कास्की प्रहरीले पोखरा ११ तुलसीमार्गबाट ठूलो मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
कास्की प्रहरीले बुधबार दुइटा कारसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।
सडक छेउमा पार्किङ गरी राखेको ग २ च ८३६३ र र ग २ च ४३२७ नम्बरको दुइटा कारबाट लागू औषध, नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
कार चालक रुपन्देही घर भई पोखरा ९ बस्ने उदय कुमार गुप्ता र तनहूँको ब्यास घर भई पोखरा ११ रानीपौवा बस्दै आएकी ३३ बर्षकी गीता भन्ने मनु गुरुङलाई पक्राउ गरिएको हो।
कारबाट २ सय ९५ थान नुर्फिन, २ सय ९५ थान डाइजापाम र २ सय ९५ थान फेनरागन बरामद गरिएको छ । यस्तै २४ बोतल फेनसिडल पनि बरामद भएको छ।
कारको अगाडि सेफमा रहेको २ लाख ४२ हजार र भारतीय रुपैयाँ ७ हजार ७ सय ३० प्रहरीले बरामद गरेको छ। यस्तै, उदय कुमार गुप्ताको साथबाट सुनजस्तो पहेँलो रङको ४ तोला ८४ लालको सिक्री पनि नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। उनै गुप्ताको अर्को गाडी ग १ च ४३२७ नम्बरको कारबाट पनि डिक्कीमा ९६ थान नुर्फिन, १ सय ९ थान डाइजापाम र ८६ थान फेनरागन बरामद गरिएको छ।
कास्की प्रहरी प्रमुख ओमरानाले गुप्ता पहिले पनि लागु औषध मुद्दामा दुई वर्ष जेल परिसकेको बताए। गुप्ता २०७० सालमा पनि लागूऔषध मुद्दामा पक्राउ परी जेल परेका थिए ।