ब्लक र इँट्टाको गारोमा टिनले छाएका घरहरूको झुरुप्प बस्ती।
खोलाको बगरमा रहेकोले होला बाटोदेखि सबैका घरको ढोकासम्म नै ढुंगा, गिट्टी र बालुवा थुप्रिएका छन्।
घरमा रहेका महिला पुरुषसँगै बालबालिका सबैको जिउने आधार तिनै ढुंगा बन्ने गर्छन्। शरीरमा अलि बल हुनेले टाढासम्म पुगेर ढुंगा खोजेर ल्याउँछन्। महिला र बालबालिकाले तिनै ढुंगामा हथौडा र छिना चलाएर बुट्टा कुद्ने गर्छन्।
अलि जोडले हथौडा हान्न नसके ढुंगालाई आकार दिन सकिँदैन बढी जोडले हान्यो ढुंगा नै फुट्ने डर। हेर्दा जति गाह्रो देखिन्छ ढुंगालाई जोगाएर आकार र बुट्टा निकाल्न उति नै कठिन छ।
जतिधेरै ढुंगा खोज्न सक्यो र आकार दिन सक्यो उति धेरै आम्दानी। सहरको बीचमा भएर पनि सहरले छुन नसकेको यो घटना हो देशमै पाँच पटकसम्म सर्वोत्कृष्ट बनेको बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरस्थित हात्तीसुंढमा रहेको पत्थरकट्टा समुदायको।
यहाँ रहेका १२ परिवार कुसवाडिया समुदायको साँझ बिहानको हातमुख जोड्ने आधार ढुंगा कुँदेर बनाएका सिलौटो र लोहोरो नै हुन्। घरका लोग्ने मानिसहरू दिनभरि घरमा भेटिइँदैनन्। बिहानै उठेर बस्तीको छेवैमा रहेको तिनाउको बगर, मगरघाट, देवदहको घोडाहा, पाल्पाको सिद्धबाबा, केराबारी, झुम्सासम्म ढुंगा ल्याउन पुग्छन्।
महिला र बालबालिकाले घरमै बसेर ढुंगालाई सिलौटो र लोहोरोको विभिन्न साइजमा आकार दिएर बुट्टा कुद्ने गर्छन् । केहीदिन अघि सो बस्तीमा पुग्दा १२ वर्षीय आशिष कुसवाडिया आँगनमा बसेर हथौडाले ढुंगा फोर्दै थिए। ८/१० पटक हथौडा हाने पनि ढुंगा फुटेन, नजिकै रहेकी आमा अमरावतीलाई दिए।
छोराको भन्दा अलि ठूलो घन छोपेकी अमरावतीले दुईपटक के हानेकी थिइन् ढुंगा तीन टुक्रा भएर फुट्यो। बीचबाट फुटाएर दुइटा लोहोरो बनाउन खोजेकी अमरावतीले तीन टुक्रा भएपछि एउटा मात्र लोहोरो बनाउन सकिन्।
उनका श्रीमान् रामु कुसवाडिया क्षयरोगका बिरामी थिए ४० वर्षका नहुँदै डेढ वर्ष अघि मृत्यु भयो। श्रीमानको मृत्युपछि तीन छोरी र एक छोराको जिम्मेवारी अमरावतीको काँधमा आयो। कुसवाडिया समुदायले पुस्तौदेखि ढुंगाबाट सिलौटो र लोहोरो बनाएर नै जीविका चलाउँदै आएका छन्।
शोभा कुसवाडिया पनि यहाँ बस्न थालेको १० वर्ष भयो।
श्रीमान् महेन्द्र बिहानै उठेर विभिन्न खोलाका बगर चहार्न पुग्छन्। तीन छोरा र एक छोरीसँगै मृगौलाका रोगी ससुराको रेखदेख गर्दै खाली भएको समयमा शोभाले श्रीमानलाई सघाउँछिन् ।
‘केही वर्ष पहिले तिनाऊ खोलाको बगरमा सिलौटो बनाउने ढुंगा प्रशस्त पाइन्थे। गिट्टी बालुवाको उत्खनन् सुरू भएपछि ढुंगा पनि पाइन छोडेका छन्।
‘नजिक ढुंगा पाउन छोडेपछि पाल्पा, नवलपरासीसम्म ढुंगा खोज्दै जानुपर्छ, दिनभरि बगर र पहाड चहारेर ढुंगा थुपार्यो ल्याउने बेला स्थानीय युवाहरूलाई पैसा तिर्नुपर्छ,’ गोविन्द कुसवाडियाले गुनासो गरे।
‘तिनाउ खोलामा भेटिँदासम्म पैसा तिर्नु पर्दैनथ्यो अहिले त धेरै बेर लगाएर खोज्नुपर्छ, ढुंगा पनि डल्लो हुन्छ, साइज र आकार बनाउन समय लाग्छ, दोभानतिरको च्याप्टो हुन्छ बनाउन सजिलो हुन्छ। त्यसैले पैसा तिरेर भए पनि उतैबाट ल्याउँछौं,’ उनले भने।
एउटा ढुंगाको २० देखि ५० रुपैयाँसम्म रोयल्टी तिर्ने गरेको उनले बताए ।
‘कहिलेकाहीँ त युवाहरूले ५० रुपैयाँ माग्छन् तर रसिद भने २० रुपैयाँको दिन्छन्। पैसा दिएन भने पिट्छन्, दिनभरि दुःख गरेर फोरेको ढुंगा ल्याउन दिँदैनन्। अर्कोपटक जान पनि दिँदैनन् रसिद नदिए पनि पैसा त दिनै पर्यो,’ उनले दुःखेसो गरे ।
उमेरले २५ वर्ष टेक्दै गरेका गोविन्दले पढ्न पाएनन्। अरु सीप पनि सिकेनन्। बुवा आमाले सिलौटो बनाएर नै जीविका चलाए, सानैदेखि बुवाआमालाई सघाउँदै गर्दा उनी पनि यसैलाई आफ्नो पेशा बनाउन पुगे।
दुई/तीन वर्ष पहिलेसम्म राम्रै विक्री हुने सिलौटो लोहोरो पछिल्लो समय भने त्यति विक्री हुन छोडेको छ। मसला, अचार पिस्न उपयुक्त मानिने सिलौटोको स्थान अहिले विद्युतीय मेशिनहरूले (मिक्सचर) लिएका छन्।
‘पिस्न गाह्रो भए पनि सिलौटोले पिसेको चटनी र मसला मीठो हुन्छ तर सबैलाई सजिलो चाहिएको छ अनि कहाँबाट विक्री हुन्छ,’ गुडिया कुसवाडिया भन्छिन् ।
पहिलेजस्तो सिलौटोको व्यापार नभए पनि सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ता रकमले केही सजिलो भएको गुडियाले बताइन्।
१४ वर्षमै बिहे, १७ वर्षमा दुई सन्तान
ममता कुशवाडिया भर्खरै १८ वर्षकी भइन्। साथीहरूसँग गट्टा खेल्ने र स्कुल जाने उमेरकी ममता आमा बनेको तीन वर्ष पुगिसक्यो। उनी १४ वर्ष लाग्दै थिइन् बाबु रामु र आमा अमरावतीले विवाह गरिदिए।
ममताका श्रीमान राजेन्द्र पनि २० वर्षका छन् । ममताले १६ वर्ष नपुग्दै छोरी महिमालाई जन्म दिइन्। छोरी दुई वर्षकी नपुग्दै छोरा साहिललाई जन्म दिइन्।
अहिले छोरी साढे दुई वर्ष र छोरा ६ महिनाका भए। बाबुको मृत्यु भएपछि ममता र राजेन्द्र आमासँगै माइतीमै बस्छन्। आमाले सिलौटो बनाउँछिन् राजेन्द्रले बजार र गाउँमा डुलेर बेच्छन्।
यहाँका सबैजसो परिवारका युवायुवतीहरूको १४/१५ वर्षमै विवाह हुने गरेको छ। गुडिया कुशवाडियाले पनि आफ्ना तीन जना छोरीको १४ वर्षमै विवाह गरिदिएको बताइन्।
‘देसीहरूमा सानैमा विवाह गर्ने चलन छ, छोरीहरूलाई ठूलो उमेरसम्म राख्नु हुँदैन भागेर गए ईज्जत जान्छ,’ उनले भनिन्।
बुटवलमै रहेर पनि यो समुदायमा छोरीहरूको सानैमा विवाह गरिदिए आफ्नो परिवारको ईज्जत रहन्छ भन्ने गलत धारणा व्याप्त छ।
‘छोरीहरू राम्रा थिए, भगाएर लैजाने केटा राम्रो परेन भने उनीहरूले झनै दुःख पाउँछन्। हामीले हेरेर विवाह गरिदिए त नराम्रो त हेर्दैनौं नि!’ सबैको भनाइ यही छ।
बस्तीका बालबालिका विद्यालय पहुँच बाहिर
यो बस्तीदेखि मुश्किलले २ सय मिटरको दूरीमै देशकै नाम चलेको सरकारी विद्यालय छ। त्यही विद्यालयमा अध्ययन गरेका कति विद्यार्थी इञ्जिनियर र डाक्टर बनिसके । तर यस समुदायका कुनै पनि बालबालिका अहिलेसम्म स्कुल टेकेका छैनन्।
हरेक वर्ष सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्छ। त्यो अभियानले पनि विद्यालय नजिकै रहेको यो बस्तीमा चियाउन सकेको छैन। नत त्यो अभियान यो बस्तीमा पुग्यो नत उनीहरू विद्यालयमा नै पुगे।
छेवैका बालबालिका झोला बोकेर विद्यालय गइरहँदा यहाँका बालबालिका भने दिनभरि तिनाउको बगरमा ढुंगासँगै खेलेर बिताउँछन्।