रुपन्देही जिल्लाकै महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको बेलबास- बेथरी सडक निर्माण कार्य रोकिएको छ।
निर्माण कम्पनीहरूको बेवास्ताले करिब ३ महिनायता अलपत्र अवस्थामा रहेको उक्त सडक निर्माणको काम गत कात्तिक ५ गतेको सडक विभागको पत्रसँगै झनै अनिश्चित बनेको हो।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरी चोकसम्म २१ किलोमिटर ३ सय मिटरको सडक निर्माण कार्य चलिरहेकै अवस्थामा निर्माण व्यवसायीहरूले काम छोडेका थिए। अहिले सडक विभाग आफैंले पत्र लेखेर निर्माण कार्य अघि नबढाउन भनेको हो।
डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर मेघ बहादुर केसीले सडक विभागले नै पत्र लेखेर प्रदेश सरकारलाई हस्तान्त्रण गर्नू भनेकोले काम रोकिएको बताए।
‘गतवर्ष बजेटको समस्या थियो भने अहिले विभागबाट नै प्रदेश मातहत हेर्नेगरी हस्तान्तरण गर्ने प्रक्रिया मिलाउनू हुन भन्ने पत्र आएपछि प्रदेशलाई लेखेर पठाएका छौं, यो निर्णय नहुँदासम्म केही भन्न सकिने अवस्था छैन,’ उनले भने
केसीले संघीय सरकारको पछिल्लो निर्णयले जिल्लाका कतिपय परियोजनाहरू प्रदेश सरकारमा हस्तान्तरण गर्ने परिपत्र भएको र ती परियोजनाहरूमा बजेट विनियोजन नभएको जानकारी दिए।
करिब १ अर्ब ६८ करोड ४ लाख बजेट लागत अनुमान गरी टेण्डर गरिएको उक्त सडकले निर्माण आरम्भ भएदेखि कहिले डिजाइन, कहिले नहर त कहिले मुआब्जाको समस्या झेल्दै आएको थियो।
इन्जिनियर केसीले सडकको ठेक्का सम्झौता भएपछि नै विभिन्न सामाजिक समस्याहरू भोग्दै आएको बताए।
‘सुरूदेखि नै यो सडकले विभिन्न समस्या भोग्दै आयो, जग्गाको समस्या, दुवैतर्फको सडकको विद्युत पोल स्थानान्तरणको समस्या, सिँचाइ कुलो र नहरको समस्या भोग्दै आएको थियो,’ केसीले भने।
निर्माण व्यवसायीहरूले समयमा चासो दिएर काम नगरेको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र सियारी गाउँपालिकाका अध्यक्ष तथा स्थानीय झपिन्द्र अर्याल र थानेश्वर घिमिरेसहितको सरोकार समिति गठन गरी ज्ञापनपत्र बुझाउने तयारी भइरहेको थियो।
दाहिने बायाँ सडक र बीचमा सिँचाइको नहरसहितको डिजाइनमा निर्माणाधीन उक्त सडक रकम कन्स्ट्रक्सनले ३८ करोड ४८ लाखमा ४ दशमलव ३ किलोमिटर, बज्रगुरु कान्छाराम कन्स्ट्रक्सनले ६० करोड ९१ लाखमा साढे ८ किलोमिटर र रमण जेजेई सिसिएलले ६८ करोड ६२ लाखमा साढे ८ किलोमिटर निर्माण गर्ने ठेक्का पाएका थिए । काम भइरहेको अवस्थामा पनि निर्माण कम्पनीको काम सन्तोषजनक नभएको स्थानीयको गुनासो थियो।
२०७३ सालबाट सुरू भई २०७६ साउनभित्र सकिने गरी सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गर्न तोकिएको समय आउन करिब ८ महिना बाँकी रहँदा करिब ३५ प्रतिशत मात्र काम पूरा गरेका छन्। निर्माण कम्पनीले भुक्तानी भने ५५ देखि ६५ प्रतिशतसम्म लगेको देखिएको छ।
३८ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रमण कन्स्ट्रक्सनले ६ करोड ६० लाख पेश्की र १५ करोड ३० लाख ९१ हजार रुपैयाँ भुक्तानी गरी २१ करोड ९० लाख ९१ हजार रुपैयाँ रकम लगेको छ।
त्यस्तै, ६० करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको बज्रगुरु कान्छाराम कन्स्ट्रक्सनले २४ करोड ८२ लाख ७५ हजार रुपैयाँ भुक्तानी र १० करोड ५३ लाख रुपैयाँ पेश्की गरी ३५ करोड ३५ लाख ७५ हजार रुपैयाँ रकम लगेको छ।
त्यसैगरी, रमण जेजेई सिसिएलले ६८ करोड ६२ लाख रुपैयाँको ठेक्का सम्झौतामा ३३ करोड ९४ लाख ५ हजार रुपैयाँ भुक्तानी र ११ करोड पेश्की गरी ४४ करोड ९४ लाख ५ हजार रुपैयाँ रकम लगिसकेको छ।
निर्माण कम्पनीले रकम भुक्तानी बढी लगे पनि सडक निर्माणको काम गुणस्तरीय र छिटो नगरेको भन्दै स्थानीयले आन्दोलन गर्ने तयारी गरेका बेला सडक विभागको पत्रले निर्माण कम्पनीलाई भने राहत मिलेको छ। केन्द्रले प्रदेशलाई हस्तान्तरण गर्न भनेको र प्रदेशले बजेट नछुट्टयाएको कारण यो सडकको काम यस वर्ष अगाडि नबढ्ने निश्चित भइसकेको छ।
प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले विगतमा केन्द्रले सानासाना सडकहरू पनि आफैंले लिएको र यसपटक सशर्त अनुदानमार्फत् ४९ करोड रकममा ६ सय ८० सडकको नाम राखेर पठाइदिएका कारण सबै योजना अगाडि बढाउन नसकिने बताए।
‘केन्द्र सरकारले प्रदेशका १२ जिल्लाका ६ सय ८० सडकको नाम राखेर पठाएको छ तर सबैमा बजेट भने जिरो जिरो छ, उनले भने ‘डल्लोमा ४९ करोड बजेट छ यति बजेटमा सबै योजना बनाउँदा एउटालाई सात लाख मात्र बजेट पर्छ त्यो बजेटले के गर्ने?’
मन्त्री चौधरीले केन्द्रले पठाएका ६ सय ८० योजनामध्ये प्रदेशले प्राथमिकताको आधारमा १ सय ३ वटा योजना छनोट गरेको र त्यसमा बेलबास-बेथरी सडक छनोटमा नपरेको बताए।
हामीले प्रत्येक निर्वाचन क्षेत्रमा २ वटा सडक योजना छनोट गर्ने आधार लियौं, १ सय ३ वटा योजनामा बेलबास-बेथरी पर्न सकेन’, उनले भने ।
मन्त्री चौधरीले यसअघि केन्द्रबाट ठेक्का सम्झौता गरिएका योजनाको नाम यसपटक प्रदेशलाई पठाउने तर बजेट नपठाउने गरेका कारण अरु योजनाहरू पनि अलपत्र रहने अवस्था रहेको बताए।
‘यस्ता खालका सडकहरू जुन अर्बौंका छन् त्यस्ताको सन्दर्भमा केन्द्रले या त छुट्टै बजेट राखेर पठाउनुपर्यो होइन यो प्रदेशको मातहत पर्छन् भनेर योजना पठाउने तर बजेट नपठाउने हो भने प्रदेशले यसपटक गर्न सक्दैन अर्को वर्ष प्राथमिकता निर्धारण गर्छ र बजेट छुट्याएर काम सुरू गर्छ,’ उनले स्पष्ट पारे।
पूर्वपश्चिम राजमार्गको बुटवल र भैरहवा लुम्बिनीको बेथरी चोक जोड्ने उक्त सडक निर्माणपश्चात लुम्बिनीलाई बुटवलसँग जोड्नेमात्र होइन कृषिको पकेट क्षेत्र मानिएका सियारी, मायादेवी, शुद्धोधन गाउँपालिकासँगै बुटवल उपमहानगरको ३ वटा वडाका किसानहरूलाई आफ्नो उत्पादन बजारको पहुँचमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको थियो।
वर्षा सकिएपछि सडक निर्माण कार्य अगाडि बढ्ने आशामा रहेका स्थानीयवासी सडक निर्माण कार्य अलपत्र परेपछि निराश बनेका छन्। घर आँगनबीचमा नहरसहितको सडक निर्माण बन्ने भए पनि भौतिक संरचना भत्काएका स्थानीयलाई लामो समय धूलो र सडकको समस्या झेल्नुपर्ने छ।
२०७६ साउनभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ असारमा ठेक्का सम्झौता गरिएको यो सडकलाई नमूना सडकको रूपमा लिइएको छ। बीचमा नहर, छेउछाउ दुई लेन सडक र त्यसको छेउमा हरियालीसहित डिजाइन गरिएको छ।