जुम्लामा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको छ।
शनिबार राति जिल्लाको चन्दननाथ नगरपालिका अगाडि राखिएको क १ झ १ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।
राति १ बजेर १० मिनेटमा नगर परिसरमा राखिएको गाडीमा आगजनी भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले बताए। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
आगलागीबाट गाडीको अधिकांश भागमा क्षति पुगेको नगरपालिकाका चौकीदार विष्णुप्रसाद न्यौपानेले बताए। उनले आगजनी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
यसैगरी, जुम्लाकै गुठीचौर गाउँपालिकाको कार्यालयमा शनिबार राति नै तोडफोड भएको छ। तोडफोडबाट कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीमा क्षति पुगेको जुम्ला प्रहरीले जनाएको छ ।