बिहानै सुर्खेतको वीरेन्द्रनगरस्थित एरीचोकमा प्रहरी देखा परे। उनीहरूले भे १ त ३७४० नम्बरको ट्याक्टरलाई खानतलासी गरे।
ट्याक्टरमा बालुवा थियो। त्यहीभित्र १५ क्युफिट काठ भेटियो।
बालुवा ल्याउने बहानामा काठ तस्करी गरिएको थियो। प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाएका छन्।
यसरी सुर्खेतमा काठ तस्करी भएको घटना नौलो होइनन्। गत आर्थिक वर्षमा पनि एग्रोभेट सामग्री बोक्ने जीप खानतलास गर्दा कुखुराको दानामुनि काठ फेला परेको थियो।
डिभिजन वन कार्यालय सुर्खेतका अनुसार एक वर्षमा ५०० क्युफिटभन्दा धेरै काठ जिल्लाभित्रैबाट बरामद गरिएको छ। जिल्लाभित्रबाट दुइटा ट्रक, ट्रयाक्टर र जीपले अवैध काठ ओसारेका छन्। तीमध्येका करिब १२ जना तस्करीमा संलग्न पक्राउ परेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै घर बनाउनेको संख्या बढेको छ। ती उपभोक्तालाई काठ अभाव हुँदा तस्करी भइरहेको डिभिजन वन कार्यालय वीरेन्द्रनगरका प्रमुख हेमराज विष्ट बताउँछन्।
उनका अनुसार मुख्यगरी तीन तरिकाले अवैध रूपमा काठ ओसारपसार हुन्छ। पहिलो वैध सामानमुनि लुकाएर ढुवानी गर्दा, दोस्रो राति मानिसले बोकेर ओसार्दा र तेस्रो सानो परिमाणमा व्यक्तिले साइकलमा ओसार्ने।
‘सुर्खेतमा हुने आन्तरिक काठ तस्करी विभिन्न तरिकाले हुन्छन्,’ विष्टले भने, ‘यो रोकिएको छैन। यस्तो प्रवृत्तिको तस्करी बढीजसो सुराकीका आधारमा नियन्त्रण लिइन्छ।’
विष्टका अनुसार वीरेन्द्रनगरमा अवैध काठ आयात हुने नाकामा पश्चिममा बाङ्गेसीमल, पूर्वमा धुलियाबीट, उत्तरमा नेवारे र दक्षिणमा सानो सुर्खेत पर्छन्। अन्य नाकाको तुलनामा नेवारे क्षेत्रबाट कहिलेकाहीँ मात्रै अवैध काठ भित्रिने विष्ट बताउँछन्।
सुर्खेतमा वार्षिक ८ लाख रुपैयाँभन्दा बढी राजस्व काठ तस्करीबाट उठ्ने गरेको उनले बताए।
‘वार्षिक ५ देखि १० लाखको राजस्व अवैध काठ ओसारपसारबाट जम्मा हुन्छ,’ उनले भने, ‘जरिवाना र काठभन्दा पनि सवारी साधन लिलाम भएमा राजस्व बढी जम्मा हुन्छ। लिलाम नभएको खण्डमा वार्षिक पाँच लाख राजस्व जम्मा हुन्छ।’
पहिलेको तुलनामा कमी
सुर्खेतमा बढीजसो हिउँदको समयमा काठ तस्करी हुन्छ। जिल्लाभित्र हुने अवैध काठ ओसारपसार नरोकिए पनि पहिलेको तुलनामा कमी आएको विष्ट बताउँछन्।
‘केही समयअघि त सुर्खेतमा काठ तस्करी गर्ने गिरोह नै सक्रिय थियो। हामीले त्यस्ता गिरोहलाई ठाउँमा ल्याइसक्यौं,’ उनले भने, ‘अब गिरोह त छैनन्। त्यही पनि अन्य तरिकाबाट काठ तस्करी भइरहेको छ। यसलाई रोक्न हाम्रो प्रयास जारी छ।’
काठ तस्करीमा कमी आउनुका मुख्य दुई कारण भएको विष्ट औल्याउँछन्।
पहिलो – कार्यालयबाट हुने गस्ती।
दोस्रो – जिल्लामा रहेको काठ आपूर्ति समितिद्वारा उपभोक्तालाई सहज रूपमा काठ उपलब्ध गराउनु।
प्रमुख विष्टले जिल्लामा काठ तस्करी रोक्न जिल्लाबाट बाहिर काठ निर्यात हुन रोक्नुपर्ने बताए।
‘कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै यहाँ धेरै घर बन्न थालेका छन्,’ उनले भने, ‘यहाँबाट बाहिर काठ जान नदिएर स्थानीय उपभोक्तालाई नै त्यो काठ सहज रूपमा उपलब्ध गराउन सकियो भने तस्करी रोकिन्छ।’