युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवामा अध्ययनरत विद्यार्थी महादेव शाहको मृत्यु उपचारमा गरिएको हेलचेक्र्याईंबाट भएको छानबिनबाट खुलेको छ।
उक्त कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी महादेव शाहको मृत्युपछि घटेको घटना र त्यसको कारण छानबिन गर्न स्थानीय प्रशासनद्वारा गठित छानबिन समितिले शाहको मृत्यु उपचारमा गरिएको हेलचेक्र्याईंका कारण भएको प्रतिवेदन बुझाएको हो।
गत साउन २० गते मेडिकल कलेजका विद्यार्थी २४ वर्षीय महादेव शाहको मृत्यु भएपछि उपचारमा गरिएको लापरबाहीका कारण शाहको मृत्यु भएको भन्दै कलेजका विद्यार्थीले आन्दोलन गरेका थिए।
समितिले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको आफ्नो प्रतिवेदनमा बिरामीको चिरफार गरिएको घाउ अत्यन्त संवेदनशील स्थानमा रहेको र त्यसले बिरामीलाई पुग्न जाने अन्य असरको बारेमा अस्पताल सजग भएको नदेखिएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा विद्यार्थी शाहले पेट र छाती दुखेर इमरजेन्सीमा आइ चेकजाँच गराउँदा गरिएको इसिजी रिपोर्टमा मुटुमा समस्या देखिएको भए पनि निगरानीमा राख्नुपर्ने बिरामीलाई इसिजी रिपोर्टबारे ध्यानै नदिइ बिरामीको आग्रह भन्दै डिस्चार्ज गरेका कारण बिरामीको मृत्यु भएको उल्लेख गरेको छ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको र समितिले दिएको प्रतिवेदनका आधारमा मेडिकल कलेजलाई अबका दिनमा कमजोरी सुधार गर्न निर्देशन दिइएको बताए।
समितिले दिएको प्रतिवेदन र मेडिकल कलेजलाई दिइएको पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालयमा समेत पठाइएको उनले बताए। तर, सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने विषयमा भने बोल्न चाहेनन्।
‘छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा हामीले मेडिकल कलेजलाई कमजोरी सुधार गर्न निर्देशन दिएका छौं,’ उनले सेतोपाटीसँग भने ‘मेडिकल कलेज र पीडित परिवारबीच क्षतिपूर्तिबारे समस्या समाधान भयो होला।’
यता, पीडित परिवारले भने छानबिन समितिले प्रतिवेदन बुझाए पनि जिल्ला प्रशासन कार्यालय र मेडिकल कलेज कतैबाट पनि आफूहरूलाई सम्पर्क नगरिएको र क्षतिपूर्ति समेत नपाएको बताएको छ।
मृतक महादेवका भाइ अविनाश शाहले घटना घटेको तीन महिना बितिसक्दा पनि अस्पतालले क्षतिपूर्ति उपलब्ध नगराएको र प्रशासनबाट समेत कुनै पहल नभएको बताए ।
‘छानबिन समितिले प्रशासनमा घटनाको प्रतिवेदन बुझाएको थाहा पाएका छौं तर क्षतिपूर्ति दिलाउने विषयमा मेडिकल कलेज र प्रशासनबाट कुनै सम्पर्क गरिएको छैन,’ उनले भने, ‘अहिले छठ चलिरहेकोले आइतबार जिल्ला प्रशासन र मेडिकल कलेजमा जाने सोचेका छौं।’
छानबिन समितिका संयोजक डा. विष्णु पौडेलले छानबिन समितिले घटनाको यथार्थ छानबिन गरेर जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाइसकेकोले अबको जिम्मेवारी प्रशासनको रहेको बताए।
‘हामीले अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक, पीडित परिवार, मेडिकल कलेजका विद्यार्थीलगायत घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरी घटना अघि र पछिका घटनाक्रम लगायत सबैको अध्ययन गरेर प्रतिवेदन तयार गरेका हौं,’ उनले भने, ‘अब त्यो प्रतिवेदन जिल्ला प्रशासनमा बुझाइसकेपछि त्यो प्रशासनको सम्पत्ति र दायित्व भएको छ।’
गत साउन १४ गते पिलोको अपरेशन गरेका शाह केही दिनपछि छाती दुख्ने, शरीर झमझमाउने समस्या देखिएपछि साउन १८ गते पुनः अस्पतालको इमरजेन्सीमा पुगेका थिए। शाहको इसिजी रिपोर्टमा मुटुमा समस्या देखिएको भए पनि चिकित्सकहरूले ग्याष्ट्रिकको औषधि दिएर पठाएका कारण बिरामीको मृत्यु भएको भन्दै शाहका आफन्त तथा सहपाठीहरूले आन्दोलन गर्दै कलेजमा तोडफोडसमेत गरेका थिए।
समितिले दिएको प्रतिवेदनमा अस्पतालको रेकर्ड र उपचारमा संलग्न चिकित्सक र मृतकका सहपाठीहरूसँगको बयानमा समय फरक/फरक पाइएको तथा केही अभिलेखहरूमा समय सच्याइ उपचारको समय चुस्त देखाउन खोजिएको भन्दै आगामी दिनमा त्यसो नगर्न अस्पताललाई सुझाव दिइएको छ।
त्यसैगरी, मेडिकल कलेजको आफ्नै विद्यार्थीको उपचारमा प्राचार्यसहितको समूहगत छलफल हुनुपर्नेमा त्यो नभएकोले पनि आफ्नै बिरामी विद्यार्थीप्रति अस्पताल संवेदनशील नदेखिएको तथा अस्पतालमा आफ्नै विद्यार्थीको मृत्यु भइ समग्र विद्यार्थी आन्दोलित भइ कानुनी प्रश्न उठ्न सक्ने अवस्था रहँदारहँदै पनि मृतकको पोष्टमार्टम नगरिएकोमा समितिले प्रश्न उठाएको छ।
समितिले मेडिकल कलेजले उपचारमा समेत आउन सक्ने जटिलतालाई ध्यानपूर्वक नलिँदा हुन गएको अपुरणीय पारिवारिक क्षतिलाई मनन गरी प्रचलित कानुनबमोजिम राहत दिनुपर्ने सुझाव समेत दिएको छ।
घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्बिनी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर विष्णु पौडेलको संयोजकत्वमा चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डाक्टर नन्दा गुरुङ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु घर्ती, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहर सिंह गोदार सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।