दैलेख आठबीस नगरपालिकामा खोलिएको एक विज्ञापनमा परीक्षा नै नदिएका व्यक्तिलाई उत्तिर्ण गराइएको छ। नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका लागि भनेर पौष्टिक आहारका क्षेत्रमा काम गर्ने ‘सुआहारा’ परियोजनाले प्रति वडा एक/एकजना सामाजिक परिचालकको विज्ञापन गरेको थियो। शुक्रबार भएको उक्त विज्ञापनअन्तर्गतको परीक्षाको शनिवार नतिजा प्रकाशन गरिएको छ।
उक्त नतिजामा परीक्षा नै नदिएका व्यक्तिलाई उत्तिर्ण गराइएको पाइएको हो ।
परीक्षामा समावेश उम्मेदवारहरुले वडा अध्यक्षहरुको मिलेमतोमा यस्तो कार्य भएको आरोप लगाएका छन्। ‘विभिन्न राजनीतिक दलका नेताहरूको दवावमा परीक्षा दिएकाहरुलाई पास गर्ने कुरा हामीले सुन्दै आएका थियौं।’ सोही नगरपालिका–१ बाट सामाजिक परिचालक पदमा लिखित परीक्षा दिएकी धनसरी विकले भनिन्, ‘यहाँ त परीक्षा नदिएकालाई नै उत्तीर्ण गराइयो।’ उनका अनुसार आठवीस नगरपालिकामा उपस्थित नै नभएकी जानकी शाहीलाई लिखित परीक्षामा उत्तिर्ण गराइएको हो ।
यस्तो हुनुमा छनौट समिति र नगरपालिकाका वडा नं. १ वाहेक अन्य आठओटै वडा अध्यक्षहरुको मिलेमतो रहेको सोही नगरपालिकाकी ताराकुमारी थापाले आरोप लगाईन । ‘वडाअध्यक्ष तथा समितिको नै मिलेमतो भएका कारण यहाँ कर्मचारी छनौटमा काखापाखा गरिएको हो,’ थापाले भनिन, ‘यसरी क्षमता भएकाहरुलाई पछि पार्ने र आफ्नालाई भर्ती गर्ने प्रचलनले अन्यायको महसुश गराएको छ ।
लिखित परीक्षा आठवीस नगरपालिकामा रहेको जनज्योती माध्यमिक विद्यालयमा सञ्चालन भएको हो । उक्त परीक्षाको मुल संयोजक नवराज थापा रहेका थिए ।
दैलेखको एभरेष्ट क्लवमार्फत सञ्चालित सुआहारा परियोजनाको दोस्रो चरणको कार्यक्रमअन्र्तगत असोज ७ गते सामुदायिक खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता पदका लागि दरखास्त मागिएकोमा जम्मा ११८ जनाले लिखित परीक्षा दिएका थिए । तीमध्ये ७९ जना उत्तिर्ण भएका थिए । वडा नं. १ को नतिजामा विवाद आएपछि आन्दोलनमा उत्रिएका परीक्षार्थीले विज्ञप्ती निकाल्दै तत्काल आफूहरुको माग सम्बोधन गर्न र दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
यसबारेमा नगरपालिकाका उपप्रमुख दिपा बोहोराले यस्तो कार्य निन्दनी भएको प्रतिक्रिया दिएकि छिन्।
नगरपालिकाका मेयर खड्गराज उपाध्यायले परीक्षा समितिको लापरवाहीका कारण त्यस्तो भएको हुनसक्ने बताउँछन् । ‘हामी कार्यपालिकाको वैठकमा व्यस्त थियौं,’ उपाध्यायले भने, ‘उक्त परीक्षाका बारेमा सुआहाराको टिम र नगरका केही कर्मचारीहरुको सहभागिता रहेको थियो, त्यसमा जनप्रतिनिधिको केही पनि भूमिका छैन।’
विवाद आएपछि नगरपालिकाले उक्त परीक्षा नै रद्द गरेको उनले जानकारी दिए। विवाद देखिएपछि उचित निकास खोज्न परीक्षा नै रद्द गरिएको उनले बताए ।
यसबारेमा बुझ्न खोज्दा परीक्षा समितिका संयोजक रहेका नवराज थापासँग भने सम्पर्क हुन सकेन।