सिन्धुपाल्चोकको मांखास्थित जुरेमा गएको पहिरोले घरबार गुमाएकाले भूकम्पपीडित सरह राहत पाउने भएका छन्।
पहिरोले घर बगाएको चार वर्षपछि सरकारले पीडितलाई नयाँ घर बनाउन तीन लाखका रूपैयाँ दिन लागेको छ।
‘जुरे पहिरोपीडितलाई भूकम्पपीडितसरह राहत दिने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने।
पहिरोपीडितलाई वितरण गर्न नेपाल बैंक लिमिटेड चौतारा शाखामा राहत रकम जम्मा भए पनि वितरण हुन सकेको थिएन।
कात्तिक २९ को मन्त्रिपरिषद् बैठकले उक्त राहत रकम फूकुवा गरेसँगै पीडितलाई रकम वितरण गर्ने बाटो खुला भएको हो।
‘नेपाल बैंक लिमिटेड चौतारा शाखामा राहत रकम संकलन भएको छ। जुन अहिलेसम्म वितरण हुन सकेको थिएन,’ मन्त्री बास्कोटाले भने, ‘पहिले पनि उहाँहरूले राहत त पाउनुभएको थियो। तर उहाँहरूकै नाममा बैंकमा जम्मा भएको रकम रोक्का थियो। सरकारले फूकुवा गरिदियो।’
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले पहिरोपीडितका नाममा बैंकमा दुई करोड ४१ लाख रकम रहेको जानकारी दिए। यो रकम विभिन्न व्यक्तिहरूले सहयोगस्वरूप जम्मा गरेका हुन्।
‘बैंकमा रोक्का रकम सरकारले फूकुवा गरिदिएको छ। अब कसरी वितरण गर्ने भन्नेबारे छलफल गर्न मंगलबार विपद् व्यवस्थापन समितिको बैठक बोलाएका छौं,’ प्रजिअ अधिकारीले सेतोपाटीसँग भने, ‘भूकम्पपीडितको राहत बुझेकालाई पहिरोपीडितको राहत नदिनू भन्ने सरकारको निर्देशन छ। अधिकांश पहिरोपीडितले भूकम्पपीडित बनेर राहत लिएका छन्। यस्तो अवस्थामा के गर्ने बैठकमा छलफल गर्छौं र सरकारलाई अनुरोध गर्छौं।’
राहत उपलब्ध गराउनुपूर्व जिल्ला विपद व्यवस्थापन समितिले गाउँ विपद व्यवस्थापन समितिसँग समन्वय गरी लाभग्राहीको संख्या टुंगो लगाउनु पर्नेछ।
‘अधिकांश पहिरोपीडितले भूकम्पपीडित बनेर ३ लाखका दरले राहत लिइसकेका छन्। सरकारले दोहोरो सुविधा नपर्ने गरी राहत दिनु भनेको छ,’ प्रजिअ अधिकारीले भने, ‘व्यक्ति/व्यक्तिले सहयोग गरेर बैंकमा संकलित रकम पनि बाँड्नु पर्ने छ। बैठक बसेर सबै विषय टुंगो लगाउँछौं, पहिरोपीडितले छिटो राहत रकम पाउँछन्।
२०७१ साउन १७ गते गएको पहिरोले मांखा र राम्चेका बासिन्दा प्रभावित भएका थिए।
पहिरोमा परी एक सय ४५ जनाको मृत्यु भएको थियो।
एक सय २० घरमा पूर्ण र ४७ घरमा आंशिक क्षति पुर्याएको थियो।
सरकारले यसअघि नै मृतकका परिवारलाई किरिया खर्चवापत् ४० हजार र १ लाख रूपैयाँ राहत दिएको थियो।