नेपालीहरुको महान् चाड बडादशैं सबैको घरघरमा भित्रिसकेको छ। पारिवारिक जमघट, सुख दुःख आदान प्रदान, मिठा मीठा परिकार बनाएर खाने, मान्यजनबाट टीका-आशीर्वाद ग्रहणजस्ता क्रियाकलाप गरेर मनाइने यो चाड निकै उल्लासमय रहन्छ। तर, यही अवसरमा हाम्रो अस्वस्थकर आहार विहारले स्वास्थ्यमा आकस्मिक एवम् दीर्घकालीन असर पुर्याउन सक्छन् त्यसैले हामी समय मै सजग हुनु आवश्यक छ।
आयुर्वेद
शरद ऋतु (आश्विन र कात्तिक महिना) मा देवी उठ्ने हुनाले यो बेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडा दशैंको रुपमा धुमधाम,मनाउने चलन छ।
त्यसैले यस समयमा आयुर्वेद ,चरक संहितामा बर्णन भए अनुसारको शरद ऋतुचर्या अपनाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। वर्षा ऋतुमा शरीर शीत भैराखेको हुन्छ र जब शरदमा सूर्यको ताप बढ्छ पित्त कुपित हुन्छ।
त्यसैले शरद ऋतु (दशैं,तिहार,छठ) भरि सात्म्य आहार जस्तै अन्नमा पित्त प्रशमक, यव, गोधुम, शाली, धृतपान आवश्यक पर्छ भने औषधमा विरेचन र रक्तमोक्षण आवश्यक पर्दछ।
यस अवधिका सात्म्य (हित) विहारमा स्वच्छ वस्त्र धारण, माल्यधारण, शायंकालमा चन्द्रकिरण सेवन आदि क्रियाकलाप पर्छन्। यस शरद ऋतुभरिका असात्म्य (अहित) आहारमा वसा, तैल, क्षार, दधि र असात्म्य विहारमा दिवा स्वप्न, पूर्वीवायुको सेवन आदि पर्छन्।
मांसाहारी भोजन र व्यायाम-
रातो मासु हुने पशुमा खसी, बोका, भैंसी, राँगा, भेडा, बाख्रा पर्छन् भने पन्छीमा हाँस, परेवा आदि। सेतो मासु हुनेमा माछा र कुखुरा पर्छन् ।मायोग्लोबिनको बढी मात्रा भएकोलाई रातो मासु र कम मात्रा भएकोलाई सेतो मासु भनि वर्गिकरण गरिन्छ।
रातो मासुमा जिंक,फस्फोरस, लिपोइक एसिडको मात्रा बढी हुने हुनाले दैनिक रातो मासु सेवन गर्दा मुटु रोग र क्यान्सर हुने जोखिम १३ प्रतिशतले वृद्धि हुने अध्ययनले देखाएको छ।
त्यसैले शरीरमा युरिक एसिडको मात्रा बढ्ने, मुटु रक्तनलीमा गएर समस्या दिने हुँदा मासु नखाई नहुने बाध्यकारी अवस्थामा बिकल्पको रुपमा सेतो मासु उपयोग गर्नु स्वास्थ्यका लागि हितकार रहन्छ। सम्भावित रोगबाट बच्न दशैंमा मासुसँगै सागपात, फलफूल र रेसादार खानेकुरा समेत खानुपर्छ।
ताजा एवम् झिंगा नभन्किएको मासु मात्र किन्नु पर्छ र राम्रोसँग पकाएर मात्र सेवन गर्नुपर्छ नत्र फुड पोइजनिङ, झाडापखाला लाग्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्न सक्छन्।
हेभि प्रोटिनयुक्त खानालाई पचाउन र शरीरलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न नियमित व्यायाम आवश्यक पर्छ।
अन्त्यमा, चाडपर्वका नाममा हुने अस्वस्थकर आहार विहारले आफ्नो स्वास्थ्यलाई बाधा पुग्नुको साथै परिवारमा नैराश्यता उत्पन्न गराई आर्थिक क्षतिसमेत व्यहोर्नु पर्ने हुन सक्छ। त्यसैले ग्यास्ट्रिक, मोटोपना, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्रोनिक किड्नी रोग आदि समस्या भएका रोगी एवम् समस्या नै नभएका व्यक्तिहरुले समेत आफ्नो स्वास्थ्यको संवर्धन गर्नका निम्ति दशैंमा मात्र नभएर अरु बेलामा पनि ऋतुचर्या र उचित खानपान शैली अपनाउनु नितान्त आवश्यक छ।