चारपटक गरी दुई वर्षसम्म थप गरिएको समयमा पनि सडक निर्माण पूरा नगरेपछि कालिका तामाङ प्यासिफिक जेभीले सवा तीन करोड रुपैयाँ जरिवाना बुझाएको छ।
निर्माणाधीन व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल अन्तर्गत भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोल र आँखा अस्पतालदेखि डण्डा पुलसम्मको दुई किलोमिटर दुई सय मिटरको उक्त सडक दुई वर्ष अघि नै निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।
निर्माण कम्पनीले २०७२ सालमा संविधान जारी गरेलगत्तै मधेशी दलले गरेको सीमा नाका बन्द तथा भारतीय नाकाबन्दी, भूकम्प, नदीजन्य वस्तुको अभाव लगायतका कारण देखाउँदै चारपटक गरी दुई वर्ष समय थप गरेको थियो। दुई वर्ष समय थप गरी गत मंसिरमा सक्ने गरी अन्तिम समयसीमा दिइएकोमा अझै १० प्रतिशत निर्माणको काम बाँकी रहेको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख इञ्जिनियर जीवेन्द्र मिश्रले थपिएको समयमा पनि निर्माण पूरा नगरेपछि प्रतिदिन निर्माण ठेक्का रकमको शून्य दशमलव शून्य ५ प्रतिशत रकमका दरले जरिवाना बुझाएको जानकारी दिए।
आयोजनाले निर्माण कम्पनीले काम गरेवापत पाउने रकमबाट कट्टा गरी जरिवान असुल गरेको जनाएको छ। कम्पनीले असार मसान्तसम्मको ३ करोड २४ लाख ९९ हजार ९ सय ३४ रुपैयाँ जरिवाना राजस्वमा दाखिला गरिसकेको छ ।
उक्त कम्पनीले बेलहियादेखि रणअम्विका आँखा अस्पतालसम्म र भैरहवाको बर्मेली टोलदेखि अञ्चलपुरसम्मको २.२ किलोमिटर सडक र डण्डा खोलाको पुलसहित दायाबायाँ सडक निर्माण गर्नेगरी २०७० सालमा ४५ करोडमा ठेक्का पाएको थियो ।
सार्वजनिक ठेक्कामा समयमा निर्माण कार्य नगर्ने निर्माण व्यवसायीले ठेक्का रकमको १० प्रतिशत नबढ्ने गरी प्रतिदिन शून्य दशमलव शून्य ५ प्रतिशत जरिवाना बुझाउनुपर्ने प्रावधान राखिएको छ ।
तीस महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न बहानामा गत मंसिरसम्म २ वर्ष थप समय पाए पनि निर्माण पूरा नगरेपछि मंसिरदेखि मात्र जरिवाना तिरेको हो। अझै १० प्रतिशत निर्माणको काम बाँकी रहेकोले तिर्नुपर्ने जरिवाना रकम पनि थप हुने देखिएको छ।
आयोजना प्रमुख मिश्रले ठेक्का सम्झौताको सर्त र काबु बाहिरको परिस्थिति उत्पन्न भइ प्राप्त गर्ने सुविधाको थप समय दिँदा समेत काम सम्पन्न नगरेकोले जरिवाना गरिएको बताए।
‘नाकाबन्दी, बन्द हड्ताल, निर्वाचन, बेमौसमी वर्षा, चाडपर्व लगायतका कारण काम गर्न सम्भव नभएको अवस्थामा उक्त कम्पनीलाई थप ५० दिनको समय दिएका थियौं, तर दिएको समयमा समेत काम सम्पन्न भएन त्यसैले जरिवाना गर्यौं’, मिश्रले भने।
सम्झौतामा बन्द हड्ताल, भूकम्प, बेमौसमी वर्षा, शितलहर जस्ता काबु बाहिरको परिस्थिति सृजना भएमा निर्माण व्यवसायीले उक्त अवधिमा काम हुन नसकेको भन्दै थप समय पाउने व्यवस्था रहेको छ।
सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले उक्त जरिवाना रकम सडक विभागको अहिलेसम्मको दोस्रो ठूलो जरिवाना भएको बताए। यसअघि कोहलपुर नेपालगञ्ज सडक निर्माणमा ढिलाइ गरेवापत पप्पु कन्स्ट्रक्सनले ५ करोड रुपैयाँ जरिवाना तिरेको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
दसैँसम्म सकिने भनिएको सडकमा ग्राभेल समेत हुन सकेन
त्यसैगरी निर्माणाधीन भैरहवादेखि मणिग्रामसम्मको सडक पनि समयमा पूरा नहुने भएको छ।
चार प्याकेजमा ठेक्का सम्झौता गरी काम भइरहेको १२ किलोमिटरमध्ये ५ किलोमिटरमा बेसको काम समेत सुरू हुन सकेको छैन। ७ किलोमिटर क्षेत्रमा मुख्य लेनमा ग्राभेल गर्ने र पहिलो लेयरमा अलकत्रा विच्छाउने गरिएको भए पनि ५ किलोमिटर क्षेत्र भने खाडलसहितको धूलाम्मे रहेको छ ।
आयोजना प्रमुख मिश्रले यसवर्ष जेठ महिनादेखि असोज महिनासम्म नै पानी परेकोले काम गर्न केही कठिनाइ भएको बताए।
‘असारदेखि भदौसम्म तीन महिनाको समयमा वर्षा हुने भए पनि यस वर्ष पाँच महिना पानी पर्यो यसले गर्दा काम हुन सकेन,’ उनले भने।
उक्त सडकको मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्मको ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम इण्डिया लिमिटेड (टिसिआइएल) ले १ अर्ब रकममा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ ।
त्यस्तै, सुनैनापथदेखि मधवलियासम्मको ३ किलोमिटर ६२ करोडमा कालिका रायमाझी र लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण गरिरहेका छन् ।
आयोजना प्रमुख मिश्रका अनुसार टिसिआइएलले निर्माण गरिरहेको दुई प्याकेजकै सडक ६० प्रतिशत निर्माण भएको छ भने कालिका रायमाझीले निर्माण गरिरहेको ८७ प्रतिशत काम पूरा भएको छ। बिरुवा श्रेष्ठ एपेक्सले निर्माण गरिरहेको सडक जम्मा ५० प्रतिशत काम पूरा भएको छ ।
निर्माण कम्पनीहरूले ३० महिनामा पूरा गर्ने गरी २०७२ साल माघमा ठेक्का सम्झौता गरेका थिए । सम्झौता अवधि गत असारमै सकिए पनि २ सय १८ दिन काबु बाहिरको समय भन्दै थप गर्न निर्माण कम्पनीले आयोजनामा निवेदन दिएका छन् ।
निर्वाचन, विभिन्न समूहको बन्द हड्ताल, बेमौसमी वर्षा, चाडपर्व लगायतका कारण काम गर्न नसकिएको उक्त समय थप गर्दा निर्माण कम्पनीले आगामी फागुनसम्मको समय पाउने छन्। तर फागुनसम्म थपिएको समयमा पनि काम पूरा नगर्ने निर्माण कम्पनीसँग आयोजनाले जरिवाना असुल गर्न सक्ने छ।
आयोजना प्रमुख मिश्रले फागुनसम्म सर्भिस लेनसहितकै सबै सडक निर्माण पूरा हुने दाबी गर्छन्।
‘ठेक्का सम्झौतामा बाह्रै महिना भए पनि निर्माण कम्पनीलाई काम गर्न उपयुक्त महिना भनेको नै कात्तिकदेखि फागुनसम्म हो,’ उनले भने ‘यो समयमा वर्षा नहुने, कालोपत्रेको लागि उपयुक्त तापक्रम र चाडपर्व लगायतको प्रभाव समेत नपर्ने भएकोले निर्माणको काम तीव्र हुन्छ, फागुनसम्म सडक निर्माण पूरा हुन्छ।’
स्थानीय तहहरूले नदीजन्य वस्तुको ठेक्का नलगाइ सकेकोले बाँकी रहेको सडकमा नदीजन्य पदार्थको भने अभाव हुन सक्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख मिश्रले अझै ४० हजार घनमिटर नदिजन्य पदार्थ आवश्यक पर्ने जानकारी दिए ।