आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रूपमा छठ पर्व मनाइएको छ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवधमा पर्व सम्पन्न हुने गर्दछ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निषेध गरिएको हुन्छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरू भएको हो ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन्।
काठमाडौं कमलपोखरीमा बनाइएको घाटमा पुगी राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी हुन्। राष्ट्रपतिले पूजा गरेसँगै घाटमा रहेका भक्तजनहरूले पूजा सुरू गरेका थिए।
भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गरेकी थिइन्। कमलपोखरीसहित गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा छठ पूजाको लागि घाटहरू बनाइएको छ। घाटहरूलाई ध्वजापताका र झल्लार बत्तीहरूले दुलहीझैं सजाइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना गरिन्छ। विशेषगरी, मिथिला क्षेत्रमा मनाइने यो पर्वमा चिताएको पूरा हुने विश्वासमा महिलाहरूले कठोर व्रत गर्ने गर्छन् ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ।
तस्बिरहरू :