राणाशासन भर्खरै सकिएको थियो। एक जना चित्रकार आफूले बनाएको पेन्टिङ लिएर दरबार पुगे।
‘के लिएर आयौ?’ राणा परिवारका एक सदस्यले बार्दलीबाट सोधे।
‘चित्र ल्याएको छु सरकार,’ ती चित्रकारले भने।
‘खोइ हेरूँ त कस्तो चित्र लिएर आयौ,’ उनले बार्दलीबाटै हेर्न खाजे।
चित्र हेरेपछि भने, ‘राम्रो रहेछ। कतिमा बेच्छौ?’
चित्रकार अकमकिए।
‘दुई रुपैयाँमा बेच्छौ त?’
चित्रको लागत नै तीन रुपैयाँजति थियो। तै उनले राणाको बोली काट्न सकेनन्। ‘हुन्छ’ भनिदिए।
सेतै कपाल फुलेको, ख्वाउटे ज्यान र नाकमा अक्सिजनको पाइप झुन्ड्याएका प्रेममान चित्रकारले सुनाएको यो अनुभव उनका बुवा पृथ्वीमान चित्रकारको हो। त्यति बेला प्रेममान करिब ९ वर्षका थिए।
‘बुवाको चित्र त्यो समय राणा दरबारमा नजराना चढ्थ्यो,’ ७६ वर्षीय प्रेममानले पुराना दिन सम्झिँदै भने, ‘त्यो दिन बुबाले कुन दरबारमा कुन राणालाई चित्र बेच्नुभयो, याद छैन। दिन भने कहिल्यै भुल्दिनँ। बुवाको मिहिनेतको दाउराझैं मोलाइ भएको कसरी बिर्सन्थेँ!'
उनका अनुसार त्यो बेला चित्र बनाउनु भनेको तल्लो वर्गले गर्ने पेसा मानिन्थ्यो। त्यही भएर पृथ्वीमानले आफ्ना छोरालाई चित्रकार बनाउन कहिल्यै चाहेनन्। छोरा प्रेममान भने चित्रकै बीचमा हुर्के। त्यसैमा मन बस्यो। उनी आजका दिनमा पनि महँगा कलाकारमध्ये पर्छन्।
उनले केही वर्षअघि मात्रै ४२ लाखमा एउटा पौभाः चित्र बेचे। त्यसलाई उनी आफ्नो कलाको सबैभन्दा ठूलो मूल्यांकन मान्छन्।
चित्रबाट पैसा कमाउन सकिन्छ भन्ने अनुभूति उनलाई डेनमार्कका नागरिक ज्याक्बसनले गराइदिएका हुन्। एकदिन उनले बनाइरहेको चित्र ज्याक्बसनले देखे। उनलाई मनपर्यो। प्रेममानलाई पाँच रुपैयाँ दिएर किने। यो त्यो समयको कुरा हो जुन बेला प्रेममानलाई खाजा खान आमाले २० पैसा दिन्थिन्।
चित्र बनाउनु पनि कमाइ हुने पेसा रहेछ भनेर उनले थप चित्र कोर्न थाले। त्यही क्रम बढ्दै पौभाः चित्रसम्म पुग्यो।
पौभाः नेपालको मौलिक परम्परागत चित्रकला हो। विशेषगरी कपडामा कोरिने यो कलामा देवीदेवता वा कुनै धार्मिक कथासँग सम्बन्धित चित्र बनाइन्छ। धार्मिक किताबमा उल्लेख भएका उपदेश र कथालाई प्रतीकका रूपमा विभिन्न मुद्रा, आसन तथा प्रतिमा दिई पौभाःमा उतारिन्छ। यो कला महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ।
पौभाः चित्र कहिलेबाट बनाउन थालियो भन्नेमा धेरै प्रसंग जोडिएलान्। प्रेममान भने चौथो शताब्दीमै पौभाः रहेको दाबी गर्छन्।
‘सम्राट अशोककी छोरी चारुमतीले चाबहिलमा चारुमति महाविहार बनाइन्। त्यही विहारमा एउटा पूजाघर छ। त्यसको ढकीः अर्थात् पर्दा हामीले नै लेख्ने गरेका छौं,’ प्रेममानले भने, ‘त्यसको नमूना म अझै दिन सक्छु।’
पौभाः लेख्ने एकथरी छन्, जो पुरानै शैलीमा काम गर्छन्। प्रेममान भने परम्परा नबिगारी नयाँ शैली दिन सकिने सुझाउँछन्। उनकै विद्यार्थी समुन्द्रमान श्रेष्ठले त्यही अपनाएर विश्व बजारमा पौभाः फैलाइरहेका छन्।
प्रेममान ल्यान्डस्केप, पोट्रेट, मूर्तिकला, आधुनिक कलामा पनि दख्खल राख्छन्। उनलाई चिनाउने कला भने पुस्तौंदेखि उनको परिवारले बनाउँदै आएको पौभाः नै हो। जसमा उनले बुवाको इच्छा नहुँदा नहुँदै हात हालेका थिए।
उनका बुबा दिनभरि घोत्लिएर चित्र बनाइरहेका हुन्थे। करिब ३ बजेतिर बाहिर निस्कन्थे। त्यही बेला प्रेममान लुकेर बुबाको चित्र कापीमा उतार्थे।आमालाई देखाउँथे। आमाले ‘स्याबास’ भन्थिन्।
उनको यो लुकिछिपी कला धेरै दिन लुक्न सकेन। एकपटक बुबाले बनाएको भगवानको चित्र कापीमा उतारिरहेका थिए। त्यही बेला बुबा फर्किए।
‘चित्रमा नलाग। पढाइमा ध्यान दे भनेको होइन?’ बुबाले हप्काए। चित्र पनि च्यातिदिए।
'बुबा मलाई पुं बनाउन चाहनुहुन्नथ्यो,' प्रेममानले भने।
पुं?
उनले बैठक कोठाको एक कुनामा फ्रेममा सजिएको चित्र देखाए।
ती चित्रका अन्तिममा उनले आफ्नो नाम हस्ताक्षर गरेका रहेछन्, ‘प्रेममान पुं’।
‘पुं’ अर्थात पुण्यकार।
प्रेममानका अनुसार चित्रकारको अर्थ मानिसको चित्तमा आउने चित्र चित्रण गर्ने हो। देवीदेवताको तस्बिर कोर्ने, नाग पञ्चमीमा नाग, दसैंमा भगवती, लक्ष्मी पूजामा लक्ष्मी लेखिदिने। ‘ठूल्ठूला देवदेवीको जिर्णोद्धार पनि पुं अर्थात् हामीले गर्छौं,’ प्रेममानले भने, ‘पुण्यको काम गर्ने भएकाले हामी पुण्यकार भएका हौं। कालान्तरमा त्यही अपभ्रंस भएर पुं मात्रै रह्यो।’
त्यसैले उनलाई साथीभाइले ‘पुंचा’ भनेर जिस्क्याउने रहेछन्। उनका बुबालाई भने यो निको लाग्थेन। उनी आफ्नो पुर्ख्यौली पेसादेखि बिरक्तिन्थे। त्यही भएर छोरालाई पुं बनाउन चाहन्थेनन्।
प्रेममानको हुटहुटी केले रोक्न सक्थ्यो र!
बुवाले हौसला नदिएपछि उनी जेठाबुवा मणिकमानसँग नजिकिए। उनैले धेरैथोरै चित्र बनाउन सिकाइदिए।
उनलाई 'स्याबासी' दिने आमा चन्द्रमाया भने उनी १३ वर्षको हुँदै यो धर्ती छाडेर गइन्। बुबाले अर्को बिहे गरे। प्रेममानले स्कुल जान छाडिदिए। घरमा पनि मन रमेन। बुवासँग छुट्टिए।
यो क्रममा प्रेममानले अनेकौं संघर्ष गर्नुपर्यो। कहिले ड्राइभिङ, कहिले बिजुलीको काम त कहिले घडी बनाउन थाले। आफ्नो गुजारा निम्ति जे जसो हुन्छ, त्यही काममा जोडिए। चित्र बनाउन भने कहिल्यै छाडेनन्।
त्यति बेला उनी बढी मात्रामा ल्यान्डस्केप चित्र बनाउँथे। ती चित्र विदेशीले रुचाउँथे, किन्थे। उनको गुजारा चल्थ्यो।
यसरी चित्रकलामा लड्दै-उठ्दै आखिर त्यो दिन आयो, जब उनी दौडन थाले।
ल्यान्डस्केप चित्र बनाउने उनले एकपटक सुरैसुरमा राजारानीको ‘पोट्रेट’ बनाए। तत्कालीन राजा महेन्द्र, रानी रत्न र त्रिभुवनको। त्यही चित्र देखाउँदै उनी विभिन्न ठाउँ चहारे।
'विदेशीहरू चित्र हेर्थे, राम्रो छ भन्थे। तर किन्थेनन्,' उनले अनुभव सुनाए।
प्रेममान दिक्क मानेर नारायणहिटी दरबार हुँदै भिमसेनथानस्थित घर फर्कँदै थिए। बाटैमा उनलाई दरबारका पालेले रोके।
‘खोइ! हेरूँ त चित्र,’ पालेले राजारानीको पोट्रेट देखेपछि नियाल्न खोजे।
‘कसले बनाएको?’
‘मैले नै हो हजुर,’ प्रेममानले भने, ‘हेर्नुस् न। कुनै विदेशीले किन्न खोजेनन्।’
‘ल यो चित्र त भित्र राजालाई नजर गराउनुपर्छ,’ त्यसो भनेर पाले भित्र पसे।
निकै बेरसम्म फर्किएनन्।
प्रेममान भने ‘के हो, के?’ भए। न चित्र फर्कियो, न पाले। करिब एक घण्टापछि मधुसुधन नाम गरेका राजाका सचिव आए। प्रेममानलाई भेटे र भने, ‘पर्सि आउनू।’
पर्सिपल्ट प्रेममान खुट्टामा चप्पल र साधारण हुलियामा दरबार पुगे। छिर्नै लाग्दा तिनै पालेले रोके। सुरुमा गाली गरे। पछि आफ्नो जुत्ता दिए। टोपी लगाइदिए र भित्र पसाए।
भित्र पुगेपछि प्रेममानलाई अर्कै संसार पुगेजस्तो भयो। राजाका सचिव मधुसुधनले केहीबेर कार्यालयमा कुर्न भने।
एकछिनमा सेतो कुर्तामा कालो चस्मा लगाएका एक व्यक्ति भित्र पसे। सुरुमा त प्रेममानले चिनेनन्। नियालेर हेरे।
‘महेन्द्र सरकार पो रहेछन्,’ त्यो बेलाको खुसीको भाव अनुहारमा झल्काउँदै उनले भने।
राजाले प्रेममानका पोट्रेट मन पराइसकेका थिए। मधुसुधन अब त्यसलाई भाउ लाउन थाले।
‘कतिमा बेच्छौ?’ मधुसुधनले सोधे।
सानोमा बुवाको हात समातेर राणाको दरबार पुग्दाजस्तै प्रेममान आफ्नै चित्र लिएर राजाको दरबार पुगेका थिए। अझै भनम् राजाले नै उनलाई चित्र मनपर्यो भनेर बोलाएका थिए। त्यही कुरा ठूलो थियो।
‘राजाको अगाडि कति भाउ भन्नु?’ उनी राणाको अघि बुवा पृथ्वीमानजस्तै अक्मकाए।
उनको अलमल मधुसुधनले सहज बनाइदिए। सोधे, ‘तीन–तीन सयमा हुन्छ?’
प्रेममानले केही भन्नै पाएका थिएनन्। राजा आफैंले ‘पाँच–पाँच सय दिनू’ भन्दै बाहिरिए।
यही नै प्रेममानको जीवनको ठूलो उपलब्धि थियो। ‘टर्निङ पोइन्ट’ पनि।
जीवनको 'टर्निङ पोइन्ट' सँगै सम्बन्धमा पनि मोड आयो। ऊबेला घर छाडेर हिँडेका प्रेममान बुबासँगै बस्न थाले।
बुवासँगको एउटा घटना सम्झँदा उनी अहिले पनि रमाइलो मान्छन्। २०३१ सालतिर नेपाल एकेडेमी अफ फाइन आर्ट्स (नाफा)ले चित्रकला प्रतियोगिता आयोजना गरेको थियो। उनका बुवा पृथ्वीमान प्रथम भए। पुरस्कार लिन बुवालाई ट्याक्सीमा राखेर प्रेममान नाफातर्फ लागे।
नाफाले प्रथम भएको उद्घोष गर्दै पृथ्वीमानलाई पुरस्कार दियो।
अनि दोस्रो हुनेको नाम बोलायो, ‘प्रेममान चित्रकार।’
पृथ्वीमान तीन छक! प्रेममानले थाहै नदिई प्रतियोगितामा भाग लिएका थिए। थाहै नदिई गाडीमा सँगै लिएर आएका थिए।
पृथ्वीमानले विस्तारै छोरालाई गाली गरे, ‘यसलाई चित्रमा नलाग भनेको त...’
त्यसपछि उनले लगातार नाफाको प्रतियोगितामा भाग लिए। ०३५ सालमा प्रथम नै भए।
उनको सफलता यात्रा जारी छ।
यसले नै आफूले बुढेसकालमा रोगसँग लड्ने प्रेरणा दिएको उनी बताउँछन्। २०६७ सालदेखि सुरु भएको दमले उनलाई बारम्बार च्याप्छ। तारन्तार अस्पताल पुग्छन्। ‘अक्सिजन कन्सन्ट्रेटर’ नभइ हुन्न। उनको घरको भान्सामा ‘अक्सिजन कन्सन्ट्रेटर’ जडान छ। उनी त्यहीँबाट नजिकैको बैठकसम्म आएर हामीसँग कुरा गर्दै थिए।
यही बैठक कोठाको अर्को कुनामा पहिले गरेका मिहिन काम सजाएका छन्। केही नयाँ पौभाः कै 'कन्सेप्ट'मा आधुनिक कला पनि बनाएका छन्। रोग बढेसँगै उनको दिनचर्या फेरिएको छ। चित्र कोर्ने तरिका पनि बदलेका छन्।
उनी एक साता अस्पताल बसाइपछि भर्खरै फर्किएका रहेछन्। बिएन्डबी अस्पतालमा भर्ना भएको सुरुआती समयमा प्रेममानले 'ट्याब' लाई साथी बनाएका थिए। चित्रसँगै कविता पनि लेख्न रुचाउने उनले ट्याबमै कविता लेख्न थाले। आइसियूमा बस्दा उनलाई केही पत्तै हुन्थेन। जब वार्ड पुग्थे, बिरक्तिन्थे। ट्याबका किबोर्डमा कविता लेख्न थाल्थे। कविता लेख्दै गर्दा कतिपय डाक्टरले उनलाई 'कवि' भनेर जिस्काउन थाले।
केही वर्षयता उनले अस्पतालमै चित्र कोर्ने तरिका फुराएछन्। घरमा जस्तो अस्पतालमा क्यान्भासमा चित्र कोर्न सम्भव थिएन। रङ पनि प्रयोग गर्न मुश्किल। अनि त उनले क्यान्भासलाई ‘स्केच बुक’ मा बदलिए। रङलाई ‘साइन पेन’ र ‘पेन्सिल कलर’ मा।
डाक्टरहरूले फेरि जिस्काउन थाले, ‘कविज्यू त चित्रकार पनि हुनु हुँदो रहेछ।’
अरूले यसो भन्दा उनी मनमनै सोच्छन्- पुं भन्नुस् न पुं, पुण्यकार।