लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले आगामी शुक्रबार र शनिबार गरी दुई दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ।
नेपालमा व्यवस्थापन शिक्षालाई पुनर्परिभाषित गर्दै शिक्षा क्षेत्रका विभिन्न विषय विज्ञहरूका बीचमा छलफल गर्ने उद्देश्यले यस क्षेत्रमा पहिलोपटक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायले सेमिनारमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, कोरियालगायतका देशलाई समेत निमन्त्रणा गरे पनि अहिलेसम्म भारत, बंगलादेश र भुटानका विभिन्न विषयका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने निश्चित भइसकेको जानकारी दिए।
‘समयको माग र बजारको आवश्यकता अनुसार व्यवस्थापकीय जनशक्ति तयार गर्न अहिलेको पाठ्यक्रम शिक्षण पद्धति तथा मूल्यांकन विधिलाई समेत समेटेर व्यवस्थापन प्रणालीको पुनर्परिभाषित गर्नुपर्ने भएकोले अन्तर्राष्ट्रियस्तरको सेमिनार आयोजना गरिएको हो’, उनले भने।
निवर्तमान क्याम्पस प्रमुख ईश्वर गौतमले व्यवस्थापन शिक्षा प्रणाली र कार्यान्वयनमा केही परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यसहित सेमिनार आयोजना गरिएको जानकारी दिए।
‘अहिलेसम्म व्यवस्थापन विषयमा उत्पादन भएका जनशक्ति बजारको मागसँग मिल्ने देखिएन, उनले भने ‘बजारले खोजेको जनशक्ति उत्पादन गर्न ज्ञानसँगै सीप पनि कसरी सिकाउन सकिन्छ र त्यसको लागि व्यवस्थापन शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने हो कि भन्नेतर्फ पनि छलफल गर्न जरुरी छ ।’
उनले प्रदेश पाँचमा लुम्बिनी वाणिज्य क्याम्पससँग प्रतिस्पर्धा गर्ने खालको शैक्षिक संस्था नभएको दाबी गरे।
‘प्रदेश पाँचमा जति पनि उच्च शिक्षा अध्यापन गराउने कलेजहरू छन् ती कलेजहरू हामीसँग प्रतिस्पर्धा गर्न सक्ने खालका देखेनौं, प्रतिस्पर्धा भएको भए हामीले आफूलाई अझै बढी उत्साहित गराउथ्यौं,’ उनले भने ‘यहाँ जुन खालको शिक्षा प्रणाली र विधि प्रयोग गरेका छौं त्यो अरुले प्रयोग गरेका छैनन् ।’
पहिलो पटक २०३८ सालबाट अध्यापन सुरू गरेको वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोगमा गुणस्तर प्रमाणीकरणको प्रकृयामा २०६८ सालमा पहिलो पटक र २०७५ सालमा दोस्रोपटक गुणस्तर सुनिश्चितता प्राप्त गरेको छ ।
त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट लिइने विभिन्न तह एमविएस, विबिएस र पाठ्यक्रम सुरू भएदेखि नै बिबिएम परीक्षामा बोर्ड प्रथम हुँदै यस वर्ष सर्वोत्कृष्ट क्याम्पसको रूपमा नेपाल सरकारबाट पुरस्कृत भएको क्याम्पसले जनाएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसले विभिन्न शैक्षिक कार्यक्रमहरु स्वायत्तताको रुपमा समेत संचालन गर्दै आएको छ ।
हाल विविएस, विविएम, एमविएस र एमविए (बैंकिङ एण्ड फाईनान्स) का कार्यक्रम संचालन भइरहेकोमा छिट्टै नै विविए (अनर्स) र विआईएम का कार्यक्रम सञ्चालन गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले जानकारी दिए ।
कूल ४ हजार ३ सय ३८ जना विद्यार्थी अध्ययनरत लुम्बिनी वाणिज्य क्याम्पसमा ४९ जना प्रध्यापक र २४ जना कर्मचारी कार्यरत रहेका छन् ।