गोरखा दरबारबाट पठाइएको फूलपाती मंगलबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ।
गोरखाबाट बा २० च ४३९४ नम्बरको बोलेरो जीपमा राखेर बिहान ८ बजे फूलपातीको डोली काठमाडौं पठाइएको थियो। साइतअनुसार मंगलबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
गोरखा दरबार र गोरखा पर्यटन विकास केन्द्रको सहकार्यमा फूलको डोली लिएर पूजारी लोकप्रसाद भट्टराई हनुमानढोका आएका थिए।
गोरखाका पूजारी भट्टराईले साँझ हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्षबढाइका साथ भित्र्याइएको छ।
यसै सन्दर्भमा, सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो।
हेर्नुहोस् तस्बिरहरू: