सुर्खेतको लेकवेशी नगरपालिका-१० भट्टेघारीमा रहेको रुरल एजुकेशनल डेभलपमेन्ट एकेडेमीले राष्ट्रिय वन मासेर स्कुल सञ्चालन गरेको पाइएको छ।
स्थानीयले सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दिएको उजुरीका आधारमा डिभिजन वन कार्यालय वीरेन्द्रनगरले गरेको अनुसन्धानका क्रममा एकेडेमीले त्यहाँको डेढ विगाहा जंगल मासेर बोर्डिङ स्कुल सञ्चालन गरेको भेटिएको हो।
समितिले गरेको छानबिनका क्रममा २०६९ सालमा राष्ट्रिय वन मासेर बोर्डिङ स्कुल सञ्चालनमा ल्याइएको पाइएको हो।
मदन भण्डारी राजमार्गअन्तर्गत धुलियाबिट–भेडाबारी सडकखण्डमा पर्ने भट्टेघारीमा डेढ विगाहा जंगल मासेर विद्यालय सञ्चालन गरिएको पाइएको सव–डिभिजन वन कार्यालय चिङ्गाडले जनाएको छ। जंगल मासेर सात वर्षदेखि सञ्चालनमा आइरहेको उक्त बोर्डिङलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा प्रतिवेदन बुझाएको चिङ्गाड सव–डिभिजन वन कार्यालयका प्रमुख भोजप्रसाद उपाध्यायले बताए।
स्थानीयले जंगल मासेर विद्यालय सञ्चालन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। उजुरीपछि छानबिनका लागि अख्तियारले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो। अख्तियारको निर्देशनपछि तत्कालीन जिल्ला वन कार्यालय सुर्खेतले उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
‘स्थानीय रानी चौतारी सामुदायिक वन, स्थानीय बासिन्दासँगको छलफलका क्रममा बोर्डिङ स्कुल रहेको क्षेत्र राष्ट्रिय वन भएको र सोही वन फडानी गरेर बोर्डिङ स्कुलले भौतिक संरचना निर्माण गर्नुका साथै ६ वर्षदेखि सोही क्षेत्रमा पठनपाठन गरेको देखियो । राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउनु उपयुक्त देखिन्छ,’ छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
स्थानीय भरतराज रेग्मीको नाममा रहेको जग्गा सम्बन्धित निकायमा पेश गरेर अन्यत्र ऐलानी जग्गामा अवैध रूपमा विद्यालयको संरचना बनाएर सञ्चालन गरिरहेको स्थानीय रानीचौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिलबहादुर खत्रीले बताए। उक्त बोर्डिङका सञ्चालक पनि रानीचौचारी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता रहेको उनले जानकारी दिए।
खत्रीका अनुसार उक्त बोर्डिङ स्कुल पहिले भरतराज रेग्मीको घरमा सञ्चालन गरिएको थियो। उही स्थान पेश गरी अन्यत्र राष्ट्रिय वन मासेर विद्यालय सञ्चालन गरिरहेको खत्रीले बताए।
‘कुनैपनि प्रमाणबिना राष्ट्रिय वन मासेर स्कुल सञ्चालन गरिएको छ,’ उनले भने, ‘त्यसरी वन फाड्नु गलत हो कारबाही गरिनुपर्छ।’
यता, डिभिजन वन कार्यालय सुर्खेतले छानबिन समितिको प्रतिवेदनका आधारमा स्कुलको दर्ता खारेज गर्न शिक्षा विकास तथा समन्वय इकाईमा पत्राचार गरेको छ।
राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर निजी स्कुल सञ्चालन गरेको पाइएकाले दर्ता खारेज गर्नेतर्फ आवश्यक कारबाही गर्न भन्दै असोज २५ गतेको मितिमा डिभिजन वन कार्यालयले पत्र पठाएको छ।
वन डिभिजन कार्यालय वीरेन्द्रनगरका प्रमुख हेमराज विष्टले छानविनपछि विद्यालय सञ्चालकलाई प्रमाण देखाउन स्पष्टिकरण माग गरे पनि प्रमाण देखाउन नसकेकाले दर्ता खारेज गर्न पत्राचार गरिएको बताएका छन्।
‘राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी सोही ठाउँ बस्ने हरिप्रसाद रेग्मीले ‘रुरल एजुकेसनल डेभलपमेन्ट एकेडेमी (रेडा)’ नामक बोर्डिङ स्कुल सञ्चालन गरिरहेको पाइएको छ । वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा निर्माण भएको बोर्डिङ स्कुलको दर्ता खारेज गर्नेतर्फ आवश्यक कारबाही गर्नुहुन अनुरोध छ।’ कार्यालयले शिक्षा विकास तथा समन्वय इकाईमा पठाएको पत्रमा भनिएको छ ।