लोकसेवा आयोगले दुई महिनाका लागि कर्मचारी छनोट प्रक्रिया रोकेको छ। आयोगको नियमित कार्यतालिका अनुसार असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव वा सो सरह तथा एघारौं र नवौं तहमा पदपूर्तिको विज्ञापन खोल्नुपर्ने भए पनि सरकारको अनुरोधपछि आयोगले प्रक्रिया रोकेको हो।
असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकले ‘एक पटकलाई दुई महिना विज्ञापन नगर्न’ अनुरोध पत्र प्राप्त भएपछि विज्ञापन नगरिएको आयोगले जनाएको छ।
‘असोजको अन्तिम बुधबार विज्ञापन गर्नुपर्ने हो। तर, एक पटकलाई दुई महिना पछि हुने गरी पुनर्तालिकीकरण गर्ने पत्र आएपछि विज्ञापन गरेनौं,’ आयोगका प्रवक्ता सहसचिव किरणराज शर्माले सेतोपाटीसँग भने, ‘यो निर्णयले नियमित कार्यतालिका प्रभावित भयो।’
आयोगलाई दुई महिना विज्ञापन नगर्न अनुरोध गरेको पत्र असोज २९ गते पुगेको थियो। शर्माका अनुसार यस पटक विज्ञापन निकाल्नका लागि आवश्यक माग संख्या मन्त्रालयहरू तथा निकायले उपलब्ध गराएका पनि थिएनन्। तर, स्वास्थ्य सेवा र न्याय सेवाले भने संख्या नै पठाएका थिए।
‘कति संख्यामा कुन पदमा कर्मचारी छनोट गर्ने भन्ने निर्क्यौल भएको थिएन। कर्मचारी संख्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट माग पनि आएन,’ शर्माले भने।
आयोगले वार्षिक कार्यतालिका नै बनाएर लिखित/मौखिक परीक्षा लिने र नतिजा निकाल्ने मिति उल्लेख गरेको हुन्छ। त्यो अनुरूप नै आयोगले कार्यसम्पादन गर्छ। सेवा समूह सञ्चालन गर्ने मन्त्रालय तथा निकायले माग नपठाएकोले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिना रोक्नु भन्ने चिठी पठाएकोले एक पटकलाई दुई महिनाका लागि विज्ञापन रोकिएको उनले बताए।
आयोगले गत वर्ष २९७ दिन लिखित परीक्षा चलाएको थियो। दुई महिनासम्म परीक्षा नै नलिने तथा विज्ञापन नै नखोल्ने हो भने पछि समय अभाव हुने प्रवक्ता शर्माले बताए।
आयोगले प्राय सार्वजानिक बिदाका दिन परीक्षा लिन्छ।
‘दुई महिना जाँच नै नलिएर बस्ने त्यसपछि लिने हो भने काम चापाचाप हुन्छ,’ उनले भने, ‘आयोगको काम नै कर्मचारी छनौट गर्ने हो। हामी दिनरात नभनी काम गरौंला। समय जसरी पनि व्यवस्थापन गरौंला। तर कर्मचारीको वृद्धिविकास, अनुभव र उत्प्रेरणामा असर पर्न सक्छ। कर्मचारीको करियर बिग्रन्छ।’ यसअघि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै कर्मचारी छनौट गर्दै आएको थियो। असोजमा गर्नुपर्ने विज्ञापन मंसिरसम्म रोकिएपछि आयोगले अब नयाँ कार्यतालिका बनाउनुपर्ने हुन्छ। जसले कर्मचारीको व्यस्तता बढाउँछ भने परीक्षाको तयारीमा रहेकाहरूलाई पनि अलमल हुन्छ।