कर्णाली प्रदेशको सीमाना हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ। छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको हो।
अध्यागमन कार्यालय स्थापना भएसँगै कर्णाली प्रदेशको व्यापार सम्बन्ध अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ ।
अध्यागमन कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हिल्सा नाकामा अध्यागमन कार्यालको स्थापनापछि पश्चिम नेपालको समृद्धिको ढोका खुलेको बताएका छन्।
हिल्सा नाका कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रूपमा स्थापित हुने गृहमन्त्री थापाले विश्वास व्यक्त गरे।
अध्यागमन कार्यालयले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन तथा समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
अध्यागमन कार्यालय प्रदेश समृद्धिका लागि कोशेढुंगा बन्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।
भन्सार, अध्यागमन, क्वारेनटाइन, सीमा प्रहरी बलको कार्यालयका लागि पूर्वाधार विकास गर्न प्रदेश सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षभित्रै निर्माण कार्य पूरा गरिने बताए।