रारा भ्रमणमा आएका स्याङ्जाको चापाकोट नगरापालिकाका मेयर र भक्तपुरको एक टोलीबीच झगडा हुँदा मेयरसहित चारजना घाइते भएका छन्।
सरकारी खर्चमा आएको मेयरसहितको ३० जनाको टोली र भक्तपुरबाट आएको पर्यटकको अर्को टोलीबीच शनिबार राति कालिकोटको एक होटलमा झगडा भएको हो।
झगडामा घाइते भएका मेयर शिव गिरीको टाउकोमा चोट लागेको छ।
जिल्ला अस्पताल कालीकोटका डाक्टर विवश पराजुलीका अनुसार मेयरको टाउकोमा पाँच टाँका लगाइएको छ। यस्तै, मेयर गिरीका स्वकीय सचिव राजकुमार मल्ललाई १६, नगर प्रहरी इञ्चार्ज शोभित थापालाई ४ र गाडी चालक सुनिक एसकेलाई पाँच टाँका लगाइएको छ।
रारा अवलोकनका लागि बिहीबार स्याङ्जाबाट आएको मेयरको समूह शनिबार रारा पुगेर राति फर्किएको थियो। त्यसै राति कालिकोटको एक होटलमा उनीहरू बसेका थिए।
सोही होटलमा बसेको भक्तपुरबाट आएको पर्यटकको समूहसँग झगडा भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार मेयरसहित चापाकोटबाट ३० जनाको टोली आएको थियो।
मदिरा सेवन गरेका कारण दुई समूहबीच झगडा भएको कार्कीले बताएका छन्। ‘होटलमा बसिरहेका बेला मेयरसाहेबको टोलीभित्र केही अपशब्द बोलिएछन्, अर्को टोलीले डिस्टर्ब भयो भनेछ,’ प्रजिअ कार्कीले भने, ‘त्यही बीचमा म मेयर हो कसलाई डिस्टर्ब भयो भनेको भनेपछि दुई समूहबीच झगडा भएको बुझियो।’
उनका अनुसार झगडामा संलग्न दुवै टोलीले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए।
अस्पतालमा भर्ना गरिएका घाइतेहरू सामान्य उपचारपछि कालिकोटबाट मेयरको टोली आइतबार फर्किएको कार्कीले बताए।
उनका अनुसार भक्तपुरको भ्रमण टोली पनि फर्किसकेको छ ।