सर्लाही रामनगर वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोमाथि नेकपाका कार्यकर्ताले सोमबार कार्यालयमै कुटपिट गरेको प्रहरीले दाबी गरेको छ। नागरिकताको सिफारिस लिन गएका नेकपा कार्यकर्ता र कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोबीच भनाभन हुँदाहुँदै विवाद चर्किएको सर्लाही प्रहरीको दाबी छ।
तर, वडाध्यक्ष रामनरेशले यो कुरा अस्वीकार गरेका छन्। उनले कार्यालय पुग्नुअगावै आफूमाथि नेकपाका कार्यकर्ताले बाटो छेकेर कुटपिट गरेको बताएका छन्। मलंगवा अस्पतालमा उपचाररत् उनले भने, ‘कार्यालय नपुगी भएको घटना हो, कार्यालयमा भएको घटना भनेर प्रचार गर्दा मलाई चित्त दुखेको छ।’
प्रहरीले ‘नागरिकता सिफारिस लिन’ गएका भनिएका नेकपा कार्यकर्ताहरूको नाम गोप्य राखेको छ।
रामनरेशमाथि कुटपिट भएपछि पनि घटना सेलाएन। मंगलबार बिहान महतोको घरमा ढुंगा हान्न नेकपा कार्यकर्ता पुगेका थिए। प्रहरीका अनुसार नेकपा कार्यकर्ताहरूको समूह र महतोको घर नजिकै हो। नेकपा कार्यकर्ताले ढुंगा हान्न थालेपछि कांग्रेस कार्यकर्ताहरू प्रतिकारमा निस्केको प्रहरीको भनाइ छ।
यही क्रममा झडप हुँदा गोली चलेको प्रहरीको दावी छ। गोली चल्दा ६० वर्षीय कांग्रेस सक्रिय सदस्य रामविलाश महतोको मृत्यु भएको थियो।
गोली कसले चलाएको भन्ने खुलिसकेको छैन। कांग्रेसले नेकपा कार्यकर्ताले गोली चलाएको आरोप लगाएको छ। गोली लागेर मृत्यु हुने रामविलाश वडाध्यक्ष रामनरेशका काका पर्छन्।
सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले घटनामा संलग्न र गोली चलाउने व्यक्तिको पहिचान भइसकेको बताएका छन्। गोली चलाउने व्यक्तिको तीव्र खोजी भइरहेको उनले बताए।
पोखरेलका अनुसार भरुवा बन्दुकबाट गोली चलाएको पुष्टि भएको छ। गोलीको छर्राले अन्य चार जना सामान्य घाइते भएका थिए।
‘घटनाको कारण व्यक्तिगत इवि हो वा राजनीतिक हो, हामी अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उपरीक्षक पोखरेलले सेतोपाटीसँग भने।
‘घटना राजनीतिक द्वन्द्वबाट सुरू भएको देखिन्छ, तर गोली चलाउने व्यक्ति आपराधिक पृष्ठभूमिकै हुन्, ती नेकपाका कार्यकर्ता हुन् हैनन् चाँडै सार्वजनिक हुने छ,’ पोखरेलले भने।
नेपाली कांग्रेसले भने घटना नियोजित गराइएको र आफ्ना सक्रिय सदस्यलाई नेकपा कार्यकर्ताले गोली हानी हत्या गरेको दाबी गरेको छ।
कार्यकर्ता हत्याको विषयमा बुधबार नेपाली कांग्रेसले सर्लाहीमा बिरोध प्रदर्शन गरेको छ। उसले मारिएका कार्यकर्तालाई सहिद घोषणासहितका माग स्थानीय प्रशासनमा राखेको छ।
कांग्रेस नेता विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मालगायत केन्द्रीय नेताको उपस्थितिमा बुधबार प्रमुख जिल्ला अधिकारीलाई सहिद घोषणालगायत मागसहित ज्ञापनपत्र बुझाइएको छ।
मृतक परिवारलाई राहत उपलब्ध गराउन र गैरकानुनी हतियार नियन्त्रण गर्न कांग्रेसले माग गरेको छ।
‘नेकपाका कार्यकर्तासँग कहाँबाट आउँछ बन्दुक? यसको सूक्ष्म अनुसन्धान गरी दोषीलाई चाँडो कारबाही होस्,’ सर्लाही सिडिओ कार्यालयमा ज्ञापन बुझाइसकेपछि प्रवक्ता शर्माले सेतोपाटीलाई प्रतिक्रिया दिए, ‘यो विशुद्ध आपराधिक घटना हो।’
प्रदर्शनमा दुई नम्बर प्रदेशका सबै कांग्रेस जिल्लाका सभापतिहरू उपस्थित थिए। मृतक परिवारले हालसम्म शव बुझेका छैनन्। शव मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ।
यता नेकपाले भने आफ्नो पार्टीका कार्यकर्ताले गोली नहानेको बताएको छ। नेपाली कांग्रेसभित्रैबाट घटना गराइएको दाबी उसले गरेको छ।
सर्लाहीबाट नेकपाको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरिरहेका केन्द्रीय सदस्य दाताराम वाग्लेले भने, ‘हाम्रा कार्यकर्ताले गोली हानेको भनी हालसम्म कांग्रेसले किटान गर्न सकेको छैन, नेकपाको प्रभावलाई निरुत्साहित गर्न उहाँहरूले यस्तो आरोप लगाउनुभएको छ।’
घटना जसले गराए पनि यो आपराधिक भएकाले सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरे। घटना भएको ठाँउ निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ।यहाँबाट कांग्रेसका अमरेशकुमार सिंहले चुनाव जितेका थिए। दुबै प्रदेशसभा सिटमा कांग्रेसले जितेको छ।
वाग्लेले कांग्रेस सांसद सिंहसहितको समूह घटना हुनुभन्दा दुई दिनअघि रामनगरकै पूर्व गाविस अध्यक्ष दिनेश शर्माको घरमा बसेर नेकपाको प्रभाव कम गर्नेबारे छलफल गरेको र लगत्तै घटना घटेको दाबी गरे।
‘४ नम्बर क्षेत्रमा कांग्रेसले जिते पनि समग्र जिल्लामा हाम्रो बलियो पकड र सिट छ, त्यही प्रभावलाई निरुत्साहित गर्न सिंहले साधारण घटनालाई उछाल्न सहयोगी भूमिका खेल्नुभएको छ,’ वाग्लेको आरोप छ।
यता, कांग्रेस सांसद अमरेशकुमार सिंहले घटनामा संलग्न आफ्ना कार्यकर्ता बचाउन नेकपाले यस्तो आरोप लगाएको बताए। ‘यहाँ माओवादी, एमाले, मधेसवादी दलको गठबन्धन हुँदा पनि मैले जितेको छु, प्रदेशका दुबै सदस्य कांग्रेसका छन्, वडाध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ, कसरी हाम्रो प्रभाव कम भयो यहाँ? मैले नेकपाको प्रभाव कम गराउन किन लाग्नुपर्ने?,’ सिंहको प्रश्न छ, ‘नेकपाले हाम्रो प्रभाव बढी देखेर चाहिँ घटना घटाएको छ।’
कार्यालय नपुग्दै बाटो छेकेर आक्रमण गरे: वडाअध्यक्ष
सोमबार म अफिस गइरहेको थिएँ। अफिस पुग्नभन्दा पाँच सय मिटर अगाडि नै मलाई नेकपाका कार्यकर्ताहरूले बाटो छेके।
२०–२५ जना थिए। म ना१५प ८०५५ मोटरसाइकलमा सवार थिएँ। के गर्न खोजेको भन्दाभन्दै उनीहरूले मलाई कुटपिट गर्न थाले। मोटरसाइकल तोडफोड गरे।
म वडाध्यक्ष निर्वाचित भएपछि नेकपाका कार्यकर्ताहरू रिसाएका थिए। नेकपा कार्यकर्ताहरू कहिलेकाहीँ बिना कारण निहुँ खोज्ने, मलाई होच्याउने गर्थे। म चुपचाप आफ्नो काममा सक्रिय रहिरहेको थिएँ।
सोमबार त्यो समूहमा श्रीनारायण राय, उपेन्द्र राय, धर्मेन्द्र साह, नवीनकुमार यादव, कान्छा भन्ने सुरेन्द्र यादव, नागेन्द्र यादव, मुकेश यादव, रुवेशकुमार यादव, ठाकुर राय यादव, राजकुमार भन्ने प्रभाकर साह, रामविनय साह, अनिशकुमार साहलगायतलाई देखेको थिएँ।
कुटपिट हुँदा म बेहोस् भएँछु। मलाई जिल्ला अस्पताल मलंगवा ल्याइएछ।
भोलिपल्ट पनि मेरो घरमा ढुंगा हानेछन्। गोली चलेछ। मेरो काकाको हत्या भएछ। मैले अस्पतालमा यो जानकारी पाएँ। मेरो देब्रे खुट्टा भाँचिएको छ। शरीरभरि चोटपटक छ। टाउकोमा दुई ठाउँ चोट छ। मसँगको रिसमा मेरो काकालाई किन मारेको? निष्पक्ष छानबिन गरी न्याय दिन म अनुरोध गर्छु।
२०६८ सालमा श्रीनारायणलगायतका एमाले कार्यकर्ताले म सहित मेरा चार दाजुभाइलाई कुटपिट गरेका थिए। हामीले ज्यान मार्ने उद्योगमा निवेदन दियौं। तर, प्रहरीले मुद्दै दर्ता गरेन। कसैलाई पनि पक्राउ गरेन। आज म जुन अस्पतालमा छु, त्यही अस्पतालमा म र मेरा दाजुभाइको उपचार भएको थियो। त्यतिबेला मुद्दा हालेको भनी रिसिइबी लिएको पनि हुन सक्छ। यसबाहेक मेरो नेकपा वा एमाले कार्यकर्तासँग केही पनि झमेला थिएन।