नवरात्रको आठौं दिन आज - महाअष्टमी।
घर-घरमा खसी, बोका, राँगा, च्यांग्रा काट्न नेपालीहरू व्यस्त छन्। बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीमा धेरै पशुपंक्षीको बध गरिन्छ। तर गोरखाको उत्तरी भेगमा पशुपंक्षीको काटमार नगर्ने गाउँ छ- जसलाई चुम उपत्यकाले चिनिन्छ।
छेकम्पार र चुम्चेत गाउँले वि.स १९७७ देखि अहिंसा क्षेत्रको पहिचान बनाएका छन्। यहाँका मानिसहरू दसैँ मान्दैनन्। यहाँ बौद्ध धर्माबलम्वी बस्छन्। यहाँ पशुपंक्षीको मारकाटजन्य कार्यलाई पूर्ण निषेध गरिएको ९८ वर्ष भइसकेको छ।
चुम उपत्यकालाई अहिंसा क्षेत्रको रूपमा पुन: वि.सं. २०६९ सालमा औपचारिक घोषणा गरियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले छेकम्पारमा चुम कल्याण समितिले गरेको महोत्सवमा अहिंसा क्षेत्र घोषणा गरे। अहिंसा क्षेत्रलाई विश्वसामु चिनाउन र यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याउन स्थानीय बासिन्दाले चुम उपत्यकामा साँस्कृतिक 'स्याक्या' महोत्सव गरी चुम उपत्यकालाई हिंसामुक्त क्षेत्र बनाए।
अहिंसा क्षेत्र बनाउनुपूर्व यहाँ केही नियम बनाइयो। चुम कल्याण समितिका अध्यक्ष भइसकेका छेकम्पारका निमा लामाका अनुसार चुम उपत्यकामा बसोबास गर्ने बासिन्दाले मह काड्न, सिकार खेल्न, पशुपंक्षी काटमार गर्न, जंगलमा डढेलो लगाउन र मासुजन्य पशुपंक्षी ओसारपसार गर्न पाउँदैनन्। किनभने यो अहिंसा क्षेत्र हो।
कसैले नियम तोडे के गर्ने? स्थानीयले बनाएको नियम यस्तो छ। कसैले नियम उल्लंघन गरेमा गुम्बामा बत्ती बाल्नुपर्छ। बत्ती बाल्दा कम्तीमा २० हजार खर्च हुन्छ। यही खर्च नै अहिंसा क्षेत्र उल्लंघन गरेबापतको जरिवाना हो।
संरक्षित झारल, घोरल, नाहुर, डाँफेलगायत पशुपंक्षी काटमार वा सिकार गरेमा प्रहरीलाई बुझाइन्छ, प्रहरीले कानुनअनुसार दोषीलाई कारबाही गर्छ। अहिले यस क्षेत्रमा व्यवसायिक चौरी पाल्न थालिएको छ।
छेकम्पारमा चिज उद्योग खुलिसकेको छ। स्थानीय बासिन्दाले दूध, घ्यु, चिज र छुर्पीका लागि पशुपालन गर्छन्। पालेका पशु काटमार गर्न कसैलाई विक्री गर्दैनन्।