बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका बुबा-आमा न्याय माग्दै आइतबारदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन्।
तीन महिना नाघे पनि सरकारले आफूहरूलाई न्याय दिन नसकेको भन्दै निर्मलाका बाबु-आमा धर्नामा बसेका हुन्। प्रमाण ‘नष्ट गरेको’ अभियोगमा दुई प्रहरी अधिकृत बर्खास्तमा परे पनि पन्तका बाबु-आमाले न्यायको सास फेर्न पाएका छैनन्।
प्रहरीले निर्मला बलात्कार-हत्यामा लापरबाही गरेको भन्दै कञ्चनपुर प्रहरीका तत्कालीन उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई कात्तिक ८ गते बर्खास्त गरेको थियो।
सुरुमा अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु बर्खास्तमा परे पनि नेपाल प्रहरीले नयाँ टोली बनाएर अनुसन्धान जारी राखेको छ। उपलब्धी भने शून्य नै छ। त्यसले निर्मालाका बाबु-आमा र निर्मला हत्याकाण्डमा न्याय मागिरहेकाहरुलाई निराश र आक्रोशित बनाएको छ।
‘अनुसन्धान जारी छ। टिम यथावत् खटिइरहेको छ,’ प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सेतोपाटीसँग भने, ‘अनुसन्धान कहाँनिर पुग्यो अहिले ठ्याक्कै भन्ने अवस्था छैन।’
प्रहरी प्रवक्ता सुवेदीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले निर्मला बलात्कार-हत्यामा औपचारिक अनुसन्धान गरिरहेको छ।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार अनुसन्धान जारी नै छ। ‘हामीलाई शंका लागेका निर्मलाको छिमेकका चार जना व्यक्तिको डिएनए परीक्षण गरेका छौं,’ कडायतले भने, ‘तिहारअगाडि डिएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको थियो। रिपोर्ट आइसकेको छैन।’ उनले भनिहाल्नका लागि आफूसँग ‘प्रगति नरहेको’ बताए।
केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले भने, ‘नतिजा आए त बडो खुसीसाथ भन्थ्यौं।’
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार निर्मला घटना अनुसन्धानमा आधा दर्जन बढी समिति छन्। प्रहरी महानिरीक्षक खनालको निर्देशनमा बनेका यी सबै औपचारिक/अनौपचारिक समितिहरूको नतिजा शून्य रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
अधिकारीहरूका अनुसार सबै टोलीहरूबाट नतिजा ‘शून्य’ छ। शून्य स्थितिबाट अब कसरी अनुसन्धान गर्ने भन्नेबारे प्रधान कार्यालय र प्रहरी अधिकारीहरू नै अन्यौलमा परेका छन्।
‘औपचारिक समितिलाई सहयोग गर्नका लागि जनशक्ति थप्ने, स्रोतसाधन थप्ने काम भइरहेको छ,’ सुवेदीले भने।
अनुसन्धानको ‘सहयोगी भूमिका’ मा अन्य प्रहरी अधिकृतहरू संलग्न अनौपचारिक समितिहरू छन्। एआइजी धीरु बस्नेत नेतृत्वको टोलीले प्रहरी कर्मचारीबारे अनुसन्धान गरी जिम्मेवारी पूरा गरिसकेको छ। यो समितिलाई निर्मला बलात्कार-हत्या अनुसन्धानमा प्रहरी प्रहरीको भूमिकाबारे अनुसन्धान गर्ने कार्यादेश थियो।
यसबाहेक सात नम्बर प्रदेश प्रहरी, विशेष ब्युरो, अन्वेषण महाशाखाका डिएसपी रमेश थापा, महिला निर्देशनालयकी एसपी दुर्गा सिंह, एसपी दीपक रेग्मीको छुट्टाछुट्टै टोली छन्।
उल्लेखित समितिहरू कुनै न कुनै रुपमा सक्रिय रहेको प्रधान कार्यालय स्रोतले बतायो। ‘अनौपचारिक रुपमा खटिएका समितिले मुख्य समितिलाई सहयोग गर्छन्,’ प्रवक्ता सुवेदीले भने।
एसपी दुर्गाले मुख्य टोलीसँग समन्वय र सहयोगका लागि निर्देशनालयबाट केही प्रहरी खटिएको बताइन्। ‘समन्वयको लागि हाम्रो टोली छ, छुट्टै टोली हैन,’ उनले भनिन्।
अन्वेषण महाशाखाका डिएसपी थापा नेतृत्वको टोली कञ्चनपुर गएको थियो। त्यो टोली पनि अनुसन्धानको भूमिकामा रहेको प्रधान कार्यालय स्रोले बतायो। ‘हामी एकपटक कञ्चनपुर गएका थियौं, मेरो नाममा छुट्टै समिति चाहिँ छैन,’ उनले भने।
निर्मला बलात्कार-हत्याको अनुसन्धानबारे ‘रिभ्यू’ गर्नुपर्ने अवस्था आएको उच्च प्रहरी अधिकारीहरू बताउँछन्। तर, यसबारे छलफल नभएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।
गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लाश फेला परेको थियो। अघिल्लो दिन साथी रोशनी बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
उखुबारीमा भेटिएको उनको शवको मुचुल्का प्रहरीले हतार-हतार उठाएको थियो। पर्याप्त अनुसन्धानबेगरै प्रहरीले घटना सामसुम पार्न खोजेको भन्दै निर्मला प्रकरणलाई लिएर जनता उर्लिएपछि प्रहरीले घटना अनुसन्धान थालेको थियो।
कमजोर अनुसन्धान गरेको आरोपमा कञ्चनपुरका एसपी विष्टसहित ६ प्रहरी निलम्बनमा परे। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी पनि अनुसन्धानमा लापरबाही गरेको आरोप लागेर निलम्बनमा परे।
अनुसन्धान क्रममा पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनीलाई भदौ २६ गते सरकारी वकिल कार्यालयले छोडिदियो। ‘संलग्नता छैन, हिरासतमा राख्न पर्दैन’ भनी सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई छोडिदिएको थियो।
‘अन्तिम सत्य’ मानेका दिलीपसिंह रिहा भएपछि त झन् अनुसन्धानमाथि शंका रह्यो। गृह मन्त्रालयले आफ्नो छुट्टै समिति बनाएर छानबिन गर्दा प्रहरीको लापरबाही भन्दै थप अर्को समिति गठन गरियो। अतिरिक्त प्रहरी महानिरीक्षक बस्नेतको नेतृत्वमा अर्को टोली गठन भएको थियो। यो समितिले घटना अनुसन्धानमा प्रहरी कर्मचारीको लापरबाहीबारे छानबिन गर्दा दोषी देखिएका एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गरिएको थियो।