गोरखाको सतिपिपलस्थित चौतारोमा सबेरैदेखि मानिस भेला भएका थिए। उनीहरूको मुहारमा खुसी देखिन्थ्यो। बेग्लै उत्साह पनि। आज नवरात्रको सातौं दिन-फूलपाती।
गोरखा दरबारको दसैं घरबाट बाजागाजासहित फूलपातीको डोली काँधमा बोकेर दरबारका सुसारे सतिपिपल चौतारा आइपुगे। सबैले फूलपाती पर्सिए। गोरखाका राजा पृथ्वीनारायण शाहले दुई सय वर्ष अघि छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी सिंगो नेपाल राज्य बनाएपछि गोरखा दरबारको दसैँ घरबाट हनुमानढोकामा फूलपाती लैजान सुरू गरेको इतिहास छ।
गोरखाबाट बिहान लगिएको फूलपाति साँझ हनुमानढोकामा भित्र्याएपछि विधिवत रूपमा दसैँ सुरू हुन्छ।
‘जुन बेला गोरखाबाट राजधानी काठमाडौं लगियो, त्यही बेलादेखि वर्षेनी गोरखाबाट फूलपाती हनुमानढोका पठाइन्छ’, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले सेतोपाटीसँग भने, ‘दरबार नै यहाँ थियो। राजा नै यहाँ थिए भने त्यसअघि हनुमान ढोका फूलपाती लैजानुपर्ने आवश्यकता थिएन।’
पृथ्वीनारायण शाहले राजधानी काठमाडौं बनाइसकेपछि मात्रै गोरखाबाट फूलपाती लैजान थालिएको उनले बताए।
पृथ्वीनारायण शाहले किन हनुमानढोकामा गोरखा दरबारबाट फूलपाति लैजाने प्रचलन चलाए त?
कट्टेलले बेलिविस्तार लगाए, गोरखकाली भगवती र शाहवंशीय राजाको उद्गम थलो, मूल दरबार नै गोरखा दरबार।
पृथ्वीनारायण शाहको भगवती मन्दिरप्रति श्रद्धा र भागभक्तिले गोरखाबाट लगेको फूलपाती हनुमानढोकामा भित्र्याउन थालियो। वि.सं, १८०० तिर पृथ्वीनारायण राजा भएपछि सुरू भएको फूलपाती काठमाडौं लैजाने चलन अहिलेसम्म जीवित छ।
दरबार हेरचाह अड्डाका अनुसार २०६६ सालसम्म दरबारका सुसारेहरूले गोरखा-धादिङको केवलपुर जीवनपुर हुँदै हनुमानढोकासम्म फूलपाती लैजाने चलन थियो। सडक विस्तार भयो। गाडी सहज पाइन थाल्यो। ०६६ पछि गाडीमा फूलको डोली राखेर राजधानी पठाउने गरिएको छ।
आज मंगलबार पनि यस वर्षको दसैँका लागि फूलपाती हनुमानढोका दरबार पठाइएको छ। गोरखा दरबार र गोरखा पर्यटन विकास केन्द्रको सहकार्यमा फूलको डोली लिएर पूजारी लोकप्रसाद भट्टराई हनुमानढोकातर्फ गएका छन्। गोरखाका पूजारी भट्टराईले साँझ हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्षबढाइका साथ भित्र्याइन्छ।
बा २० च ४३९४ नम्बरको बोलेरो जीपमा राखेर बिहान ८ बजे फूलपातीको डोली पठाइएको कट्टेलले बताए। फूलपातीको जोहो गर्न हिजो रातिदेखि दरबारका सुसारेहरू खटिएका थिए। रातभर भिर्कुटे र सुसारेहरूले विधिपूर्वक मन्त्रोचारण गरी जोहो गरेको फूलपाती बिहान गोरखा दरबारको दसैँ घरबाट डोलीमा राखेर हनुमानढोका पठाउने चलन छ।
फूलपातीमा के-के फूल मिसाइएको छ भन्ने जानकारी दरबारका सुसारेबाहेक अरुलाई हुँदैन। फूलपातीको जोहो थापाहरूले गर्दै आएका छन्। उनीहरूका बाबु बाजेले पनि फूलपातीको जोहो गर्ने काम गरे। त्यो काम पुस्ता हस्तान्तरणसँगै अहिले रामेश्वर थापा, कृष्णबहादुर थापाको जिम्मेवारीमा आइपुगेको छ। वंश परम्परा अनुसार नै थापा थरिले फूलपातीको सरदम संकलन गर्छन्। दरौंदी किनार, अमराईलगायतका ठाउँबाट फूलपाती संकलन गरिन्छ।
संकलन गरिएको फूलपाती आधा हनुमानढोका पठाइन्छ भने बाँकी साँझ हर्षबढाइका साथ बन्दुक पड्काएर गोरखाको दसैँ घरमा भित्र्याउने चलन छ। गोरखा दरबारमा फूलपाती भित्र्याएको छोप्राकीहरूले हेर्न/नहुने प्रचलन पनि छ।
फूलपाती भित्र्याउँदा बाजागाजा बजाइन्छ, बन्दुक पड्काइन्छ। तर रामशाह चौतारो नजिकै डाँडाँमा पुगेपछि भने बाजागाजा र बन्दुक पड्काउन छाडिन्छ। यो डाँडाँमा बाजा बजाए वा बन्दुक पड्काए छोप्राकीले सुन्छन् भन्ने चलन छ।
किन, छोप्राकीले बाजा सुन्न नहुने? यसको यही कारण भन्ने छैन। छोप्राकमा कालिकाको मन्दिर छ। त्यो मन्दिरबाट देवता चोरेर गोरखाको दरबार छेउको कालिका मन्दिरमा ल्याइयो। छोप्राकीले पहिले छोप्राकमा हुँदाका देवता र उही देवता गोरखाको कालिका मन्दिरमा सजाएपछिका भिन्नता छुट्टाउँदा टोलाएछन्। अहिले पनि कोही एकोहोरो टोलायो भने गोरखातिर छोप्राकीले फूलपाती हेरेझैं टोलाएको भन्ने गरिन्छ।
छोप्राकीलाई बाजा र बन्दुकको हर्षबढाइ किन सुनाइएन र यो प्रचलन कहिलेदेखि सुरू भयो? कसले सुरू गरे भन्ने एकिन छैन। २०७२ को भूकम्पले क्षति पुगेको गोरखा दरबार पुनर्निर्माणको क्रममा छ। दरबारमा राख्नुपर्ने जमरा गोरखनाथ गुफामा राखिएको छ। दरबार पुनर्निर्माण तीन वर्षमा सक्ने भने पनि अहिलेसम्म जग राख्ने काम पनि सकिएको छैन। दरबार पुनर्निर्माण नहुँदा दसैँ मनाउन असजिलो भएको पूजारीहरू बताउँछन्। गोरखकाली मन्दिरमा अष्टमीमा बोकाको बली दिइन्छ भने नौरथाभर दरबारमा बोका, राँगा, कुखुरा, भेडाको बली दिने गरिन्छ। देशमा राजतन्त्र हटेर गणतन्त्र आएपछि पूजाआजा गर्ने बजेट र कर्मचारी अभाव छ।