बलात्कार र हिंसाका घटना बढिरहेको समयमा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियानको सुरूआत गरेको छ।
अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थाको सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित आइतबारदेखि देशका सबै प्रदेश र जिल्लाहरूमा एकैपटक यो अभियानको थालनी गरिएको प्रहरीले बताएको छ।
हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ सुरू गरिएको अभियान प्रदेश पाँचमा पनि आइतबारदेखि सुरू गरिएको हो।
अभियानले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुधार गर्नुको साथै पारदर्शीता कायम गर्न भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले जिल्ला, पालिका, टोल, समुदाय र विद्यालयमा समेत समुदाय प्रहरी साझेदारी अभियान सञ्चालन गरिने बताए।
विद्यालयमा पुर्याइने समुदायिक प्रहरी साझेदारी अभियानले अरु अपराधसँगै यौनजन्य र लागुऔषधका घटनालाई न्यून गर्न सकिने अपेक्षा गरिएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मानबहादुर विश्वकर्माले अपराधीलाई कारबाही गरेर मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै अपराध नियन्त्रणमा समाजलाई नै परिचालित गर्नुपर्ने बताए।
‘विकास र समुदायका लागि सुरक्षा हो,’ उनले भने ‘देश विकासमा लगाउनुपर्ने युवा जेलमा राख्नुपर्ने अवस्था आउनु दु:खद हो।’
देशैभर एकैसाथ सुरू गरिएको अभियानलाई एउटै छातामा समेटर स्थानीय सरकारसँगको समन्वयमा अगाडि बढाउने प्रहरीको तयारी छ।
नेपाल प्रहरीले यसअघि मुस्कानसहितको सेवा, टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी, प्रहरीसँग नागरिक हातेमालो लगायतका अभियान सञ्चालनमा ल्याएको थियो ।