा उक्त संख्याका रूख कटान गर्नुपर्ने देखिएको हो।
बुटवल सभाहल तथा प्रदर्शनी केन्द्रका योजना प्रमुख शिखर लामाले सभाहल निर्माणको लागि यसअघि नै १ सय ३६ वटा रूख कटान भईसकेको र प्रदर्शनी केन्द्र निर्माणको लागि अब ५ सय २५ रूख काट्नुपर्ने जानकारी गराए।
बुटवलमण्डपको पश्चिम तर्फको ६ बिगाहा क्षेत्रमा प्रदर्शनी केन्द्र निर्माण हुँदैछ। योजना प्रमुख लामाले हाल औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन भईरहेको स्थानमा स्थायी भौतिक संरचना निर्माण गर्न त्यहाँका रूख काट्नुपर्ने बताए।
बुटवलमण्डपमा सिमल, साल, टिक, साजलगायत विभिन्न ८ प्रजातिका रूख रहेको उनले जानकारी दिए ।
प्रदर्शनी केन्द्र निर्माणको लागि रुख काट्नु परे पनि त्यसले पार्ने पर्यावरणीय असर अत्यन्त कम होस् भन्नको लागि काटिएका रूखको बदलामा २५ गुणा बढी बिरुवा रोप्ने उनले बताए ।
‘वातावरण संरक्षण ऐन २०५४ ले निर्देश गरे अनुसार एउटा रुख कटान गरे वापत २५ वटा रूख रोप्न शंकरनगर र करहिया सामुदायिक वनको ११ हेक्टर क्षेत्र माग गरेका छन्,’ उनले भने।
लामाले सामुदायिक वनहरुले वृक्षारोपणसँगै पाँच वर्षसम्म त्यसको रेखदेख गर्ने गरी जग्गा उपलब्ध गराउने तयारी गरेको बताए। जहाँ ५ सय २५ रूखको सट्टा १३ हजार १ सय २५ वटा बिरूवा रोपिने छन्।
‘सकेसम्म भवनको लागि कम जमिन प्रयोग गरी बढिभन्दा बढि हरियो बगैचा बनाउन सकियोस् भनेर त्यही अनुरुपको डिजाईन गरिएको छ जहाँबाट रेन वाटरसमेत जमिनमुनी नै गई रिचार्ज भईरहोस्,’ लामाले भने ।
वातावरण प्रभाव मूल्यांकन गरेको लुम्बिनी ईन्भारमेन्टल सर्भिसेज प्रा.लिले सभाहल र प्रदर्शनी केन्द्रको निर्माणको लागि रूख कटान गरेपछि पार्ने प्रभावसँगै यसक्षेत्रको आर्थिक विकासमा पार्ने प्रभावलाई मूल्यांकन गरी प्रारम्भिक प्रतिवेदन तयार गरेको छ ।
प्रा.लिका कार्यक्रम संयोजक विजय मिश्रले वातावरण संरक्षण ऐन २०५४ को अनुसूची ३ अनुसार ईआईएको प्रारम्भिक प्रतिवेदन तयार पारिएको जानकारी दिए। ‘सभाहल निर्माण हुनु पहिले र निर्माण भएपछि पार्ने प्रभावको आधारमा हामीले ईआईएको ड्राफ्ट तयार पारेका छौं,’ उनले भने ।
‘बुटवल सभाहल र प्रदर्शनी केन्द्रको निर्माणपछि ट्राफिक व्यवस्थापन, सुरक्षा, फोहोर व्यवस्थापन, ढल निकास चुनौतीको रुपमा देखिएको छ भने सभाहल निर्माण पछि यसक्षेत्रमा रोजगारीको सिर्जना बढ्ने छ, श्रमिकको क्षमता बृद्धि हुने छ, घरजग्गाको मुल्य बढ्ने छ,’ उनले भने ।
तयार गरिएको प्रारम्भिक प्रतिबेदनलाई अन्तिम रुप दिन आयोजित छलफलमा स्थानीय सरोकारवालाहरुले बुटवल सभाहल र सम्मेलन केन्द्र बुटवलको पहिचानसँग जोडिएको भन्दै विकास निर्माणलाई रोक्न नहुने बताएका थिए।
उनीहरुले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको विकाससँगै बुटवल सभाहलको महत्व झनै बढ्ने बताए।
कुल १ अर्ब ५० करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको उच्च प्रविधियुक्त प्रदर्शनी केन्द्र निर्माणको लागि गत असार महिनामा नै ग्लोबल टेण्डर आव्हान भईसकेको छ।
प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुई वटा बैठक हल, प्रशासनिक भवन र खाजा घरसमेत निर्माण हुनेछन्।
उता २०७१ साल माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसूर्य जे.वि कम्पनीले बुटवल सभाहलको ठेक्का सम्झौता गरी काम गरिरहेको छ। साढे २३ करोडको लागतमा शुरू गरिएको पहिलो चरणको काम अझै पुरा भएको छैन। सूर्य आकारमा बन्ने पहिलो चरणका संरचनामा ११ सय व्यक्ति भन्दा बढी अट्ने मुख्य सम्मेलन हल र अन्य ४ वटा हल निर्माण भईरहेका छन्।
त्यस्तै दोस्रो चरणमा चन्द्रमा आकारमा संरचना निर्माण शुरु भएको छ। दोस्रो चरणको काम ८० करोडमा आशिस निर्माण सेवाले ठेक्का सम्झौता गरेको हो। अब बन्ने प्रदर्शनी केन्द्र तेस्रो चरणको काम भएको आयोजनाले जनाएको छ।
नेपाल सरकार शहरी विकास मन्त्रालय मार्फत निर्माण भईरहेको बुटवल सभाहल र प्रदर्शनी केन्द्र पछि औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजकहरुलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका यसक्षेत्रका उद्योगी व्यवसायीले वर्षेनी झण्डै एक करोड रुपैया अस्थायी संरचना निर्माणमा खर्च गर्दै आएका छन् ।