चाडबाड सुरक्षा योजना सार्वजनिक गर्दा जुवाको अखडा भत्काउने घोषणा गरेको बुटवल प्रहरीले यसबीचमा ७० जुवाडे पक्राउ गरेको छ ।
प्रहरीले दसैँअघि पत्रकार सम्मेलनको आयोजना गरी चाडबाड सुरक्षा योजना सार्वजनिक गर्दै लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरणका साथमा चाडबाडका नाममा खेलिने जुवाका अखडा भत्काउने दाबी गरेको थियो।
प्रहरीले दसैँ र तिहारसँगै पछिल्लो ४ महिनाको अवधिमा व्यवसायिक रूपमा समेत जुवा खेल्ने र खेलाउने गर्दै आएका ११ स्थानमा छापामारी ७० जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले चाडबाडका नाममा जुवा खेल्ने ७० जनालाई नियन्त्रणमा लिएको र उनीहरूबाट सत्र लाख सत्तरी हजार रुपैयाँ बरामद गरेको बताए।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार सो कार्यालय मातहत पर्ने देवदह र तिलोत्तमा नगरपालिका तथा बुटवल उपमहानगरपालिकाका विभिन्न क्षेत्रहरूमा जुवा खेल्ने गरेको सूचनाका आधारमा खोजी गर्दा जुवा खेलिरहेको भेटिएकोले नियन्त्रणमा लिई जुवा ऐन अन्तरगत कार्वाही प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ११ वटा जुवाका अखडाहरूबाट कम्तीमा ३५ हजार रुपैयाँदेखि ४ लाख २६ हजार रुपैयाँसम्म र कम्तीमा ५ जनादेखि दस जनासम्म जुवाडेहरू भेटिएको बताएको छ ।
जुवाका तास कतिपय अपराधको कारण बनेको बताउँदै जुवाको अखडा भत्काउने आफ्नो सुरक्षा योजना सफल भएको र आगामी दिनमा समेत निरन्तर रूपमा लागि रहने प्रहरी नायब उपरीक्षक मल्लले बताए।
उनले नेपाल प्रहरीको अपराध नियन्त्रणको लक्ष्य र नीति अनुसार कार्य योजना बनाएर प्रहरी परिचालन गरीएको र सोही योजनाअनुसार कार्यान्वयनमा सफल भएको बताए ।