वडा प्रहरी कार्यालय बुटवलले १ सय ४३ वटा टिपरलाई कारबाही गरेको छ।
पाल्पाका विभिन्न स्थानबाट चुनढुंगा उत्खनन् गरी ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बुटवलले टिपरलाई कारबाही गरेको हो।
प्रहरीले एकैदिन १ सय ४३ वटा टिपरलाई कारबाही गरेको यो पहिलो पटक हो।
पहिलो चरणमा ८८ वटा टिपरलाई कारबाही गरिएकोमा दोस्रो चरणमा ५५ वटा टिपरलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम बहादुर केसीले भ्याट बिल नबोकी सवारी साधन चलाउने, चुनढुंगा उत्खननसम्बन्धी कागजात नबोकी हिँड्ने टिपरलाई एकैपटक कारबाही गरिएको बताए ।
चलानी मात्र बोकेर ओभरलोड हुनेगरी चुनढुंगा बोक्ने गरेको गुनासो आएपछि ‘स्टिङ अपरेशन’ नै गरेर कारबाही गरिएको उनको भनाइ छ ।
प्रहरीले टिपरहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ।
टिपर चालकहरूले भने चुनढुंगा उत्खननको कागजात कम्पनीसँगै रहने बताएका छन्। कम्पनीले कागजात राख्ने भए पनि आफूहरूलाई प्रहरीले अनावश्यक दुःख दिएको चालक अर्जुन रानाले गुनासो गरे ।
सधै चलानीबाटै चुनढुंगा लैजाने गरेकोमा एक्कासी प्रहरीले बिहानै ७ बजेदेखि दिनभर टिपर रोकेर राखेको उनले बताए।
कम्पनीसँग हुनुपर्ने कागजात चालकसँग नहुने भन्दै गल्ती कमजोरी भएको भए पनि कारबाहीको भागिदार कम्पनी सञ्चालक हुनुपर्ने उनले बताए।