असोज ५ गते साँझ ७ बजे सामाखुसीस्थित बसपार्कमा हरिदेव महतो र दिलीपकुमार साहको भेट भयो।
‘दाजू, आहा कता स एलिअ (दाजू, कहाँबाट आएको)?,’ महतोले दिलीपलाई सोधे।
‘हामो, मलेसिया स एलिअ (म मलेसियाबाट आएको),’ दिलीपले भने।
‘आहा, कता पकजेबे (कहाँसम्म जाने)?,’ महतोले सोधे।
‘हामो, जनकपुर,’ दिलीपले भने।
‘ए, हामो उमर जेबे, सब आदमी चलुँ,’ महतोले भने।
आफ्नै भाषा, भेषभूषामा मिल्दो व्यक्तिले कुराकानी गर्दै ‘सँगै जाऔं’ भनेपछि साह महतोको पछि लागे।
नजिकैको पसलमा लगेर महतोले दिलीपलाई प्रस्ताव राखे, ‘जुस पियु?’
दिलीपले निर्दोषितापूर्वक पिउने स्वीकृति दिए।
महतोले पसलबाट के कसरी जुस ल्याए, दिलीपले वास्ता गरेनन्। जब जुस पिए, दिलीप लठ्ठिए।
तीन दिनपछि होस् खुल्दा दिलीप सामाखुसस्थित अल नेपाल अस्पतालको बेडमा थिए।
साथमा भएको ५१ हजार नेपाली, मलेसियाको १३ सय रिंगेट, घडी पाँच थान, मोबाइल, पावर बैंक, झोला केही पनि थिएन।
‘हामो उमर जेबे, सब आदमी चलूँ’ भनी जुस पिलाउने व्यक्तिको सम्झना आयो।
दसैंको मुखमा मलेसियाबाट घर फर्किएका उनी ‘इन्तु न चिन्तु’ बनी फर्किए।
यो खबर असोज १९ गते महानगरीय अपराध महाशाखामा पुगेको थियो। घर पुगेर काठमाडौं फर्किकन दिलीपले ठाडो उजुरी दिएका थिए। तत्पश्चात् महाशाखाले बसपार्कतर्फ टोली खटायो।
असोज २० गते धनुषा जिल्ला मिथिला नगरपालिका वडा नम्बर ४ बस्ने ती हरिदेव महतो यस्तै ‘सिकार’ गर्ने सिलसिलामा पक्राउ परे। सामाखुसी डेरा गरी बस्ने ३८ वर्षीय महतोले जनकपुर नगरपालिका १७ का दिलीपकुमार साहको साथमा भएको नगद, मलेसियन रिंगेटलगायत सबैथोक गायब पारिसकेका थिए।
घटनामा प्रयोग भएको अौषधी।
पक्राउ परेका महतोको साथबाट प्रहरीले आँपको जुस एक बोतल, लोराजिपाम ट्याब्लेट एक पत्ता, बा.४१प. ६४०२ नम्बरको सवारी दर्ता किताब, कार्साङ लामाको नामको पासपोर्ट बरामद गरेको थियो।
वैदेशिक रोजगारीबाट फर्केका साहलाई हरिदेवले जुसमा नशालु औषधी मिसाएर पिलाएका थिए। आफ्नै मूलको व्यक्तिलाई मैथिली भाषाबाट कुराकानी गर्दै उनले जुस पिलाएर लुटेका थिए।
महाशाखाका अनुसार दिलीप भदौ ५ गते नै मलेसियाबाट काठमाडौं उत्रिएका थिए। बसपार्क पुगेको केही समयमै सर्वस्व लुटिएर अस्पताल पुर्याइएका थिए। बेहोस् अवस्थामा उनलाई स्थानीयले अस्पतालसम्म पुर्याएका थिए।
अनुसन्धान अनुसार आँपको जुसमा हरिदेवले औषधि मिसाएर पिलाइदिएछन्। नेपालमा एकदमै कम बिक्री वितरण हुने यो औषधि मिसिएको जुस पिएपछि साह तीन दिनसम्म लठ्ठिएका थिए।औषधि मिसिएको जुसको नशा छुटाउन साहलाई सामुखुसीस्थित अल नेपाल अस्पताल लगिएको थियो।
बरामद वस्तुमध्ये सबैभन्दा महत्वपूर्ण एउटा ट्याब्लेट थियो। विशेषज्ञ चिकित्सकका अनुसार उक्त ट्याब्लेट मानसिक रोग (विशेषगरी तनाव कम) गराउने औषधी हो। तनावको मात्रा हेरेर विशेषज्ञ चिकित्सकको सिफारिसमा मात्र यो औषधी बिरामीलाई दिइन्छ।
यसले बिरामीलाई तनावमुक्त गराउँछ। बिरामीको अवस्था परीक्षण गरेर यसको मात्रा तोकिएको हुन्छ। ‘क्लोनाजिपाम, लोराजिपाम एकै प्रकृतिका औषधी हुन्,’ वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘साधारण मान्छेले यो औषधी खाए भने सजिलै लठ्ठिन्छन्, मात्रा बढी भयो भने लामो समयसम्म लठ्याउँछ।’
जुस र अौषधी
उनका अनुसार यो औषधी सम्बन्धित चिकित्सकलाई पनि मात्राअनुसार मात्र बिक्री गर्न अनुमति हुन्छ। तर नेपालमा भने पर्याप्त अनुगमन छैन, त्यसैले फार्मेसीहरूमा लुकाइछिपाइ बेचिन्छ। लागूऔषध प्रयोगकर्ताले बढीजसो यो औषधी बोक्ने गर्छन्। यस्तै, खुला सीमा भएका क्षेत्रमा भारतबाट ल्याइन्छ।
‘मात्रा बढी भयो भने यो औषधीले कलेजो र मिर्गौलामा पनि असर गर्छ,’ कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल भन्छन्, ‘२ एमजीको एउटा ट्याब्लेट खाँदा नर्मल मान्छे पूरै लठ्ठिन्छ। मात्रा बढी भयो भने मान्छेलाई आइसियुमै पुर्याउनुपर्ने अवस्था हुनसक्छ।’
गत असोज १२ चितवन माडीमा लुटपाटमा प्रयोग भएको औषधी पनि लोराजिपाम नै थियो। जुसमा मिसाएर पिलाइएपछि एक घरका सासु-बुहारीलाई आइसियुमा राखेर उपचार गर्नुपरेको थियो।
हेर्नुहोस्
सरसर्ती हेर्दा चितवन र काठमाडौंमा घटेका घटना उस्तै प्रकृतिका छन्।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार महतोले जुसमा लोराजिपाम मिसाएर एक जना मात्रलाई लुटेका थिएनन्।
महतोले असार ११ गते कपिलवस्तुका अहमद रजाकलाई यही औषधी प्रयोग गरेर लुटेका थिए। असार २८ गते महोत्तरीका सत्यनारायण महतो, साउन १ गते कपिलवस्तुका महेतल अली, साउन १२ गते चितवनका राजकुमार महतो, साउन १८ गते चितवनकै मोहम्मद कादिर मियाँ, साउन २० गते नेपालगञ्जका जोगिधीर यादव, भदौ ३१ गते नवलपरासीका रमेश चौधरी, असोज ४ गते रुपन्देहीका सञ्जय कुँवर र असोज १६ गते रुपन्देहीकै जबरक अली मुसलमानलाई लुटेका थिए।
सबैको सामाखुसीस्थित अल नेपाल हस्पिटलमै उपचार भएको थियो। ‘कसैको तीन घन्टा, कसैको छ घन्टा र कसैको तीन दिनसम्म होस् खुलेको थिएन,’ सिंहले सेतोपाटीसँग भने।
सिंहका अनुसार महतोलाई ज्यान मार्ने उद्योग, चोरी तथा ठगी मुद्दामा कारबाही गर्न काठमाडौं परिसरलाई लेखी पठाइएको छ। महतोमाथि अनुसन्धान गर्दा उनी एक जना मात्र घटनामा संलग्न रहेको पाइएको छ।
महतोमाथि अनुसन्धान गर्दा तीन वर्षदेखि यस किसिमको अपराध गरेको शंका पाइएको सिंहले बताए। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको पासपोर्ट लिएर मेनपावरको सम्पर्कमा पुर्याउने गरेको पनि पाइएको छ।
एसएसपी धिरजप्रताप सिंह।
‘यस किसिमको घटनाबाट सर्वसाधारण जहाँ जुनसुकै बेलामा सचेत हुनुपर्ने अवस्था छ,’ सिंहले भने, ‘हामी यस्तो घटना हुने सम्भावित ठाउँहरू पत्ता लगाएर सूक्ष्म अनुसन्धान गर्दैछौं।’
महतोले बसपार्क क्षेत्रबाट मात्र लुटपाट गरेको खुलेको छ। उनले बेहोस् बनाएर लुटपाट गरेका सबै व्यक्ति वैदेशिक रोजगारबाट फर्किएका थिए।
सिंहका अनुसार राजधानीमा लुटपाट मच्चाउने यो नयाँ तरिका उद्घाटित भएको छ। यो घटनाबाट मिजासिलो व्यवहार देखाएर लुट्ने समूहको खोजी गर्न प्रहरीलाई सतर्क गराएको छ। सिंहका अनुसार चाडबाडमा विदेशबाट घर फर्किने सर्वसाधारण ट्याक्सी तथा होटल सञ्चालकबाट ठगिएका गुनासो धेरै थिए। औषधी प्रयोग गरी लुट्ने घटना यसअघि दृश्यमा आएको थिएन।
‘चाडबाडलक्षित विशेष सुरक्षा योजना बनाएका छौं, छठ पर्वसम्म जारी रहने सुरक्षा योजनामा यस्तो किसिमको अपराधमा हामी चनाखो छौं,’ सिंहले भने।
असोज १६ गतेदेखि लागू भएको चाडबाडलक्षित विशेष सुरक्षा योजनामा हालसम्म २४२ जना पक्राउ गरिसकिएको सिंहले जानकारी दिए। चाडबाडको समयमा आपराधिक घटना हुन नदिन अपराध महाशाखाको विशेष टोलीमा थप सय जना प्रहरी सादा पोशाकमा परिचालन गरिएको छ। ती प्रहरीले चोरी-डकैती, संगठित अपराध, धम्की, चन्दा आतंक, बैंक डकैती, सुनचाँदी पसल, गुन्डागर्दीमा विशेष निगरानी गर्नेछन्।