युवतीलाई जबरजस्ती करणी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। प्रहरीले देवदह नगरपालिका वडा नं. १० बस्ने ३५ वर्षको उदय थापा र बुटवल ७ को २६ वर्षको कृष्ण थापालाई १६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
निजहरूले मंगलबार बुटवल वडा नं. ७ शिवनगर सामुदायिक वनमा देवदह चरङगेकी १६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ह्दय थापाले जानकारी दिए।
यस्तै पहेंलो धातुलाई सुन भन्दै बेची लाखौं ठगी गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० रम्भादेवी टोल बस्ने २७ वर्षीय राज सूर्यवंशी भन्ने राजु परियार र नवलपरासीको नन्दन गाउँपालिका वडा नं. ६ बस्ने ३० वर्षको समिर भन्ने अब्दुर पखियालाई पक्राउ गरेको हो।
बुटवल २ फूलबारी गेटबाट पक्राउ परेका उनीहरूको साथबाट १२ लाख रुपैयाँ नगद, नक्कली सुनको ढिक्का एक थान र २ थान मोबाइल बरामद गरेको जनाएको छ।
प्रहरी उपरीक्षक थापाले निजहरूले रुकुम त्रिवेणी गाउँपालिका वडा नं. ६ घर भइ दाङ तुल्सीपुर ५ बस्ने २३ वर्षको नरहरी घर्तीलाई सुन भन्दै पहेंलो धातु विक्री गरी २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जानकारी दिए।
यस्तै बिहिबार बिहान लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवैध रूपमा ल्याइएका ५ हजार हाँसका चल्ला बरामद गरेको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ लेखहवास्थित निसार मुसलमानको कुखुराको खोरबाट अवैधरूपमा चोरी गरी राखिएको चल्ला बरामद गरेको थियो।
खोरमा चल्ला भेटिएपनि चल्लाको लागि दाना पानी नरहेको र खरिद गरेको कुनै बिल भरपाई समेत फेला नपरेपछि पशु क्वारेण्टाईन कार्यालयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।