रुपन्देहीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र परियोजनाको कार्यालय उद्घाटन गरिएको छ। निवेदन दिएर पनि औद्योगिक क्षेत्रको अभावमा वर्षौदेखि उद्योग सञ्चालनको पर्खाइमा रहेका उद्योगीहरूमा कार्यालय उद्घाटनसँगै आशा पलाएको छ।
बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मोतिपुरमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण हुँदैछ। मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) स्वीकृत गरी वातावरणीय प्रभाव मूल्यांकन ‘ईआईए’ को काम सुरू गरिएको छ।
८ सय १४ विगाह क्षेत्रफलमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक क्षेत्र रुपन्देहीको भने दोस्रो हो। यसअघि बुटवल रामनगरमा २०३२ सालदेखि बुटवल औद्योगिक क्षेत्र सञ्चालनमा रहेको छ।
परियोजन कार्यालयको उद्घाटन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले प्रत्येक प्रदेशमा १ हजार विगाह क्षेत्रफलमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको बताए। उनले सोही अनुसार प्रदेश ५ को बुटवलमा औद्योगिक क्षेत्र निर्माण सुरू गरिएको जानकारी दिए।
५ वर्षभित्र निर्माण सम्पन्न गरी औद्योगिक क्षेत्रलाई पूर्णरूपमा सञ्चालन गर्ने योजना रहेको महाप्रवन्धक बस्नेतले बताए। वन तथा वातावरण मन्त्रालयमा ईआईएको प्रतिवेदन अध्ययनको अवस्थामा रहेको र प्रतिवेदन आउनासाथ औद्योगिक क्षेत्र निर्माणले गति लिने बताइएको छ। जसमध्ये यस आर्थिक वर्षमा वातावरण मूल्यांकन, सडक, विद्युत आपूर्तिको प्रारम्भिक चरणको कार्य सम्पन्न गर्ने र औद्योगिक क्षेत्रमा उद्योग स्थापनाको लागि असार मसान्तसम्म प्रस्तावना आह्वान गर्ने लक्ष्य रहेको छ।
तिनाउ नदीको तटमा निर्माण हुने औद्योगिक क्षेत्रमा रहेको बस्ती चुनौतीको रूपमा रहेको थियो। डिपिआरले बस्तीलाई यथास्थितिमा राख्दै त्यसको लागि १ सय ४३ विगाह क्षेत्रफल छुट्टाइएको छ।
औद्योगिक क्षेत्रमा परेका अन्य घरलाई पनि व्यवस्थापन गर्नेगरी परियोजनाले डिपिआर तयार गरेको हो। तिनाउ नदीको बहावलाई न्यूनतम ५० मिटर कायम गरी ३ सेक्टरमा विभाजन गरी प्लट तोकिएको छ।
८ अर्बको लागत अनुमान गरिएको परियोजनामा विद्युतको छुट्टै फिडर, सशस्त्र सुरक्षा बलको २ सय जनाको व्यारेक, फोहोर पानी प्रशोधन केन्द्र, चार लेनको मुख्य सडक, २ लेनको सहायक सडक, बैंक, शिशु स्याहार केन्द्र, स्वास्थ्य क्लिनिक, एकीकृत भन्सार चेकपोष्ट लगायतका संरचनाको निर्माण गरिने छ ।
परियोजना प्रमुख अशोक पौडेलले परियोजनाको निर्माण समयमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताए।